असार २०, २०८२ शुक्रबार July 4, 2025

निजामती कानुनमा सधैँ चलखेल

कर्मचारी, शिक्षक तथा प्रहरी सङ्गठन जोडिएका कानुन तर्जुमामा संसद्लाई सधैँ नै सकस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, असार २० गते । कर्मचारी समायोजन विधेयकमा राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन पेस र प्रतिनिधि सभाबाट पारितको तयारी २०७५ फागुन ३ गते थियो । अध्यादेश प्रतिस्थापन विधेयक भएकाले करिब एक सातामा सङ्घीय संसद्का दुवै सदनबाट पारित र प्रमाणीकरण हुनुपर्ने समयसीमाको दबाबमा संसद् थियो । राज्य व्यवस्था तथा सुशासन समितिले फागुन ३ गते नै विधेयकको प्रतिवेदन पारित गरेर सभामा पेसको निर्णय गर्‍यो तर अन्तिम समयमा प्रतिवेदनमा त्रुटि फेला पर्‍यो । समितिले गरेको सहमतिभन्दा थप बेहोराको प्रतिवेदन तयार भएको जानकारी सभापति शशी श्रेष्ठले पाएपछि बैठकमा पेसको कार्यसूची नै हेरफेर भयो ।

कर्मचारी समायोजन अध्यादेशले संसद् सेवाका कर्मचारीलाई प्रदेशमा समायोजनको विकल्प दिएको थियो । प्रतिस्थापन विधेयक समितिमा छलफलका क्रममा स्थानीय तहमा पनि जान सक्ने व्यवस्थामा सहमति भयो तर अन्तिम प्रतिवेदनमा सहमतिविपरीत सङ्घमा समेत समायोजन हुने व्यवस्था घुसाइयो । सोही प्रतिवेदनमा सभापति श्रेष्ठले हस्ताक्षरसमेत गर्नुभएको थियो ।

हतारमा प्रतिवेदन तयार भएकाले सभापति श्रेष्ठले उक्त प्रतिवेदन गाडीमा नै अध्ययन गर्दै सिंहदरबारबाट बानेश्वर पुग्नुभयो । सहमतिविपरीत प्रतिवेदन लेखिएको आशङ्का सभापतिलाई भयो । त्यही बेला सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका तत्कालीन सचिव दिनेश थपलियाले सभापति श्रेष्ठलाई फोन गरेर प्रतिवेदनमा त्रुटि भएको जानकारी दिनुभयो । संसद्मा पेसको कार्यसूची रोकेर श्रेष्ठ सिंहदरबार फर्किनुभयो र समिति सचिव सुदर्शन खड्कासमेतलाई बोलाएर केरकार गर्नुभयो ।

खड्काले अन्य कोही कर्मचारीले शब्द थपिदिएको जवाफ दिनुभयो । सभापति श्रेष्ठले अनधिकृत रूपमा प्रतिवेदन तयार भएको भन्दै आपत्ति जनाएर प्रतिवेदन सुधार गरी सचिवको जिम्मेवारी खोस्नुभयो । प्रतिवेदन सोही दिन दोस्रो बैठक राखेर सभामा पेस गरी तेस्रो बैठकबाट विधेयकसमेत पारित भयो ।

तत्कालीन घटनाबारे श्रेष्ठले भन्नुभयो, “हामीले सहमति गरेकोमा सङ्घ भन्ने शब्द थपेर प्रतिवेदन अन्तिम रूप दिइएको म र सामान्यको सचिवले पत्तो पायौँ । मैले यो त अक्षम्य अपराध भयो भनेर सचिवको जिम्मेवारी खोसेँ । कारबाही हुनुपर्ने घटना भए पनि गरिएन । समितिले गरेको सहमतिविपरीत प्रतिवेदन लेखनको अधिकार समिति सचिवलाई हुन्न । यस्ता घटना त संसद्कै मानमर्दन हुन् ।”

दोहोरियो घटना

झन्डै साढे ६ वर्षपछि राज्य व्यवस्था समितिमा नै प्रतिवेदन लेखनको विषयमा विवाद भइरहेको छ । अघिल्लो पटक जस्तै यो पटक पनि निजामती विधेयककै प्रतिवेदनमा विवाद भएको हो । अवकाश प्राप्त निजामती कर्मचारीले संवैधानिक, कूटनीतिक तथा अन्य सरकारी नियुक्ति दुई वर्षसम्म लिन नपाउने गरी सहमति भएकोमा त्यसलाई खण्डित गर्ने व्यवस्था पनि यथावत् राखिएकोमा विवाद छ । समितिले गरेको सहमतिविपरीत ‘कुलिङ अफ पिरियड’ निष्प्रभावी हुने गरी प्रतिवेदन तयार भएकोमा संसदीय छानबिनकै माग उठेको छ । उक्त त्रुटिको जिम्मेवारी लिनबाट भने सबै पन्छिएका छन् । निर्णय अनुसार प्रतिवेदन लेखन नभएको भन्दै समिति सचिवको आलोचना भइरहेको छ ।

कर्मचारी, शिक्षक तथा प्रहरी सङ्गठन जोडिएका कानुन तर्जुमामा संसद्लाई सधैँ नै सकस पर्ने गरेका विगत पनि छन् । कर्मचारी सङ्गठन र स्वार्थ समूहको दबाबसमेतले कानुन पारित गर्न संसद्लाई सकस पर्ने गरेको छ । विचाराधीन सङ्घीय निजामती विधेयक नै मन्त्रीपरिषद्ले दर्ता अनुमति दिएको लामो समयसम्म संसदीय प्रव्रिmयामा प्रवेश नै गर्न सकेन ।

संसद्को अघिल्लो कार्यकालमा तीन वर्षसम्म विषयगत समितिमा छलफल भएको सङ्घीय निजामती विधेयक अन्तर्वस्तुमा दबाब समूहको अस्वाभाविक चासोकै कारण अन्तिम अवस्थामा फिर्ता भएको थियो । राज्य व्यवस्था समितिले आफ्नो कार्यकालमा पारित गरेका १८ विधेयकमध्ये सङ्घीय निजामतीका लागि मात्र झन्डै आधा समय खर्चिएको थियो । समितिले १८ वटा विधेयक पारितका लागि १६२ वटा बैठक बस्दा ६१ वटा बैठक निजामती विधेयकका लागि मात्रै बसेका थिए ।

कर्मचारी विधेयक सधैँको सकस

सङ्घीय संसद्को कालखण्ड मात्र होइन, कर्मचारी सम्बद्ध विधेयक पारितमा संसद्लाई सधैँ सङ्घर्ष गर्नु परेका उदाहरण छन् । निजामती सेवा ऐनको पहिलो संशोधन २०५५ र जनआन्दोलनपछिको संशोधनमा पनि उत्तिकै सकस परेका थिए । त्यसबाहेक निजामती कर्मचारी विधेयकमा सामान्यबाहेकका ठुला संशोधन भएका छैनन् ।

राष्ट्रिय सभामा उत्पत्ति भएको निजामती सेवा विधेयक २०५२ साल मङ्सिर २७ गते सभामा प्रस्तुत भएको थियो । २०५३ साउन २० गते राष्ट्रिय सभा र २०५५ वैशाख २४ मा प्रतिनिधि सभाबाट पारित भएका थिए । दर्तापछि प्रतिनिधि सभाबाट पारित गर्न झन्डै तीन वर्ष नै लागेको थियो । अन्तर्वस्तुमा विवाद र कर्मचारी सङ्गठनको दबाबका कारण पहिलो संशोधन प्रतिनिधि सभाले एकै दिन तीन वटा बैठक राखेर सम्पन्न गरेको थियो । पहिलो संशोधन विमलेन्द्र निधि सामान्य प्रशासनमन्त्री भएका बेला गरिएको थियो ।

२०६२/६३ को आन्दोलनपछिको पुनस्र्थापित प्रतिनिधि सभाले पनि निजामती कर्मचारी कानुन परिमार्जन गर्‍यो । त्यो बेला विधेयकका केही प्रावधानलाई लिएर कर्मचारीले सिंहदरबारभित्रै नाराबाजीसमेत गरे । कर्मचारी युनियनको दबाबका कारण राज्य व्यवस्था समिति बैठकलाई मर्यादापालकको सहायताले सञ्चालन गरिएको थियो ।  राज्य व्यवस्था समितिका पूर्वसभापति हृदयराम थानी कर्मचारी विधेयकमा सधैँ सकस नै पर्ने बताउनुहुन्छ । थानी भन्नुहुन्छ, “जनआन्दोलनलगत्तै पनि हामीलाई निकै कठिन भएको थियो । म त्यो बेला समिति सदस्य थिएँ । २४ (घ) बढुवाको चर्को दबाब थियो, समिति सहमतिमा पुगेको थिएन । त्यो बेला मेरै प्रस्तावमा ५–६ दिनसम्म बैठक रोकिएको पनि थियो । पछि छलफलबाटै त्यो समस्या सुल्झायौँ तर विधेयकका विषयलाई लिएर कर्मचारीले सिंहदरबारभित्रै नारा लगाए ।”

२०७२ सालमा निजामती सेवा ऐन संशोधनमा पनि माथापच्चिसी भयो । विशेष गरी कर्मचारीले विदेशी मुलुकको स्थायी अनुमतिपत्र लिन पाउने वा नपाउने तथा ट्रेड युनियनको विषयमा विवाद भएको थियो । २०७२ सालमा तत्कालीन सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित हुनुहुन्थ्यो । डिभी, पिआरलाई कानुनले बन्देज गर्न सफल भए पनि ट्रेड युनियन दबाबकै कारण बिराम लाग्न सकेन । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको घोषणा
२०८२ असार २०, शुक्रबार
रुसद्वारा तालिबान शासनलाई औपचारिक मान्यता, २०२१ पछि पहिलो अन्तर्राष्ट्रिय समर्थन
२०८२ असार २०, शुक्रबार
सरकारी कर्मचारीमा समर्पणको कमी, सुशासनमा सुधार आवश्यक : मन्त्री पाण्डे
२०८२ असार २०, शुक्रबार
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार