बैसाख १५, २०८३ मंगलबार April 28, 2026

भाषणमा सीमित सरकारको एक वर्ष : बलराम केसी

सातबुँदे सहमतिमार्फत सरकार गठन गर्दा आशा जगाउन खोजिए पनि भाषणले जनता झुक्याउने काम मात्र भइरहेको छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

प्रजातन्त्र र खुला अर्थतन्त्रमा विश्वास गर्ने पहिलो ठुलो दल कांग्रेस र दोस्रो ठुलो दल एमाले परस्परविरोधी विचारधाराका भए पनि सत्तास्वार्थले गर्दा दुवै ०८१ साउनमा गठबन्धन बनाएर सरकार गठन गरे । दुवै दलका नेताले एक स्वरमा ‘दुई ठुला दलको गठबन्धन असफल भए झन् ठुलो निराशाको जोखिम हुन्छ’ पनि भने ।

असोजमा ७ पृष्ठ लामो ‘सरकारको साझा संकल्प तथा नीतिगत प्रतिबद्धता’ नामको कागजी लेखोट सार्वजनिक पनि गरे । संकल्प सातबुँदे सम्झौताको पूरक थियो । संकल्पमा आठ शीर्षक राखिए । ‘संकल्प’का अधिकांश कुरा संविधान र कानुनबाट सारिएका थिए । सारिए पनि अक्षरश: लागू गरिएको भए भ्रष्टाचारी डराउँथे । नयाँले गर्दैनथे । धेरै भ्रष्टाचारी आज मुद्दा चलेर थुनामा या तारेखमा हुन्थे ।

संकल्पमा राम्रा कुरा नपरेका होइनन् । विकास गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने र सुशासन कायम गर्ने राम्रा कुरा हुन् । अक्षरश: लागू होला भन्ने आस थियो । संकल्पले केही हानि गरेको थिएन । देशको समस्या र संकट भ्रष्टाचारले गर्दा सिर्जिएको हो । संकल्पको नं. २ को आफ्नै शब्दमा ‘संविधानको संशोधन’ र नं. ३ को ‘भ्रष्टाचारजस्ता सार्वजनिक चर्चामा रहेका काण्डहरूको स्वतन्त्र, निष्पक्ष र विश्वसनीय छानबिन गरिनेछ’ भन्ने लेखिएको थियो, जुन स्वागतयोग्य कुरा हुन् । एक वर्ष नाघ्यो, तर कार्यान्वयन गरिएन । कार्यान्वयन गर्ने सुरसारै देखिएन । कार्यान्वयन गर्न राजनेता चाहिन्छ । राजनेता ६ गुणले सम्पन्न हुनुपर्छ । शुद्ध आचारण, त्याग, नैतिकता, जवाफदेहिता, भिजन र इमानदारी । बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारीलगायत नेता ६ गुण सम्पन्न थिए । तिनको आचरण शुद्ध थियो । तिनले प्रधानमन्त्री पदको लोभ गरेनन् । त्यागी थिए । लक्ष्य प्रजातन्त्रको थियो । महान् भिजन थियो । पदका लागि राजासँग पनि सौदा गरेनन् । नैतिकवान् थिए । इमानदारिता थियो । भ्रष्टाचारका लागि राजनीति गरेका थिएनन् । बेदाग दिवंगत भए । देश, जनता र प्रजातन्त्रप्रति सदा समर्पित र इमानदार थिए । सातबुँदे सम्झौताले जन्माएको ‘संकल्प लागू गर्न शुद्ध आचरणको, त्यागी, भिजन भएको, नैतिकवान्, जवाफदेही र इमानदार’ नेताको हातमा नेतृत्व हुनुपर्थ्यो । तर, नेतृत्वकर्तामा राजनेताको गुण नभएकाले एक वर्ष बित्यो, आफैँले जारी गरेको संकल्प लागू गरिएन ।

सातबुँदे सम्झौता र संकल्प ०८४ को चुनावसम्म कांग्रेस र एमाले पालैपालो प्रधानमन्त्री बन्ने षड्यन्त्रको ललिपप हो । अन्य दल एकढिक्का भएर सरकार ढाल्लान् भन्ने डरले राष्ट्रिय सहमतिको सरकार गठन गर्ने भनियो । दुई दल अप्रिय भएकाले अप्रियता लुकाउन ‘संविधान संशोधन’को नारा दोहोर्‍याइयो । पहिलो शीर्षकमा जनतालाई ‘इमोसनल ब्याकमेल’ गर्न राष्ट्रहित संरक्षणअन्तर्गत राष्ट्रियता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान, राष्ट्रहितको रक्षा गर्ने लोकप्रिय कुरा लेखियो । संविधानको प्रस्तावना, धारा ५ को राष्ट्रिय हित, राज्यको निर्देशक सिद्धान्त धारा ५२ को राज्यको दायित्व र धारा ८० को शपथ र राष्ट्रहितविपरीत सन्धि गर्न नहुने व्यवस्थाले संविधान पालना गरेपछि ती स्वत: भइहाल्ने कुरा हुन् । त्यसलाई संकल्पमा लेख्नुपर्ने थिएन ।

संकल्पमा संविधानका कुरा नै दोहोर्‍याइए । संकल्प लागू गर्नकै लागि दुई दल मिलेको नारा दिइयो । सरकारले गर्ने काम प्रत्येक वर्ष राष्ट्रपतिलाई धारा ९५ अनुसार संसद्मा सम्बोधन गराइन्छ र त्यही आधारमा धारा ११९ लगायत धाराअन्तर्गत सरकारले बजेट पाउने हो । संवैधानिक परम्परा, संविधान र संवैधानिक संस्कारलाई यसरी ध्वस्त पारियो कि राष्ट्रपतिको सम्बोधनको नीति तथा कार्यक्रमलाई कर्मकाण्डी बनाइयो र नीति तथा कार्यक्रम खारेज गर्दै संसद् छलेर संकल्प जारी गरिने परम्परा बन्यो ।

आज कांग्रेस र एमालेको सरकार छ । दुई वर्षको अवधिमा चार सरकार बने । तीनवटा नीति तथा कार्यक्रम संसद्मा पेस भए । तर, संकल्प र न्यूनतम साझा कार्यक्रमले ती सबै खारेज गरिए । धारा ९५ को राष्ट्रपतिको सम्बोधन अमेरिकी राष्ट्रपतिको ‘स्टेट अफ द युनियन’को सम्बोधनजस्तै हो । तर, हामीकहाँ त धारा ९५ को राष्ट्रप्रमुखको सम्बोधन लागू नगरी संकल्पले खारेज गर्ने परम्परा विकास गरियो ।

विपक्षी शून्य पारेर ठुला दलले सरकार बनाउनुपर्ने कुनै आकस्मिक र असामान्य परिस्थिति सिर्जना भएको थिएन । संविधान मिचेर सरकार बनाइयो । संविधान संशोधन दुई ठुला दल मिलेर मात्र हुँदैन, सबै दल मिल्नुपर्छ । पदमा टिक्नका लागि संविधान संशोधनको नारा दिइए पनि त्यसका लागि दुवै सदनको दुईतिहाइ बहुमत चाहिन्छ । दुई दलले त्यो पुर्‍याउन सक्दैनन् । माओवादी केन्द्र ‘किङ मेकर’ बनेको छ । संविधान संशोधनको नारा दिएर एमाले र कांग्रेसले ‘दुस्मनका दुस्मन दोस्त’ बनेर सातबुँदे सम्झौता गरे । सम्झौता ०८४ को चुनावसम्म सत्ताका लागि गरिएको थियो । जनताले नपत्याउने डरले संविधान संशोधनको नारा दिइएको प्रमाणित हुँदै छ ।

शीर्षक नं. ३ को ‘सुशासन र गुणस्तरीय सेवा प्रवाह’ हेरौँ । शीर्षकमा चार प्रकरण छन् । पहिलो र दोस्रो प्रकरण ‘खोक्रो नारा’ हुन् । सुशासन र गुणस्तरीय सेवा दिन किन, कसले, कसरी रोक्यो ? एक वर्ष बित्दा पनि कार्यान्वयन नगर्ने भए कहिले गर्ने ? जनता कार्यान्वयन होस् भन्ने चाहन्छन् । तेस्रो प्रकरणमा भ्रष्टाचार आर्थिक अनियमितता, अख्यितार दुरुपयोगजस्ता सार्वजनिक चर्चामा रहेका सबै काण्डको स्वतन्त्र निष्पक्ष र विश्वसनीय छानबिन गरिनेछ भन्ने उल्लेख छ । तीन करोड नेपाली, राष्ट्र संघ र ट्रान्सपरेन्सी इन्टरनेसनलले चाहेकै यही हो । भ्रष्टाचार नियन्त्रण गर्न संकल्प किन चाहियो ? लागू गर्ने हो भने दुई ठुला दल होइन, १३८ संख्याको संसद्को जादुगरी नम्बर नघाएको झिनो समर्थनले बनेको सरकार पनि लोकप्रिय बन्छ । सोही कारणले सरकार ०८४ को चुनावसम्म टिक्ने थियो ।

नेपाललाई भ्रष्ट देश बनाइयो । भ्रष्टाचारकै कारण विदेशी डराउँछन् । दातृ राष्ट्र नेपालमा ऋण दिन हिचकिचाउँछन् । गिरिबन्धु टी स्टेट, नक्कली भुटानी शरणार्थी, हालैको एयरपोर्ट सेटिङ काण्ड, भिजिट भिसा, वाइड बडी, पासपोर्ट छपाइ काण्ड, कम्बोडियालगायत दर्जनौँ काण्डमा दुई ठुला दलका नेता र आसेपासे, मन्त्रीको नाम आएको छ । छानबिन होइन, अख्तियारबाटै अनुसन्धान हुनुपर्ने काण्ड हुन् । सायद आत्मघाती गोल हुने डरले कार्यान्वयन गरिएन । राष्ट्र निर्माणका लागि इच्छाशक्ति, भिजन, शुद्धता, नैतिकता, जवाफदेहिता र इमानदारी आवश्यक पर्छ, जुन आजका नेतामा छैन । भाषणले झुक्याउने काम भइरहेको छ । भिजनको कुरा गर्दा भक्तपुरको गुन्डुमा ५० हजार क्षमताको रंगशाला बनाउने भनिएको छ । साँचो हो भने सरकार गलत बाटो जाँदै छ । भिजन भइदिएको भए ‘ओभर क्राउडेड’ उपत्यकामा भक्तपुरको इँटा–टायल कारखाना मासेर रंगशाला बनाउने थिएन । रंगशाला प्लटिङ गरेर बेच्न लागिएको उपत्यकाबाहिरको गिरिबन्धु टी स्टेटजस्ता जग्गामा बनाउनुपर्थ्यो । उपत्यका थप प्रदूषित र भिडभाड हुने थिएन । भिजन भइदिएको भए स्कुलका ससाना बच्चालाई भक्तपुरमा रंगशाला बनाइदिन्छु खेल भन्दैनथे । भारतको प्रसिद्ध ‘इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी’ (आइआइटी) जस्तो नेपालको आफ्नै एनआइटी बनाइदिन्छु, त्यहाँ प्राविधिक उच्च शिक्षा पढ नानीबाबुहरू हो, भन्नुपर्थ्यो । स्वास्थ्योपचारका लागि भारतको ‘अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स’ (एम्स) जस्तो नेपाली ‘एम्स’ बनाइदिन्छु, त्यहाँ पढ, डाक्टर बन र बिरामीको सेवा गर भन्नुपर्थ्यो ।

त्यसै त उपत्यकामा ‘कंक्रिटको जंगल’ ठडिएको छ । आपत् पर्दा खुला ठाउँ छैन । एक व्यक्तिको सनकमा देश चलाइएको छ । हराभरा जग्गा मासेर भ्यू टावर बनाउने, रंगशाला बनाउने, काम भइरहेछ । इटली जी–७ को धनी र विकसित राष्ट्र हो । इटली फुटबलको देश हो । इटलीको रंगशाला देखेर उपत्यकामा रंगशाला बनाइदिन्छु भन्नु गलत सोच हो । कसरी रोजगारी सिर्जना हुन्छ ? अन्तर्राष्ट्रिय क्षेत्रमा पनि नेपाल असफल बन्यो । हमासले बन्धक बनाएका विपिन जोशीका आमा र बहिनीलाई इजरायली सरकारले आफ्नो अगुवाइमा इजरायल लग्यो । संयुक्त राष्ट्र संघका लागि अमेरिकी भिसा दिलाउन पहल गर्‍यो । तर, नेपालले केही गर्न सकेन । दुई दलको सरकार असफल भइसक्यो । अब उपाय के त ?

गणतन्त्रको बदनामी जनता वा संविधानले गरेका होइनन् । गणतन्त्रयता तीनजना आलोपालो प्रधानमन्त्री भइरहे । तर, तिनले नेतृत्वदायी भूमिका निर्वाह गर्न सकेनन् । पदका लागि हानथाप र दाउपेच मात्र चल्यो । आजको सरकार पनि दाउपेचकै उपज हो । संकल्प लागू गर्न नसकेको कारण नै यही हो । नेपालको समस्या गरिबी वा भूपरिवेष्ठितता होइन, भ्रष्टाचार हो । भ्रष्टाचारले गर्दा नेपालको बदनाम भयो । भ्रष्टाचार नियन्त्रण गर्ने हो भने ५० प्रतिशत समस्या समाधान हुन्छ र सुशासनको सुरुवात हुन्छ । नेपालको गिरिबन्धु, नक्कली भुटानी शरणार्थी, एयरपोर्ट सेटिङ काण्डलगायत दर्जनौँ काण्डबाट विश्व परिचित छ । अमेरिकाले नेपाली सरकारी डेलिगेसनलाई नै पनि सेटिङवाला र सरकारबाटै मानव तस्कर हुने देशको टोली ठान्छ । यति हुँदाहुँदै पालैपालो प्रधानमन्त्री बन्ने दुई ठुला दलका नेता भ्रष्टाचार नियन्त्रण गर्नुपर्‍यो भन्ने आँट गर्दैनन् । ‘भ्रष्टाचार’ शब्दको त नामै लिन पनि डराएको देखिन्छ । सुशासन प्रवाह गर्ने भनेर समिति बनाएर प्रधानमन्त्री आफैँ समितिको अध्यक्ष बन्नुभएको छ । भ्रष्टाचार नियन्त्रण गरेपछि सुशासन स्वत: कायम हुँदै आउँछ । सुशासन आयोगको नाटक किन ?

अन्त्यमा, ३ असोज ०८१ मा प्रकाशित र प्रचारित सरकारको ‘संकल्प’ कार्यान्वयन गरिँदैन । अरू नभए पनि नम्बर ३ को सुशासन र गुणस्तरीय सेवा प्रवाह शीर्षकको प्रकरण ३ का लागि नागरिक समाजका निष्पक्ष व्यक्तिको शक्तिशाली समिति गठन गरेर गिरीबन्धुलगायत दर्जनौँ काण्डको छानबिन गराउनुपर्थ्यो । कार्यान्वयन गर्न सरकार कानुन, संविधान, नैतिकता, इमानदारी र संकल्पले विबन्धित छ । एक वर्षअगाडि ७ साउन, ०८१ मा प्रकाशित दुई ठुला दलको गठबन्धन असफल भए झनै ठुलो निराशाको जोखिम हुन्छ भन्नेमा प्रधानमन्त्रीको ध्यान जाओस् । सरकार असफल भइसक्यो ।

अन्तर्राष्ट्रिय समुदायको आँखामा नेपाल ‘असफल राष्ट्र’ हो, छाप लाग्न मात्र बाँकी छ । अब गणतन्त्र नेपाल होइन, ‘बनाना रिपब्लिक अफ नेपाल’ बन्दै छ भन्ने महसुुुस गरेर नयाँ पुस्तालाई सत्ता हस्तान्तरण गर्नुपर्‍यो । सातबुँदेका ‘आर्किटेक्ट’ २ नेताले यो नभुलून्, प्रजातन्त्रमा कुनै पनि व्यक्ति अपरिहार्य हुँदैन । प्रजातन्त्र भनेको एक नेतालाई अर्को नेताले प्रतिस्थापन गर्ने विधि हो । प्रधानमन्त्री नभए देश र दल चल्दैन भन्ने सोच कसैले पनि नराखौँ ।नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
युरोपेली युनियनको नविन प्रतिवन्दको प्रतिक्रीयामा रूसद्वारा ईयु अधिकारीलाई रूसी क्षेत्र प्रवेश प्रति वन्द जारी
२०८३ बैसाख १५, मंगलबार
संसद् स्थगित गर्दै अध्यादेश सिफारिस गर्ने सरकारी कदमप्रति कांग्रेसको आपत्ति
२०८३ बैसाख १५, मंगलबार
फेसबुक मोनिटाइजेसनमा नेपालीलाई सशक्त बनाउँदै एमडिआर टिम
२०८३ बैसाख १५, मंगलबार
कानुन विपरीतका सवारी साधन फिर्ता लिने प्रक्रिया सुरु
२०८३ बैसाख १५, मंगलबार
युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
२०८३ बैसाख १५, मंगलबार
कर्णाली प्रदेशसभाको आठौँ अधिवेशन आह्वानका लागि सिफारिस
२०८३ बैसाख १५, मंगलबार
गर्मी बढेसँगै शुक्लाफाँटामा सुक्न थाले ताल
२०८३ बैसाख १५, मंगलबार