असार २०, २०८२ शुक्रबार July 4, 2025

सचेत गराउँदै फर्किए भूगर्भविद् : कहाँ छ गाडी ?

गाडी भासिएको स्थानको खाडल झन् ठूलो हुँदै गएकाले जोखिम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः मकवानपुर हेटौंडा–१६ मा गत १९ वैशाख शुक्रबारका दिन ना४च ४८३३ नम्बरको बोलेरो गाडी जमिनमुनि नै हरायो ।

‘गाडी सहजै भेटिएला !’ भन्ने थियो तर भेटिएन । दिन बित्दैजाँदा गाडी नै त्यहाँ नभएको हुनसक्ने आशंकादेखि अनेक अन्दाज बाहिरिए । एक साता बित्दा बल्ल गाडी ‘त्यही“ रहेको’ भन्नेबारे खानी तथा भूगर्भ विभाग टोलीले प्रस्ट पा¥यो । सो टोलीले लगातार दुई दिन लगाएर गरेको अनुसन्धानपछि दोस्रो दिन बुधबार गाडी ६ मिटर तल रहेको जानकारी दिएर फर्केको छ ।

घटना अध्ययनका लागि आएको खानी तथा भूगर्भ विभाग टोलीले मंगलबार र बुधबार प्रारम्भिक अनुसन्धान गरेको थियो । तर, सो स्थानमा बस्न ‘आफूहरू नै असुरक्षित भएको’ बुझेर भूगर्भविद् टोली अनुसन्धान नै स्थगित गरी काठमाडौं फर्किएको छ । गाडी भासिएको स्थानको खाडल झन् ठूलो हुँदै गएकाले जोखिम बढेको छ । ‘यहाँ रहेर अनुसन्धान गरिरहनसमेत उच्च जोखिम रहेको’ भन्दै टोली अनुसन्धान नै स्थगित गरेर फर्किएको हो । त्यस स्थान आसपास बस्दै आएका स्थानीयलाई समेत ‘सचेत हुन’ टोलीले सुझाएको छ ।

भूगर्भविद् नारायण अधिकारी नेतृत्वको टोलीले घटनास्थलको माटोको बनावट, भूगर्भीय अवस्था, भूमिगत जल तथा चुम्बकीय क्षेत्र परीक्षण गरेको छ । प्रारम्भिक कार्य सम्पन्न गरी बुधबार काठमाडौं फर्किएको टोलीले संकलन गरेका तथ्य र नमुना प्रयोशालामा परीक्षणपछि मात्र दोस्रो चरणको अध्ययन हुने जनाएको छ । यसअघि, भूगर्भविद् टोलीले मंगलबार साँझ भासिएको गाडीको स्थान पत्ता लगाएको थियो । मंगलबार बिहानबाट काम थालेको टोलीले साँझ मात्रै सम्भावित ‘लोकेसन’ पत्ता लगायो ।

खानी तथा भूगर्भ विभागका भूगर्भविद् नारायण अधिकारी र कृष्ण पाण्डेसहित चार जनाको टोलीले अध्ययनका लागि प्रयोग गरेका विभिन्न तरिकामध्ये गाडी भासिएका दुई स्थानमा ‘ड्रिलिङ रड’ ६ मिटर तल नगएपछि सो स्थानमा गाडी भएको हुनसक्ने अनुमान गरेको छ ।

टोली सदस्य भूगर्भविद् अधिकारीले ‘म्याग्नेटो मिटर’को सहयोगबाट गाडी रहेको सम्भावित स्थान’बारे पत्ता लगाएपछि गरिएको ‘ड्रिलिङ’बाट त्यस स्थानमा भासिएको गाडी हुनसक्ने अनुमान गरिएको जानकारी दिए । उनले सम्भावित स्थानमा गरिएका तीन ‘ड्रिलिङ’मध्ये एउटामा ‘ड्रिलिङ रड’ ८ मिटर गहिराइसम्म सजिलै गएको र त्यसपछि गरिएका दुई ‘ड्रिलिङ’का क्रममा रड ६ मिटरमा रोकिएको बताए । यसैलाई आधार मान्दा सो दुई स्थानमा ‘ड्रिल रड’ ६ मिटरभन्दा तल नगएका कारण त्यहाँे गाडी हुनसक्ने अनुमान गरिएको उनको भनाइ छ । ‘हामीले सबैभन्दा पहिले त प्रोटोन म्याग्नेटोमिटर प्रयोग गरी गाडीको सम्भावित लोकेसन पत्ता लगाउने कोसिस ग¥यौं, गाडी जमिनमुनि भासिएर हराएको ठाउँ’मा प्रोटोन म्याग्नेटोमिटर प्रयोग गर्दा एक ठाउँमा चुम्बकीय वस्तु रहेको संकेत अन्य स्थानका तुलनामा निकै बढी देखियो,’ भूगर्भविद् अधिकारी भन्छन्, ‘त्यसैका आधारमा हामीले सो स्थानमा ड्रिल गर्दा तीनमध्ये दुई स्थानमा ड्रिल रड ६ मिटरमै रोकिएपछि गाडी भएको लोकेसनमा पुग्यौं भन्ने अनुमान गरेका हौं ।’ यद्यपि, यसैलाई आधार मानेर ‘गाडी सोही स्थानमा छ’ भन्न भने नसकिने उनले स्पष्ट पारे । टोलीले गाडीसँगै यहाँको भौगोलिक अवस्था पनि अध्ययन गरेको छ ।

अर्का भूगर्भविद् कृष्ण पाण्डेले प्रोटोन म्याग्नेटोमिटरको साहायताले गाडी भासिएको स्थानको केही पूर्वतर्फ ठुलै चुम्बकीय क्षेत्र तथा पदार्थ (एनोमेलिक)को अवस्था संकेत प्राप्त भएको र सोही संकेतका आधारमा आफूहरूले ड्रिलिङ गरेको र खोजीको अन्तिम चरणमा पुगेको जानकारी दिए । उनका अनुसार घटनास्थलसँगै आसपासको भूबनोट, भूमिगत जलस्रोतलगायत अध्ययन गनुपर्नेछ । अहिले जमिन भासिएर खाल्डो भएको स्थान’मा समेत बसोबासका लागि जोखिम रहेको उनले उल्लेख गरे । ‘दलदले जमिन रहेका कारण जुनसुकै बेला जमिन भासिन सक्छ,’ पाण्डे भन्छन्, ‘यस स्थानमा बसोबासका लागि जोखिम छ ।’

के थियो घटना ?

१९ वैशाख माछा बोक्ने ना४च ४८३३ नम्बरको हेटौंडा उपमहानगरपालिका–१६ र १७ सीमानजिकैको गैरीगाउँको भित्री कच्ची सडकमा घाँस काट्ने मेसिन लोड गरिएको गाडी रोकिराखेको थियो । रोकिराखिएको सिंगल क्याप बोलेरो गाडी (भ्यान) अगाडिको पांग्रा भासिन सुरु भएको थियो । निकाल्ने क्रममा एक्कासि सडक नै भासिएर गाडी जमिनमुनि गायब भयो । गाडीचालक हरेराम राई र सहचालक भने सडक भासिनुअघि नै निस्किएर जोगिएका थिए ।

भासिएको करिब ५ सेकेन्डमै गाडी बेपत्ता भएको गाडीधनी हरेराम राई बताउ“छन् । गाडी भासिएको वरिपरि माछापालन गरिएको पाँच पोखरी र बोरिङसमेत छ । राईले नै ती दुवै व्यवसाय गर्दै आएका छन् । धेरैले बोरिङका कारण जमिन भासिएको हुनसक्ने अनुमान गरेका छन् । जमिन भासिएर सिंगो गाडी नै बेपत्ता भएपछि मकवानपुर प्रहरीले गाडी खोजीका लागि गत शनिबार २० वैशाखमा दिनभर दुईवटा मोटरले पानी बाहिर फाल्यो तर गाडी फेला परेन ।

जिल्लाको विपद् व्यवस्थापन समिति बैठकले विज्ञ टोली ल्याउने निर्णय ग¥यो । र, प्रहरीले खोजी कार्य स्थगित ग¥यो । विज्ञ टोली आएपछि २३ वैशाख मंगलबारबाट पुनः खोजी तथा अनुसन्धान सुरु गरियो । गाडी बेपत्ता भएको घटना सार्वजनिक भएपछि सो स्थानमा दिनभरजसो मानिसको भीड लाग्ने गरेको छ । गाडी भासिएको घटनापछि निरीक्षण र घटनाको वास्तविकता बुझ्न प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेसहितको टोली, हेटौंडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामा, उमप्रमुख राजेश बानियाँ, कांग्रेस मकवानपुर सभापति बुद्ध लामा, सुरक्षा निकाय प्रमुखलगायत घटनास्थल पुगेर वस्तुस्थिति बुझ्ने प्रयास गरे ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठको उपस्थितिमा उपमहानर प्रमुख लामा, सुरक्षा निकाय प्रमुख एवं प्रतिनिधिसम्मिलित बैठकले खानी तथा भूगर्भ विभागलाई अध्ययन र अनुसन्धानका लागि ‘टोली पठाइदिन’ पत्राचार गरेपछि भूगर्भ विभाग टोलीले स्थलगत अनुसन्धान थालेको हो ।

अनेक अड्कलबाजी

गाडी भासिएको स्थान हेर्न पुगेका स्थानीयले घटना’बारे थुप्रै अड्कल लगाएका छन् । विगतमा यस क्षेत्रमा भास (दलदल) रहेकाले गाडी बेपत्ता भएको हुनसक्ने केही स्थानीयको दाबी छ । वडा नं. १६ का अध्यक्ष रामकृष्ण कोइराला गाडी भासिएर बेपत्ता भएको घटनाले आफू आश्चर्यमा परेको बताए । उनले फाँटमा जोत्दै गरेका हलगोरु नै भासिएर बेपत्ता भएको आफूले पनि सुनेको उल्लेख गरे । कोइरालाले करिब १० वर्षअघि गाडी भासिएको स्थानबाट पाँचदेखि ७ सय मिटर दूरीमा जोत्दैगर्दा एक हल गोरु भासिएर मरेको घटना आफैंले देखेको स्मरण गरे । ‘तर, भासिएर कुनै पनि चिज बेपत्ता भएको पहिलोपटक देखेको हु“,’ उनी भन्छन्, ‘भासिएर बेपत्ता नै भएको पहिलोपटक सुनें, आश्चर्य लाग्यो, पहिलेपहिले जोत्दै गरेका हलगोरु नै बेपत्ता हुने गरेको सुनेको थिएँ, त्यो पत्यार लाग्दैनथ्यो, म आफैंले पनि यहाँभन्दा ५–७ सय मिटर पर १० वर्षअघि जोत्दै गरेका हलगोरुमध्ये एउटा गोरु दलदलमा भासिएर मरेको देखेको छु ।’

स्थानीयका अनुसार २०७२ सालको भूकम्प आउँदासमेत सो स्थानमा चुन निस्किएको र पानीको फोका उठेको थियो । डिप बोरिङका कारण दलदल भएको समेत उनीहरू बताउँछन् । तर, सो स्थानमा पोखरी बनाउनका लागि यहाँ करिब ८ वर्षअघि बोरिङ गरिएकामा पाइपबाट पानी भनेजस्तो आएको थिएन । त्यसवरिपरिबाट लेदोसहितको पानी भने बगिरहन्थ्यो । अहिले जमिन भासिएको सोही बोरिङ खनिएको स्थलमै हो । हेटौंडा १६, १७ र १८ स्थित फाँटमा सानाठूला दर्जनौं डिप बोरिङ खनिएका छन् भने करिब ५ सय मिटरको दायरामा मात्र झन्डै आधा दर्जन ठाउँमा पाइप गाडेर भूमिगत पानी निकालिएको छ । ‘यसभन्दा अलि माथिको स्थानचाहिँ अझै बढी धराप क्षेत्र हो तर यो त त्यस्तो ठाउँ नै होइन,’ स्थानीय निरञ्जन ढकालले भने, ‘सडक दुवै साइडमा माछा पोखरी रहेछ, सडकको भित्तामा बोरिङ पनि खनेको छ, बोरिङ खनेको स्थानमा जमिन कमजोर भएर भासिएर गाडी दबिएको हुनसक्ने शंका छ ।’

भूगर्भविद् टोलीले अनुसन्धान गरेर प्रारम्भिक प्रतिवेदनपछि मात्रै दलदलको वास्तविकता पत्ता लाग्ने उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ बाताउँछन् ।

पूर्वमन्त्री श्रेष्ठको चासो

बाग्मती प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री एकालाल श्रेष्ठले बुधबार घटनास्थलमै पुगेर खानी तथा भूगर्भ विभाग टोलीको प्रारम्भिक अनुसन्धानको जानकारी लिएका छन् । त्यस क्षेत्रको जोखिमको अवस्थासमेत समेटेर विस्तृत जानकारीसहितको रिपोर्ट तयार पार्न विभाग टोलीलाई उनले आग्रह गरे ।

पछिल्लो समय विकसित सहरका रूपमा अघि बढिरहेको यस क्षेत्रमा भुगर्भीय हिसाबले ‘जोखिमको अवस्था कस्तो छ ?’ भनी विस्तृत अध्ययनका लागिसमेत श्रेष्ठले विभागको ध्यानाकर्षण गराए । प्रारम्भिक अनुसन्धान’बारे प्रदेशसभा सदस्य श्रेष्ठलाई जानकारी गराउ“दै भुगर्भविद् कृष्ण पाण्डेले त्यस क्षेत्र’का जमिन ‘तरलीकृत’ रहेको अवगत गराएका थिए । जमिनको माथिल्लो तह केही मिटर चिम्ट्याइलो रहेको र तल्लो तहको माटोमा बालुवा–पानी मिश्रित रहेको पाइएको टोलीले जनाएको छ । पूर्वमन्त्री श्रेष्ठसँग टोलीले ६ मिटर गहिराईसम्मको माटोको नमुना संकलन गरेको र त्यसको रिपोर्ट चाँडै प्राप्त हुने जानकारी दिएको छ । संकलित माटो विभागको ल्याबमा परीक्षणपश्चात् ‘भुगर्भीय रिपोर्ट’ तयार पारिनेछ । ‘हामीले दुई विधिबाट यस क्षेत्रको अध्ययन गरेका छौं, एउटा चुम्बकीय विधि र अर्को जमिनमुनि रड हालेर हेरिरहेका छौं,’ भूगर्भविद् कृष्ण पाण्डेले भने, ‘चुम्बकीय विधिबाट हेर्दा जमिनमुनि करिब ३ दशमलव ४ मिटर तल केही फलामजन्य धातु रहेको अनुमान छ तर सो वस्तु हराएको भनिएको गाडी नै हो वा अरू कुनै उपकरण हो भन्ने एकिन हुन सकेको छैन ।’

यसो भन्छन् सवारीधनी हरेराम

गत शुक्रबार साँझतिरको समय भित्री कच्ची सडकमा हिलोमा फसेको गाडी निकाल्न निकै प्रयास गरें । हिलोमा फसेको गाडी निकाल्ने प्रयास गर्दा झन्डै १ घण्टा लाग्यो । केही गर्दा पनि गाडी निस्कने देखिन“ । त्यसपछि ट्याक्टर ल्याएर गाडी तान्ने प्रयास गरें । स्थानीय एक व्यक्तिलाई ट्याक्टर बोलाउनका लागि फोन गर्दै थिएँ । म र रौतहट स्थायी ठेगाना भएका सहचालक मुक्तिलाल सहनीले गाडी निकाल्ने प्रयास गरिरह्यौं, तर गाडीअगाडीको भाग बिस्तारै दबिएजस्तो लाग्यो । सहचालक मुक्तिलालले मलाई तुरुन्तै निस्कन भने । हामी दुवैजनाले दुईतिरको ढोका खोलेर निस्किन भ्यायौं । तर, हामी निस्किएर हेर्न पनि नभ्याउँदै गाडी जमिनमा बिलायो । गाडी अगाडिको भाग दबिएको चाल पाएपछि हामी तुरुन्तै हामफालेर भाग्न भ्यायौं ।

‘खटटटट…’ गरेको आवाज निस्कियो, त्यसपछि मुक्तिलालले मलाई ‘हामफाल्नु’ चनेर चिच्याउँदै उनी पनि हामफाले । मैले पनि तत्कालै ढोका खेलेर हेरें, गाडीको पांग्रा झन्डैझन्डै दबिसकेको थियो र तीव्र गतिमै दबि“दै गएको देखें । मैले पनि केही सोच्नै सकिन“ र तुरुन्तै हामफालें । हामफालेर तल आएपछि गाडी हेर्नसमेत भ्याइएन, पुरै दबियो गाडी । हामी झरेको दुई सेकेन्डजतिमा गाडीको अगाडिको भाग बिलायो । धन्न † सहचालक मुक्तिले कराएकाले हामी दुवैजना भाग्न भ्यायौं । त्यसको ३ सेकेन्ड पनि नहुँदै पुरै गाडी जमिनमा बिलायो । नत्र त, हामी पनि गाडीसँगै भासिनेरहेछौं । हामी हरेक दिन सोही बाटोमा माछाका दाना बोक्न, माछा लिनका लागि आउजाउ गर्ने गथ्र्यौं, तर न कहिल्यै गाडी हिलोमा फसेको थियो, न त त्यस स्थानबाट गाडी दबिएको घटना नै भएको थियो । १ वर्षदेखि सोही स्थानमा नौवटा माछा पोखरी सञ्चालन गर्दै आएको छु । यस्तो घटना भने जीवनमै पहिलोपटक भोगें ।

गाडी त्यसरी जमिनमै दबिएको त मैलै पहिलोपटक देखेको हुँ । गाडी निकैबेर हिलोमा फस्यो । गाडी निस्किएलाजस्तो भएपछि अगाडि बढाएँ । त्यतिबेला नै भूकम्प गएजस्तै गरी जमिन हल्लिएको महसुस भयो । यत्तिकैमा जमिनबाट केही ब्लास्ट भएजस्तो आवाज आयो । त्यसपछि गाडी जमिनमा दबिन सुरु भयो । जमिन भासिएपछि गाडी एकैछिनमा हरायो । धमिलो पानी ‘घटटटट…’ गरेर भूमरी बन्यो । यत्तिकैमा ’roundको माटो झ-यो अनि गाडीको थोरै भाग पनि भेटिएन । त्यही समय सडकनजिकै रहेको माछा पोखरीका माछाहरू पनि असामान्य तरिकाले उफ्रिएको देखियो । राजधानी दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको घोषणा
२०८२ असार २०, शुक्रबार
रुसद्वारा तालिबान शासनलाई औपचारिक मान्यता, २०२१ पछि पहिलो अन्तर्राष्ट्रिय समर्थन
२०८२ असार २०, शुक्रबार
सरकारी कर्मचारीमा समर्पणको कमी, सुशासनमा सुधार आवश्यक : मन्त्री पाण्डे
२०८२ असार २०, शुक्रबार
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार