धनकुटा, साउन २४ । धनकुटा बास्केटबल क्लबले साउन २४ गतेदेखि भदौ ३ गतेसम्म विद्यार्थीहरूका लागि निःशुल्क प्रारम्भिक लेभल बास्केटबल तालिम सञ्चालन गर्ने भएको छ। शुक्रबार पत्रकार सम्मेलनमार्फत क्लबले तालिमको तयारी र उद्देश्यबारे जानकारी दिएको हो।
धनकुटा नगरपालिका–७, चुलिबनस्थित निजामी आवासीय माध्यमिक विद्यालयको खेल मैदानमा हुने तालिममा नगर क्षेत्रका विद्यालयका विद्यार्थीहरूको सहभागिता रहनेछ। एक विद्यालयबाट ८ देखि १० जना विद्यार्थी सहभागी हुने व्यवस्था गरिएको आयोजकले जनाएको छ।
धनकुटा बास्केटबल क्लबका अध्यक्ष विवेक श्रेष्ठका अनुसार जीवनशैलीमा सुधार, आत्मविश्वास अभिवृद्धि, अनुसन्धान क्षमता विकास तथा समूह भावना बढाउने उद्देश्यले यो तालिम आयोजना गरिएको हो।
तालिममा आधारभूत बास्केटबल ज्ञान र अभ्यास—जस्तै ड्रिब्लिङ, पासिङ, शूटिङ, टिमवर्क, र खेल अनुशासन—समेत सिकाइनेछ। १२ देखि १४ वर्ष उमेर समूहका बालबालिकाहरू लक्षित यो तालिममा नगरभित्रका सम्पूर्ण विद्यालयलाई सहभागिताका लागि आह्वान गरिएको छ।
करीब रु. ४ लाख ५० हजार खर्च हुने अनुमान गरिएको तालिमको सम्पूर्ण खर्च क्लबले नै व्यवस्थापन गर्ने भएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया