असार २०, २०८२ शुक्रबार July 4, 2025

मकैको बिउमा आत्मनिर्भर, किसान भने आयातित नै रोज्छन्

राष्ट्रिय बिउबिजन केन्द्रले असारसम्ममा छिटो पाक्ने जातको बिउ बिउबिजन गुणस्तर तथा नियन्त्रण केन्द्रमा सिफारिस गर्ने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, वैशाख २६ गते । तराई, भित्री मधेश र मध्य पहाडी क्षेत्रका किसानले भारत र चीनबाट आयातित वर्णशङ्कर जातको मकैमा रुचि राख्दा सरकारले विकास र सिफारिस गरेका मकैका बिउ भने ओझेलमा परेका छन् । राष्ट्रिय बिउबिजन केन्द्र रामपुरबाट नेपालकै रैथाने र हावापानी सुहाउँदा ४१ जातलाई उपयुक्त रहेको सिफारिस गरेको छ । तीमध्ये १० वटा वर्णशङ्कर र ३१ वटा उन्नत जात छन् ।

सिफारिस गरिएका जातका मकै कम्तीमा ९० दिनदेखि अधिकतम १८० दिनसम्ममा पाक्ने र तराई, पहाड र हिमाली क्षेत्रमा फल्ने फरक फरक जातका छन् । बिउबिजन तथा गुण नियन्त्रण केन्द्रले ११४ जातका मकै नेपालमा उपयुक्त भएको सिफारिस गरेको छ । तीमध्ये २०३३ सालमा सफल प्रयोग भएको रामपुर कम्पोजिटसँग अत्याधिक ताप सहन गर्न सक्ने क्षमता छ ।

अहिले नेपालमा बिउ अभाव भएको भनिएका ठाउँमा सो मकै उपयुक्त हुने राष्ट्रिय बिउबिजन केन्द्रका संयोजक तीर्थराज रिजालले जानकारी दिनुभयो । लामो समयको अध्ययन अनुसन्धानबाट सिफारिस भएको र समुद्री सतहदेखि पाँच हजार मिटरसम्ममा खेती हुने खालका मकैका बिउ सिफारिस गरिएको बताउनुभयो । सरकारी र गैरसरकारी क्षेत्रबाट कृषकसम्म समयमै प्रचार हुन नसक्दा नेपाली बिउ ओझेलमा परेको पनि उहाँले स्पष्ट पार्नुभयो । राष्ट्रिय बिउबिजन केन्द्रले मकैको बुवाआमा तयार पारेर कम्पनीलाई उपलब्ध गराउने र सोही आधारमा कम्पनीले उत्पादन गर्ने गरेको उहाँले बताउनुभयो तर सममयै उत्पादन हुन नसक्नु र नेपाली कम्पनीले ठुलो मात्रामा उत्पादन गर्न नसक्दा किसान आयातित वर्णशङ्करतर्फ आकर्षित भएको हुन सक्ने उहाँले बताउनुभयो ।

सरकारीस्तरबाट नै नेपाली बिउलाई प्रोत्साहन गर्न र कम्पनीसँग समन्वय गर्न आवश्यक हुने उहाँले बताउनुभयो । तराईमा हुने रामपुर कम्पोजिट, मध्यपहाडमा देउती उच्च पहाडमा हुने गणेशलगायतका सबै बिउको राम्रोसँग प्रचार हुन नसकेको उहाँले उल्लेख गर्नुभयो ।

नेपालमै सिफारिस भएको मकै तोकिएकै क्षेत्रमा मात्रै रोपिन्छ र शतप्रतिशत सफल पनि भएको छ तर आयातित वर्णशङ्करको मकैको बिउमा हुने गडबडीले घोगा नलाग्ने र घोगामा दान नलाग्ने समस्या देखिने गरेको छ । किसानले पटक पटक आन्दोलन गर्ने परेको किसान अगुवा ज्ञानेन्द्र दाहालले बताउनुभयो । उहाँले अघिल्लो वर्ष ४० रोपनी बारीमा रोपेको सफल भएपछि यो वर्ष रामपुर कम्पोजिटलाई दुई सय रोपनीमा विस्तार गरिएको बताउनुभयो तर धेरै किसान वर्णशङ्करमै आकर्षित भएकाले स्थानीय जातको प्रोत्साहन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

धेरै आयातित वर्णशङ्कर सात सय मिटरभन्दा कम उचाइमा फल्ने सिफारिस भए पनि एक हजार पाँच सय मिटरसम्म पनि रोपिँदै आएको छ तर त्यसबारे सरकारी र निजी क्षेत्रबाट कुनै अनुसन्धान नै सुरु गरिएको छैन । कृषक आफैँले त्यस्ता मकैको बिउको माग गर्ने गरेका छन् । किसानले पछिल्लो समय आकर्षक प्याकेजिङ र सर्वसुलभ भएसँगै अन्तर्राष्ट्रिय कम्पनीका वर्णशङ्करमा बिउमा ध्यान दिने गरेका हुन् ।

कृषि प्रसार अधिकृत कृष्ण धितालले सिफारिस भएका स्थानीय जातको मकैको राम्रोसँग प्रसार हुन नसक्दा विदेशी बिउले जरा गाडेको उल्लेख गर्नुभयो । तराई, भित्री, मधेश, पहाडी र उच्च पहाडी जिल्लामा लाग्ने मकैको बिउ भए पनि त्यसबारे किसानसम्म प्रसार हुन नसक्दा नेपाली बिउले बजार लिन नसकेको उहाँले स्पष्ट पार्नुभयो । वरिष्ठ कृषि प्रसार अधिकृत कुलप्रसाद दवाडीले नेपाल मकैको बिउमा आत्मनिर्भर रहे पनि किसानसम्म नेपाली बिउको प्रचार हुन नसक्दा आयातित वर्णशङ्कर बिउमा किसानको आकर्षण बढेको जानकारी दिनुभयो ।

नेपालमा उत्पादित बिउको राम्रो प्याकेजिङ छैन, जसको कारणले किसानले चम्किला आकर्षक बिउका प्याकेटमा बिउ मात्रै किन्ने गर्दा नेपाली बिउ ओझेलमा परेको उहाँले उल्लेख गर्नुभयो । किसानस्तरमा बिउको महìव बुझाएर स्थानीय रोग प्रतिरोधात्मक क्षमता भएका बिउ प्रोत्साहन गर्ने कार्यक्रम सरकारले ल्याउनु आवश्यक रहेको सुझाव दिनुभयो । केही नेपाली कम्पनी युनिक सिड, लुम्बिनी सिड र गोरखा सिड कम्पनीले स्थानीय जातका बिउ उत्पादन गरे पनि पर्याप्त नहुँदा किसानसम्म पुग्न सकेका छैनन् ।

एकातिर नेपाली कम्पनीको उत्पादन कम हुँदा समस्या परेको छ भने विदेशी कम्पनीले बलियो मार्केटिङ पोलिसी बनाएर बजार नै कब्जा जस्तै गरेका छन् । वितरकलाई बिउ बेच्ने लक्ष्य दिएर हरेक वर्ष बिउ कम्पनीले वितरकलाई विदेश भ्रमणसमेत गराउने गरेका छन्, जसका कारणले वितरण स्थानीय बिउलाई प्राथमिकतामा राख्दैनन् । स्थानीय बिउमा नाफासमेत कम हुने भन्दै व्यापारीले त्यसलाई प्राथमिकता दिने गरेका छैनन् ।

छिटो पाक्ने नयाँ जात सिफारिसको तयारी 

राष्ट्रिय बिउबिजन केन्द्रले असारसम्ममा छिटो पाक्ने जातको बिउ बिउबिजन गुणस्तर तथा नियन्त्रण केन्द्रमा सिफारिस गर्ने तयारी थालेको छ । केन्द्रले अनुमोदन गरेर राष्ट्रिय बिउ नियन्त्रण केन्द्रमा पठाएपछि त्यहाँ अनुमोदन भएपछि व्यावसायिक उत्पादनका लागि आउने संयोजक रिजालले उल्लेख गर्नुभयो । यस कार्यक्रममार्फत नेपालमा अहिलेसम्म उन्नत जातका लागि ३१ वटा मकैका बिउका जात सिफारिस गरिएको छ, जुन नेपाली जनताले रुचाएका छन् । उच्च पहाडका लागि गणेश १ र २, मध्यपहाडका लागि मनकामना १, ३, ५, ७ र ९ जात सिफारिस गरिएको छ ।

यस्तै तराईका लागि रामपुर जातका मकै सिफारिस गरिएको छ । अब सिफारिस गर्न लागिएका मकै तराई र मध्यपहाडी क्षेत्रका लागि उपयुक्त हुने उहाँले दाबी गर्नुभयो । किसानलाई चाँडो पाक्ने खालका मकै पनि सिफारिस गरिएको छ । जसमा अरुण १, २, ३, ४, ५, ६ जातका रहेका छन् । यी मकै लगाएको ८० देखि ९० दिनमा तयारी हुने गर्छन् । अन्य मकै १२० देखि १५० दिनसम्म लाग्ने गर्दछन् ।

कार्यालयले हाइब्रिड मकैतर्फ अहिलेसम्म १० जात सिफारिस गरेको छ । अहिले तीन जात सिफारिसको चरणमा रहेको र त्यसपछि हाइब्रिडको सङ्ख्या १३ पुग्ने छ । सिफारिस गर्न लागिएका जात सिएएच १५११, सिएएच ११८७, सिएएच १९ छन् । यी मकैमा तापक्रम सहन सक्ने क्षमता भएकाले भित्री मधेश र तराईका जिल्लाका लागि सिफारिसको काम भइरहेको रिजालले बताउनुभयो । २०७७ सालदेखि हामीले कुनै जातको मकै सिफारिस भएको छैन । किसानले नरुचाएका आठ वटा जातलाई सूचीबाट हटाइसकिएको छ भने पाँच वटा जातलाई सूचीबाट हटाउन सिफारिसको तयारी थालिएको छ । चलनचल्तीमा नआएका, रोग र किराले समस्या बनाएका यस्ता जातलाई सूचीबाट हटाउन सिफारिस गरिने गरिन्छ ।गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको घोषणा
२०८२ असार २०, शुक्रबार
रुसद्वारा तालिबान शासनलाई औपचारिक मान्यता, २०२१ पछि पहिलो अन्तर्राष्ट्रिय समर्थन
२०८२ असार २०, शुक्रबार
सरकारी कर्मचारीमा समर्पणको कमी, सुशासनमा सुधार आवश्यक : मन्त्री पाण्डे
२०८२ असार २०, शुक्रबार
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार