बैसाख १५, २०८३ मंगलबार April 28, 2026

संघीय शासन प्रणाली सुदृढीकरणका मार्ग : खिमलाल देवकोटा

नयाँ–पुराना सबै राजनीतिक दलहरूले निर्वाचनमा भाग लिनु नै मुलुकका लागि हितकर छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सुशीला कार्की सरकारको पहिलो र महत्त्वपूर्ण जिम्मेवारी २१ फागुनमा निर्वाचन गराएर जननिर्वाचित सरकारलाई सत्ता सुम्पनु हो । यसैगरी जेन–जी आन्दोलनमा मृत्यु भएका घरपरिवार र घाइते लगायतलाई उचित सहयोग गर्ने, आन्दोलनमा दमन गर्ने शासक र घुसपैठद्वारा सरकारी तथा निजी सम्पत्तिमा तोडफोड गर्नेलाई कानुनको दायरामा ल्याउने र जेन–जी आन्दोलनले उठाएका भ्रष्टाचार निवारणलगायत नागरिकका दैनन्दिन सरोकार लगायतका काम गर्नु हो ।

खल्बलिएको शान्तिसुरक्षा र लगानीको वातावरणलाई सुधार्नु, सरकारका तहहरूबीच र विदेशी राष्ट्रहरूसँगको सम्बन्धलाई सुदृढ पार्ने जिम्मेवारी पनि कार्की सरकारमा छ । जेन–जी आन्दोलनलाई सबै राजनीतिक दलले आत्मसात् गरेर निःसर्त निर्वाचनमा जानुपर्दछ । समयमा निर्वाचन सम्पन्न भयो भने खल्बलिएका राज्यका अंगहरू क्रियाशील हुन्छन् । संविधानले लय समात्छ । दलहरू निर्वाचनमा नजाने, निर्वाचन पनि नहुने स्थिति आएमा मुलुक मुडभेडमा जान्छ । अनिश्चयको भुमरीमा पर्दछ ।

नयाँ–पुराना सबै राजनीतिक दलहरूले निर्वाचनमा भाग लिनु नै मुलुकका लागि हितकर छ । निर्वाचनका लागि एजेन्डाहरू तय गर्न पनि त्यत्तिकै जरुरी छ । निर्वाचनका एजेन्डाहरू घोषणापत्रमार्फत प्रतिबिम्बित हुन्छन् । यसको तयारीमा पनि दलहरूले काम गर्नुपर्नेछ । तर एजेन्डा तय गर्दा जेन–जी आन्दोलनले अगाडि सारेका विषयलाई प्राथमिकतामा राख्न आवश्यक छ । पार्टीभित्रको पुस्तान्तरण र रूपान्तरणका विषयहरू घोषणापत्रको प्रस्तावनामा नै बोलिनुपर्दछ ।

जेन–जी लगायतका नागरिकहरूले चाहेको विधिको शासन हो । संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थाको स्थायित्व हो । यस आलेख अबको शासकीय सुधार लगायतका मार्गहरूका बारेमा व्यवस्थापिका र कार्यपालिकाको विषयमा केन्द्रित छ । न्यायपालिका लगायतका विषयमा चर्चा गरिएको छैन । राजनीतिक दलहरूलाई निर्वाचनको घोषणापत्र लेखनमा आलेख महत्त्वपूर्ण सन्दर्भ सामग्रीका रूपमा हुने विश्वास छ ।

व्यवस्थापिका

व्यवस्थापिकाको रूपमा हाल प्रतिनिधिसभा (२७५ जना) र राष्ट्रिय सभा (५९ जना) गरी द्वि–सदनात्मक व्यवस्था छ । दुवै सदन गरेर संसद्को संख्या ३३४ छ । यो संख्यामा कटौती गरेर २०० जनाको (प्रतिनिधिसभा १६५ र राष्ट्रिय सभा ३५) मात्र बनाउँदा वेश हुन्छ । प्रतिनिधिसभाको हालको २७५ को संख्यामा समानुपातिक निर्वाचन प्रणालीबाट आउने ११० खारेज गरी प्रत्यक्षबाट निर्वाचित १६५ मात्र राख्दा हुन्छ । अर्थात् समानुपातिक निर्वाचन प्रणाली खारेज गर्ने । समानुपातिक र समावेशी प्रतिनिधित्वका लागि प्रत्यक्ष निर्वाचन प्रणालीमा नै समावेश गर्ने ।

जस्तो, महिला–महिला, दलित–दलित, अल्पसंख्यक–अल्पसंख्यक, मुस्लिम–मुस्लिम, आदिवासी जनजाति–आदिवासी जनजाति आदि वर्ग र समुदायका बीचमा मात्र प्रतिस्पर्धा गराउने व्यवस्था मिलाउने । समानुपातिक निर्वाचन प्रणाली खारेज गर्दा संसद्मा एक–दुई राजनीतिक दलको बहुमत आउँछ । सरकारको स्थायित्वमा समस्या हुँदैन । पूर्ण प्रत्यक्ष निर्वाचन प्रणालीको विकल्पमा पूर्ण समानुपातिक पनि हुन सक्छ । तर यसका लागि राजनीतिक दल र उम्मेदवारले पाएको मतको भारित औसतलाई आधार मान्नुपर्दछ । कतिपय स्केन्डेभियन लगायतका मुलुकहरूमा यस्तो विधि छ । तर, हाम्रो जस्तो मुलुकमा यो विधि अलि जटिल हुन सक्छ ।

 

राष्ट्रिय सभाको सन्दर्भमा, अहिले यसको संख्या ५९ छ । प्रत्येक प्रदेशबाट आठ–आठ जना गरी ५६ र राष्ट्रपतिबाट ३ जना मनोनीत हुन्छन् । यसमा सुधार गरेर आठ–आठ जनाको ठाउँमा पाँच–पाँच जना गरी ३५ जना मात्र हुने व्यवस्था राख्दा वेश हुन्छ । राष्ट्रपतिबाट मनोनीत गर्ने व्यवस्था हटाउँदा हुन्छ । सम्बन्धित प्रदेशमा बसेर आ–आफ्नो विषयगत क्षेत्रमा विज्ञता हासिल गरेकालाई मात्र राष्ट्रिय सभामा लग्ने व्यवस्था मिलाउन जरुरी छ । उही वर्ष अन्य कुनै पनि तहको निर्वाचनमा पराजितलाई राष्ट्रिय सभामा लानु हुँदैन । अहिले राष्ट्रिय सभाप्रति धेरैले प्रश्न गर्ने विषय नै यही हो ।

नेपालभन्दा करिब तीन गुणा ठूलो संघीय मुलुक जर्मनको राष्ट्रिय सभामा जम्मा ६९ जना छन् । बेल्जियममा ६० र अष्ट्रियामा ६१ जना छन् । स्विट्जरल्यान्डमा ४६ जना छन् । काबिल व्यक्तित्वहरू हुने हो भने थोरै जनाले पनि राष्ट्रिय सभामा प्रभावकारी भूमिका निर्वाह गर्न सक्छन् । संसद्को आकारको अतिरिक्त व्यवस्थापिकाको क्षेत्रमा गर्नुपर्ने सुधारमा उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउनुपर्दछ ।

उपसभामुख र उपाध्यक्षको पद राखिरहन जरुरी छैन । हटाउँदा वेश हुन्छ । सांसदलाई बैठकभत्ताबाहेक अन्य सुविधा नदिने व्यवस्था गरिनुपर्दछ । राजनीति अहिले कमाउ खाने भाँडोजस्तो भयो र सबभन्दा बढी आकर्षण सांसद पदमा रह्यो/छ । बैठकभत्ताबाहेक अन्य सुविधा नदिने व्यवस्था स्विट्जरल्यान्डमा छ । बैठकको समयमा मात्र सांसदहरू जान्छन् । अन्य समय आफ्नो पेसा व्यवसायमा नै रमाउँछन् । यस्तै व्यवस्था हामीकहाँ पनि गरिनुपर्दछ ।

प्रतिनिधिसभाको सभामुख र राष्ट्रिय सभाको अध्यक्ष भएपछि दलीय राजनीतिमा फर्कन नपाउने व्यवस्था गरिनुपर्दछ । यी पदमा रहेर काम गर्नेहरूको भूमिका निष्पक्ष र तटस्थ भएन भन्ने गुनासो छ । दलीय आबद्धता तोड्ने र पुनः राजनीतिमा फर्कन नपाउने व्यवस्था हुन सके उनीहरू निष्पक्ष हुन्छन् र सरकारलाई संसद्प्रति जवाफदेही बनाउन पनि सजिलो हुन्छ । आफ्नो दलसँग सम्बद्ध पार्टी सरकारमा हुँदा सभामुख/अध्यक्ष सरकारप्रति लचिलो हुने स्थिति छ । यस्तो स्थितिको अन्त्य पनि हुन्छ ।

नेपाल सरकारको मुख्य सचिव, संसद्को महासचिव र सेनापतिको नियुक्ति दुवै सदनले गर्ने व्यवस्था गरिनुपर्दछ । यस्तो व्यवस्था स्विट्जरल्यान्डमा छ । जेन–जी आन्दोलनका नाममा संसद् भवनमा आगो लाग्यो । ध्वस्त बनाइयो । यदि सेनापतिको नियुक्ति संसद्ले गरेको हुँदो हो त निश्चित रूपमा यस्तो हुँदैनथ्यो होला । मुख्यसचिवकै सन्दर्भमा, संसद्को गतिविधिमा मुख्यसचिवले खासै चासो नराख्ने स्थिति छ । यो मेरो सांसद र विशेष समितिको सभापति हुँदाको अनुभव पनि हो । स्थायी सरकारको प्रमुख मुख्यसचिव भएका कारण संसद्का गतिविधिहरू मुख्यसचिवले ध्यान दिएर सुन्नुपर्दछ/हेर्नुपर्दछ ।

विधेयक तर्जुमामा प्रतिनिधिसभा र राष्ट्रिय सभाको भूमिका बराबरी बनाउनुपर्दछ । अहिले राष्ट्रिय सभाको भूमिका गौण छ । जर्मनीमा विधेयकको उत्पत्ति नै राष्ट्रिय सभाबाट हुन्छ । यसैगरी कुनै एक सदनले पास गरिसकेको विधेयक अर्को सदनमा विचराधीन रहेको समयमा प्रतिनिधिसभाको विघटन भएमा राष्ट्रिय सभाको दुई तिहाइको बहुमतले अनुमोदन गरेमा सदर हुने व्यवस्था गरिनुपर्दछ । जस्तो अहिले प्रतिनिधिसभा विघटन हुँदा निजामती, शिक्षा लगायतका कैयौं महत्त्वपूर्ण विधेयकहरू निष्क्रिय भए ।

कार्यपालिका

प्रतिनिधिसभाले प्रधानमन्त्री निर्वाचित गर्ने हालको व्यवस्थालाई नै निरन्तरता दिनुपर्दछ । प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीय प्रणाली ठूलो घातक हुन सक्छ । संसद् र अदालतबाट ‘चेक एन्ड ब्यालेन्स’ हुँदा त संविधान च्यातेको र राज्यका सबै अंगहरू काबुमा राखेको स्थिति थियो/छ भने प्रत्यक्षबाट निर्वाचित प्रधानमन्त्रीले लोकतन्त्रको हत्या गर्ने र तानाशाह हुन सक्ने स्थिति नआउला भन्न सकिन्न ।

यस्तो प्रधानमन्त्रीले मुलुकलाई युक्रेनको जस्तो हवीगत नबनाउलान् भन्न सकिन्न । संसद्बाट निर्वाचित प्रधानमन्त्री नै हाम्रा लागि ठीक छ । निर्वाचन प्रणालीमा सुधार लगायतका कारण एक–दुई दलको संसद्मा बहुमत पुग्छ । स्थायित्वमा समस्या आउँदैन । बरु, राजनीतिक दलले निर्वाचनमा नै प्रधानमन्त्रीको उम्मेदवार तोक्ने व्यवस्था गर्न भने जरुरी छ । नागरिकले मत दिँदा पार्टी मात्र हैन, प्रधानमन्त्रीको उम्मेदवार पनि हेरेर मत दिने व्यवस्था मिलाउन आवश्यक छ ।

संविधानतः आधाभन्दा बढी कार्यजिम्मेवारी प्रदेश र स्थानीय तहमा छ । कार्यजिम्मेवारी तल जाने तर सिंहदरबारमा धेरै संरचनाहरू राखिनु हुँदैन । मन्त्रीको कुरा गर्ने हो भने प्रधानमन्त्रीसहित बढीमा ११ जना मात्र गरिनुपर्दछ । स्विट्जरल्यान्डमा ७ जना मात्र हुने व्यवस्था संविधानमा नै छ । अमेरिका र जर्मनीमा १५ जनाको क्याबिनेट छ । हामीकहाँ २५ जनासम्म हुने व्यवस्थामा सुधार जरुरी छ ।

यसैगरी, सांसद मन्त्री बन्न नपाउने व्यवस्था लागू गरिनुपर्दछ । यस्तो व्यवस्था अमेरिका, स्विट्जरल्यान्ड, ब्राजिल, फिलिपिन्स, दक्षिण कोरिया, इन्डोनेसिया लगायतका देशमा छ । भ्रष्टाचार बढ्नुको मूल कारण सांसद मन्त्री हुने व्यवस्थाले पनि हो । सांसदले तलब सुविधा नपाउने, सांसद मन्त्री बन्न नपाउने व्यवस्था मात्र राख्न सकेमा अहिले भएको भ्रष्टाचार आधाले घट्छ । सांसदको टिकट पाउन पैसा, चुनाव जित्न पैसा, मन्त्री बन्न पैसा अनि मन्त्री बनेपछिको प्रमुख ध्यान नै पैसा असुल्ने प्रवृत्ति नै अहिलेको मूल समस्या हो । यसमा हामीले सुधार गर्न सकेनौं भने जुनसुकै शासन व्यवस्था भए पनि हुने यस्तै हो ।

सांसद लगायतका नेताहरूले खल्तीको योजनाहरू पारेर आफ्नो अनूकुल उपभोक्ता समितिमार्फत ठूलो रकम हिनामिना गर्ने गरेका छन । सांसदलाई योजना छनोटबाट विल्कुल अलग गर्न पनि जरुरी छ । भ्रष्टाचार बढ्नुको एउटा कारण यो पनि हो ।

प्रधानमन्त्रीको कार्यकाल बढीमा दुई पटक गरिनुपर्दछ । दुई पटक प्रधानमन्त्री भइसकेपछि दलीय र संसदीय राजनीतिबाट समेत विश्राम लिनुपर्ने संवैधानिक व्यवस्था हुनुपर्दछ । राष्ट्रपतिको कार्यकाल साविककै बढीमा दुई पटक ठीक छ । राष्ट्रपति भइसकेपछि दलीय र संसदीय राजनीतिबाट अलग्गिनुपर्दछ । राष्ट्रप्रमुख भइसकेपछि त्यसको गरिमा जोगाउनुपर्दछ । पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति र पूर्वप्रधानमन्त्रीलाई बढीमा पाँच वर्षसम्म न्यूनतम सुविधा दिने र त्यसपछि सुविधा पूरै बन्द गरिनुपर्दछ । यो व्यवस्था प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रधानन्यायाधीशमा पनि लागू गरिनुपर्दछ । पूर्वपदाधिकारीका नाममा राज्यको दोहन गर्ने व्यवस्थाको अन्त्य हुन जरुरी छ ।

योजना कार्यान्वयनका सम्बन्धमा संघीय सरकारले राष्ट्रिय गौरव र रणनीतिक महत्त्वका योजनाहरू मात्र कार्यान्वयन गर्ने विधि बसाल्नुपर्दछ । मर्मतसम्भारबाहेक भौतिक पूर्वाधार विकासको योजनामा रु. एक अर्ब र अन्य योजनाहरूका सम्बन्धमा रु. १० करोडभन्दा साना योजना संघीय सरकारले कार्यान्वयन नगर्ने व्यवस्था मिलाउनुपर्दछ । संघीय सरकारले सञ्चालन गर्ने ठूला परियोजनाहरूमा प्रदेश सरकार र स्थानीय सरकारले पनि अपनत्व लिने व्यवस्था गरिनुपर्दछ । योजनाहरूमा नागरिकहरूको पनि अधिकतम सहभागिता भयो भने त्यसको कार्यान्वयनमा सहजता हुन्छ । योजनाहरूको संरक्षण हुन्छ ।

भैंसेपाटीमा मन्त्री निवासको निर्माणताका स्थानीय नागरिकहरूको विरोध थियो । यदि नागरिकहरूको सहमति भएको भए नागरिकहरूले नै तोडभोड हुनबाट जोगाउने थिए । लुम्बिनी प्रदेशको राजधानी राप्ती देउखुरीको संरचना तोडफोड गर्न जानेहरूलाई स्थानीय नागरिकहरूले लखेटे । संरचनाहरू जोगाए । जुनसुकै तहको सरकारले संरचनाहरू निर्माण गर्दा नागरिकहरूसँग पनि सल्लाह गर्ने परिपाटी बसाल्नुपर्दछ । कानुनमा नै लेखिनुपर्दछ । स्विट्जरल्यान्डले त यसलाई संविधानमा नै लेखेको छ ।

संघका संस्थागत संरचनाहरूमा व्यापक सुधार जरुरी छ । आधाभन्दा बढी संरचनाहरू खारेज गरिनुपर्दछ । संवैधानिक आयोगहरूमा तीन जनाभन्दा बढी पदाधिकारी नराख्ने र निर्वाचन, अख्तियार, लोकसेवा, वित्तलगायत केही महत्त्वपूर्ण आयोगहरू मात्र राखी अरू सबै खारेज गरिनुपर्दछ ।

प्रदेश तह

प्रदेशसभाको संख्या अहिले ५५० को छ । यसमा समानुपातिक निर्वाचन प्रणालीबाट आउने २२० लाई खारेज गरिनुपर्दछ । माथि प्रतिनिधिसभाकै मोडलमा उल्लेख गरेजस्तै प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुने ३३० मा नै महिला, दलित लगायतका वर्ग र समुदायहरूको प्रतिनिधित्वको सुनिश्चितता गरिनुपर्दछ ।

निर्वाचन प्रणालीमा सुधारका कारण मुख्यमन्त्रीको स्थायित्वमा समस्या रहँदैन । मन्त्रीको संख्या मुख्यमन्त्रीसहित न्यूनतम ५ देखि बढीमा ७ जना मात्र गरिनुपर्दछ । प्रदेशसभाको हालको २० प्रतिशतका सट्टा १० प्रतिशतको सुझाव पनि छ । तर, पछिल्लो पटक प्रतिशतभन्दा पनि संख्या नै उल्लेख गरिनुपर्ने मत धेरै छ । प्रदेश सभासद मन्त्री हुन नपाउने र सभासदले बैठक सुविधाबाहेक अन्य सुविधा नपाउने व्यवस्था गरिनुपर्दछ ।

विधेयक प्रमाणित र अधिवेशनको आह्वान र अन्त्य प्रदेशसभाका सभामुखले गर्ने परिपाटी बसाल्नुपर्दछ । नीति तथा कार्यक्रम मुख्यमन्त्रीले वाचन गरे पनि हुन्छ । मुख्यमन्त्री र मन्त्रीहरूको शपथ उच्च अदालतको मुख्यन्यायाधीश वा अन्य कुनै स्वीकार्य व्यक्तिले गर्ने व्यवस्था मिलाउदा वेश हुन्छ । यसो गर्दा प्रदेश प्रमुख (प्रदेशको संयोजक) को नाममा हुने ठूलो खर्च बचत हुन्छ ।

संघीय जस्तै प्रदेशका संस्थागत संरचनामा पनि व्यापक सुधार जरुरी छ । निर्देशनालयलगायत स्थानीय तहको अधिकारसँग बाझिएका निकायहरू खारेज गरिनुपर्दछ । योजना कार्यान्वयनका सम्बन्धमा प्रदेश गौरव र अन्तरपालिकास्तरीय योजनाहरू मात्र कार्यान्वयन गर्ने परिपाटी बसाल्नुपर्दछ । मर्मत सुधारबाहेक भौतिक पूर्वाधार विकासको योजनामा रु. ५ करोड र अन्य योजनामा रु. १ करोडभन्दा साना योजना प्रदेशले सञ्चालन नगर्ने व्यवस्था हुन जरुरी छ ।

स्थानीय तह

जिल्ला समन्वय समिति आवश्यक छैन । यसलाई खारेज गर्नुपर्दछ । दलीय भागबन्डा लगायतका नाममा महिलाहरूलाई वञ्चित गर्ने स्थितिको अन्त्यका लागि प्रमुख र उपप्रमुखमध्ये एकजना महिला हुनैपर्ने कानुनी व्यवस्था गरिनुपर्दछ । स्थानीयदेखि संघीय तहसम्मका निर्वाचित जनप्रतिनिधिहरूलाई बैठक भत्ताबाहेक अन्य सुविधा नदिने व्यवस्था गरिनुपर्दछ ।

कर्मचारी जस्तो जनप्रतिनिधिहरू सधैं कार्यालय जान जरुरी छैन । बैठकको समयमा जाने र अन्य समयमा आफ्नो पेसा व्यवसायमा नै लाग्ने परिपाटी बसाल्न जरुरी छ । वडालाई अधिकारसम्पन्न पारिनुपर्दछ । पालिकाले बजेट तर्जुमा गर्दा वडाहरूको सामाजिक, आर्थिक पूर्वाधार विकासका आधारमा न्यायोचित वितरण गर्नुपर्दछ । सिंहदरबारको अधिकार पालिकामा पुग्यो तर नागरिकसम्म पुगेन भन्ने आम गुनासो छ । यसमा सुधार जरुरी छ ।

पालिकामा सवारी साधनका नाममा ठूलो खर्च छ । प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतका नाममा अलग–अलग गाडी राख्ने चलन बन्द गरिनुपर्दछ । सवारी साधन भएपछि काम विशेषका आधारमा प्रयोग गर्ने व्यवस्था मिलाउनुपर्दछ । सेवाभावबाट जनप्रतिनिधि निर्वाचित हुने, सवारी साधनलगायत अतिरिक्त सुविधा नलिने व्यवस्था भएमा जनप्रतिनिधिप्रति नागरिकको भरोसा बढ्छ ।

अन्त्यमा, शासनमा पारदर्शिता, विधिको शासन, स्रोत र साधनको न्यायोचित वितरण, संविधान अनुकूल वातावरण र नागरिक सर्वोच्चतामार्फत मात्र संघीय लोकतान्त्रिक शासन व्यवस्थालाई दिगो र प्रभावकारी बनाउन सकिन्छ । कार्की सरकारको मुख्य जिम्मेवारी निर्वाचनमार्फत चुँडिएको संविधानको धागोलाई जोड्नु हो । यसका लागि सबै नेपाली नागरिकको सहयोग र सद्भाव जरुरी छ ।कान्तिपुर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
युरोपेली युनियनको नविन प्रतिवन्दको प्रतिक्रीयामा रूसद्वारा ईयु अधिकारीलाई रूसी क्षेत्र प्रवेश प्रति वन्द जारी
२०८३ बैसाख १५, मंगलबार
संसद् स्थगित गर्दै अध्यादेश सिफारिस गर्ने सरकारी कदमप्रति कांग्रेसको आपत्ति
२०८३ बैसाख १५, मंगलबार
फेसबुक मोनिटाइजेसनमा नेपालीलाई सशक्त बनाउँदै एमडिआर टिम
२०८३ बैसाख १५, मंगलबार
कानुन विपरीतका सवारी साधन फिर्ता लिने प्रक्रिया सुरु
२०८३ बैसाख १५, मंगलबार
युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
२०८३ बैसाख १५, मंगलबार
कर्णाली प्रदेशसभाको आठौँ अधिवेशन आह्वानका लागि सिफारिस
२०८३ बैसाख १५, मंगलबार
गर्मी बढेसँगै शुक्लाफाँटामा सुक्न थाले ताल
२०८३ बैसाख १५, मंगलबार