काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूबीच आज वाशिङ्टनमा भेट हुँदैछ ।
यो भेटले गाजामा चलिरहेको २१ महिनाको युद्ध अन्त्यको आशा जगाएको समाचार संस्था अलजजिराले जनाएको छ । तर विश्लेषकहरुले यसको दीर्घकालीन सफलताप्रति आशङ्का व्यक्त गरेका छन् ।
यो वर्ष तेस्रोपटक नेतन्याहू र ट्रम्पबीच भेट हुन लागेको हो । गएको हप्ता ट्रम्पले इजरायलले गाजामा ६० दिनको युद्धविरामको सर्त स्वीकार गरेको दाबी गरेका थिए । उनले यो युद्धविरामबाट दीर्घकालीन शान्तिको बाटो खुल्ने विश्वाससमेत व्यक्त गरेका थिए ।
यसैबीच इजरायल र हमासबीच गाजामा युद्धविराम र बन्धक मुक्तिसम्बन्धी अप्रत्यक्ष वार्ता कतारको राजधानी दोहामा हिजोदेखि नै फेरि शुरु भएको छ ।
यो वार्ता इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको अमेरिका प्रस्थानअघि शुरु भएको हो । कतार यस द्वन्द्वमा एक प्रमुख मध्यस्थ राष्ट्रका रूपमा सक्रिय रहँदै आएको छ ।
एक प्यालेस्टिनी अधिकारीका अनुसार दोहामा शुरु हुने वार्ताले सम्भावित युद्धविरामका शर्त, बन्धक तथा बन्दीहरूको आदानप्रदान र गाजाको राफा नाका फेरि खोल्ने विषयमा केन्द्रित रहनेछ । पछिल्लो समय गाजामा मानवीय अवस्था दिनप्रतिदिन गम्भीर बन्दै गएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया