असोज २८, २०८२ मंगलबार October 14, 2025

उदयदेव-पाटन प्रिमियर लिग : हिमचुली सेमिफाइनलमा

विजेताले रु एक लाख लाख ३५ हजार ७९१ र उपविजेताले रु ५६ हजार ७८९ पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
बैतडी, २७ असोजः  बैतडीको  पाटनमा  जारी पाँचौ संस्करणको  उदयदेव–पाटन प्रिमियर लिग (युपिपिएल) प्रतियोगितामा हिमचुली युवा क्लब सेमिफाइनल पुगेको छ । आज सम्पन्न खेलमा हिमचुलीले केदार शक्ति क्रिकेट टिमलाई नौ रनले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।
जितका लागि पाएको १२२ रनको लक्ष्य पछ्याएको केदारशक्तीले निर्धारित १५ ओभरमा नौ विकेटको क्षतिमा ११२ रन मात्रै बनाउन सक्यो ।
उसका लागि यशकुमार कठायतले ३२ र किरण धामीले ३१ रनको योगदान गरेपनि टोलीलाई जिताउन सकेनन् ।  हिमचुलीका ऋषिकेश बोहरा र प्रकाश विष्टले २÷२ विकेट चट्काए ।
यसअघि श्रीकृष्ण माविको खेलमैदानमा पहिला ब्याटिङ गरेको हिमचुलीले ९ विकेटको क्षतिमा १२१ रन जोड्यो । उसका लागि ऋषिकेश बोहराले ३६, सन्तोष साउदले ३२ र राजेन्द्र बोहराले अविजित २७ रन बनाए ।
केदारशक्तिका सन्तोष पाण्डेयले तीन, किरण धामीले दुई विकेट हात पारे । अलराउन्डर प्रदर्शनमार्फत हिमचुलीलाई जिताएका ऋषिकेश बोहरा प्लेयर अफ द म्याच चुनिएको स्कोरर दीपेन्द्रबहादुर बोहराले जानकारी दिनुभयो ।
पाटन एकता समाजको आयोजनामा यही असोज २५ देखि सुरू भएको प्रतियोगितामा १३ टोली सहभागी  छन् । पाटन नगरपालिका  प्रायोजक रहेको प्रतियोगिताको विजेताले रु एक लाख लाख ३५ हजार ७९१ र  उपविजेताले  रु ५६ हजार ७८९ पाउनेछ । साथै प्लेयर अफ द सिरिजलाई रु १२ हजार ३४५, उत्कृष्ट ब्याटर र बलरलाई जनही रु ५ हजार ६७८ दिइनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया