असार १, २०८२ आइतबार June 15, 2025

राष्ट्रियसभा अध्यक्ष दाहालद्वारा स्वास्थ्य केन्द्रको निरीक्षण

स्वास्थ्य केन्द्रलाई यसै आर्थिक वर्षको बजेट छुटाएर स्तरोन्नतिका लागि पहल गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भरतपुर, १० जेठ : राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले भरतपुर–१४ स्थित शिवनगर स्वास्थ्य केन्द्रको निरीक्षण गर्नुभएको छ । आज स्वास्थ्य केन्द्र पुग्नुभएका उहाँले निर्माणाधीन प्रयोगशाला भवनको पनि अवलोकन गर्नुभयो ।

स्वास्थ्य केन्द्र परिसरमा करिब रु एक करोड लागतमा प्रयोगशाला भवन निर्माण भइरहेको छ । स्वास्थ्य केन्द्र अवलोकनपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष दाहालले स्वास्थ्य केन्द्र २५ शय्याको नगरस्तरीय अस्पताल बनाउन पहल गर्ने बताउनुभयो । स्वास्थ्य केन्द्रलाई यसै आर्थिक वर्षको बजेट छुटाएर स्तरोन्नतिका लागि पहल गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यसैगरी, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले शिवनगर स्वास्थ्य केन्द्रलाई नगरस्तरीय अस्पताल निर्माण गर्न नगरसभाबाट नीतिगत रुपमा निर्णय भइसकेको जानकारी दिनुभयो । प्रमुख दाहालले महानगरपालिकाको निर्णयसहित मन्त्रालयमा यसअघि नै पत्राचार भए पनि कुनै सुनुवाइ नभएको उल्लेख गर्नुभयो ।

वडा नं १४ का अध्यक्ष एवम् स्वास्थ्य केन्द्रका अध्यक्ष राजेन्द्र साँखीले केन्द्रलाई स्तरोन्नतिको आवश्यकता रहेको उल्लेख गर्नुभयो । केन्द्रमा रहेको एम्बुलेन्स चल्ने अवस्थामा नरहेकाले नयाँ एम्बुलेन्सको आवश्यकता रहेको उहाँको भनाइ थियो । शिवनगर स्वास्थ्य केन्द्र पश्चिम चितवनवासीहरु उपचार गर्ने प्रमुख स्वास्थ्य संस्था हो । यहाँ प्रसूति गृह, भिडियो एक्स–रे र हप्ताको दुई दिन विशेषज्ञ सेवा पनि उपलब्ध छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया