बैसाख १५, २०८३ मंगलबार April 28, 2026

कांग्रेसको अबको मार्गचित्र : गेजा शर्मा वाग्ले

कांग्रेसले संगठन, सदस्यता प्रणाली, आन्तरिक लोकतन्त्र र नीति–नेतृत्वमा व्यापक सुधार नगरे पुनर्जीवन सम्भव छैन भन्ने निष्कर्षमा बहस केन्द्रित भएको छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नियमित वा विशेष महाधिवेशन गर्न तीव्र दबाब बढिरहेको पृष्ठभूमिमा सभापति शेरबहादुर देउवाले कार्यकारी भूमिकाबाट अघोषित रूपमा संन्यास लिएर उपसभापति पूर्णबहादुर खड्कालाई जिम्मेवारी सुम्पिएपछि कांग्रेसमा नयाँ अध्याय सुरु भएको छ । धारावाहिक विवाद, असहमति र शक्तिसंघर्षको पर्याय हुँदै आएको कांग्रेसमा देउवाले जारी केन्द्रीय समितिको बैठकमा आसन्न महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्ने घोषणा गरेपछि भावी नीति र नेतृत्वका बारेमा गम्भीर बहस प्रारम्भ भएको छ ।

जेन–जी विद्रोहपछि विकसित भएको नयाँ राजनीतिक परिस्थितिमा देउवाको घोषणाले महाधिवेशन र नेतृत्व हस्तान्तरणका दृष्टिले सापेक्षिक रूपमा सकारात्मक वातावरण सिर्जना भएको देखिन्छ । यस्तो परिवर्तित परिदृश्यमा धुमिल भए पनि क्षितिजमा आशाको संकेत देखिएको छ । त्यसैले नीति र नेतृत्व दुवै दृष्टिले संक्रमणकालबाट गुज्रिरहेको कांग्रेसका लागि आसन्न महाधिवेशन अवसर हो भने कार्यवाहक सभापति खड्का र कांग्रेसजनहरूका लागि अग्निपरीक्षा ।

करिब ३० प्रतिशत मध्यम वर्ग तथा लोकतन्त्र पक्षधर बौद्धिक वर्गको बाहुल्य भएको देशमा लोकतन्त्रवादी पार्टीको सैद्धान्तिक र वर्गीय आधार कमजोर छैन । तर सैद्धान्तिक र वर्गीय धरातल सापेक्षिक रूपमा बलियो भएको लोकतन्त्रवादी कांग्रेस किन कमजोर र अलोकप्रिय हुँदै छ ?

कांग्रेसको नीति असान्दर्भिक भएको हो कि नेतृत्वको असफलता ? के देउवा युगको अन्त्य भएपछि अब कांग्रेसले पुनर्जीवन पाउने सम्भावना छ ? कांग्रेसको अबको मार्गचित्र के हो ? आसन्न महाधिवेशनबाट कस्तो नेतृत्व स्थापित होला र कस्तो नीति अंगीकार गर्ला ? महाधिवेशनको पूर्वसन्ध्यामा यस्ता प्रश्न उठ्नु र बहस हुनु अस्वाभाविक भएन । यदि कांग्रेसलाई पुनर्गठन र रूपान्तरण गर्ने हो भने उक्त प्रश्नबारे वस्तुनिष्ठ मीमांसा गरी अबको मार्गचित्र तय गर्नु अपरिहार्य छ ।

मंसिरमा अनिवार्य महाधिवेशन

कांग्रेसका नेता–कार्यकर्ताले मंसिरमा नै नियमित १५औं महाधिवेशनको माग गर्दै आएका छन्, जुन स्वाभाविक हो । महामन्त्री गगन थापाले मंसिर महिनाभित्रै १५औं महाधिवेशन गर्न प्रस्ताव गर्दै केन्द्रीय समितिको कार्यकाल थप गर्ने प्रस्ताव पेस नगर्ने सार्वजनिक घोषणा गरेका छन् । यदि समयाभाव र प्राविधिक कारणले नियमित महाधिवेशन गर्न सम्भव नभए मंसिरभित्रै विशेष महाधिवेशन गर्ने विकल्प पनि पेस गरेका छन् ।

आइतबार करिब ५३ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्दै कार्यवाहक सभापति खड्कालाई लिखित हस्ताक्षर पेस गरेका छन् । मंसिरमा नै एमालेले नियमित र माओवादीले विशेष महाधिवेशन गर्दै छन् भने कांग्रेसको महाधिवेशन कसरी सम्भव छैन ? त्यसैले यदि, तर, किन्तु, परन्तु नभनी कांग्रेसको पनि मंसिर महिनाभित्रै महाधिवेशन गर्नुपर्छ । यो नै लोकतान्त्रिक, विधिसम्मत र जनता तथा कार्यकर्ताप्रति उत्तरदायी प्रक्रिया हो । त्यसैले जारी केन्द्रीय समितिको बैठकले क्यालेन्डरसहित महाधिवेशनको मिति घोषणा गर्नुपर्छ ।

देउवाले स्वास्थ्यको कारणले सक्रिय राजनीतिबाट संन्यास लिएर कार्यवाहकको जिम्मेवारी सुम्पिइसकेको तथा आगामी मंसिरमा उनको कार्यकाल पनि सकिने भएकाले राजनीतिक र प्राविधिक दुवै कारणले मंसिरमा नै महाधिवेशन गर्नु अपरिहार्य देखिएको छ । अर्कोतिर जेन–जी विद्रोहपछि राष्ट्रिय राजनीतिमा विशेष र असाधारण परिस्थिति सिर्जना भएको छ । २००७ देखि भदौ २२ गतेसम्मको प्रमुख राजनीतिक शक्ति किन, कसरी र के कारणले किनारामा पुग्यो ? स्थापना भएदेखि पहिलो पटक कांग्रेसको सहभागिताबिना आन्दोलन भएको छ र उक्त आन्दोलनले कांग्रेसलाई विस्थापित गरिदिएको छ । यस्तो अवस्था कसरी सिर्जना भयो ? पार्टी नेतृत्वको कमजोरी र अलोकप्रियता हो कि सरकारको असफलता हो ? यो नीतिगत असफलता हो कि रणनीतिक र कार्यनीतिक ?

यस्तो विशेष र असाधारण अवस्थामा यी समग्र राजनीतिक परिवेश र प्रश्नका बारेमा छलफल र बहस गरी निष्कर्षमा पुग्ने सर्वोच्च निकाय महाधिवेशन नै हो । यी विषयमा गम्भीर आत्मसमीक्षा र आत्मचिन्तन गरी विगतका गल्ती र कमजोरीप्रति क्षमायाचना गर्दै आत्मालोचनासमेत गर्नु आवश्यक छ । त्यसैले कुनै पनि बहानामा महाधिवेशनको विकल्प छैन । तर यस्तो अपरिहार्य परिस्थितिका बाबजुद पनि केन्द्रीय समितिले मंसिरभित्रै महाधिवेशन गर्ने निर्णय गरेन भने महाधिवेशन प्रतिनिधिहरूको विधानसम्मत माग गरिएको विशेष महाधिवेशन गर्नुभन्दा अर्को श्रेष्ठ विकल्प छैन । उक्त परिदृश्यमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन गरी पार्टी पुनर्गठन, रूपान्तरण र शुद्धीकरण गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ ।

पुस्तान्तरणसहितको भिजनरी नेतृत्व

जेन–जी विद्रोहको मागमध्ये पार्टीमा पुस्तान्तरणसहितको नयाँ नेतृत्व प्रमुख हो । अहिले जनता र जेन–जी पुस्ताको भावनाअनुसार पुस्तान्तरणसहितको नेतृत्व विकास र हस्तान्तरण गर्नुपर्ने समय हो । तर कांग्रेसमा नेतृत्व विकास र हस्तान्तरणको प्रक्रिया अत्यन्त जटिल, विवादित र पेचिलो हुँदै आएको छ ।

यही कारणले विगतमा विवाद मात्रै भएको छैन, पार्टी नै विभाजनसमेत भएको थियो । अहिले केन्द्रदेखि वडासम्म नेतृत्व विकास र हस्तान्तरणको दुर्लभ संघार खुलेको छ । यसले कांग्रेसलाई पुनर्जीवन दिने सम्भावना देखिएको छ । भिजन, आत्मविश्वास र इच्छाशक्ति भएको नेतृत्वका लागि संकट भनेको अर्को अर्थमा अवसर पनि हो । अहिले कांग्रेसका सामु चुनौती छन् । तर ती चुनौतीलाई पनि अवसरमा रूपान्तरण गर्न सक्ने दृष्टिकोण र आत्मविश्वास भएको नेतृत्व नै आजको आवश्यकता हो ।

केवल सभापति मात्रै होइन, विगत लामो समयदेखि नेतृत्व पंक्तिमा रहेका तथा पटक–पटक अवसर पाएर पनि डेलिभरी गर्न नसकी अलोकप्रिय भएका कतिपय दोस्रो र तेस्रो पुस्ताका नेतालाई पनि आसन्न महाधिवेशनबाट अनिवार्य बिदाइ गर्नु आवश्यक छ । विगतमा जस्तो वरिष्ठता, मर्यादाक्रम र वंशजका आधारमा होइन, भिजन, छवि, लोकप्रियताका आधारमा पुस्तान्तरणसहितको नेतृत्व विकास र हस्तान्तरण अहिलेको आवश्यकता हो । उक्त निष्कर्ष कुनै पुस्ता विशेषप्रतिको आग्रह वा पूर्वाग्रह होइन, नेपाली जनता र युवा पुस्ताको भावनाअनुसार नेतृत्वको न्यूनतम योग्यता र मापदण्ड निर्धारण गरिएको मात्रै हो । अहिलेका जटिल चुनौती सामना गरी देश, जनता र पार्टीको नेतृत्व गर्न सक्ने स्वच्छ छवि भएको भिजनरी, संघर्षशील र ऊर्जाशील नेतृत्व कांग्रेस पुनर्जीवनको पूर्वसर्त हो ।

अहिले पद होइन, पर्फर्मेन्सको युग हो । सरकार र पार्टी दुवैको नेतृत्वले पर्फर्मेन्स गर्नुपर्छ । गौरवशाली र संघर्षपूर्ण इतिहास मात्रै पर्याप्त छैन । सुखद भविष्यको प्रत्याभूति गर्ने पार्टी र नेतृत्व जनताको चाहना हो । त्यसैले अतीतमुखी होइन, भविष्यमुखी पार्टी र नेतृत्व अबको आवश्यकता हो ।

वास्तवमा जनताले शासक होइन, सेवक खोजेका छन्, शासन होइन, सुशासन रोजेका छन् र सरकार होइन, डेलिभरी चाहेका छन् । जुन नेतृत्वप्रति जनताको विश्वास हुँदैन, त्यो नेतृत्वले न पार्टी सञ्चालन गर्न सक्छ, न राज्य सञ्चालन गर्न सक्छ । त्यस्तो नेतृत्वको आवश्यकता पनि छैन, भविष्य पनि छैन । अहिलेको असफलता पार्टीको होइन, नेतृत्वको असफलता भएको वास्तविकतालाई सबै कांग्रेसजनहरूले आत्मसात् गर्नु आवश्यक छ ।

जेन–जी विद्रोहपछि आत्मसमीक्षा, आत्मचिन्तन र आत्मालोचना गरी क्षमायाचनासहित महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले कांग्रेस पुनर्गठन, रूपान्तरण र शुद्धीकरणको पक्षमा दृढतापूर्वक विचार राख्दै आएका छन् । गगन–विश्वको विचार, प्रस्ताव र पहलले कांग्रेसजन मात्रै होइन, जनता र युवा पुस्तामा समेत आशाको सन्देश प्रवाह गरेको छ । त्यसैले गगन–विश्वले यस पटक पार्टीमा सशक्त हस्तक्षेप गरी आफ्नो प्रस्ताव र पहललाई निर्णायक बिन्दुमा पुर्‍याउन नेतृत्वदायी भूमिका निर्वाह गर्नु आवश्यक छ । यस पटक उनीहरूलाई विलम्ब गर्ने छुट पनि छैन, विगतमा जस्तो असफल हुने छुट पनि छैन ।

सिद्धान्तको पुनः व्याख्या गरी समयसापेक्ष नीति

केवल नयाँ नेतृत्व मात्रै होइन, आसन्न महाधिवेशनबाट नयाँ युगका लागि नयाँ भिजन र नीति पनि अंगीकार गर्नु आवश्यक छ । राष्ट्रियता, लोकतन्त्र र समाजवाद कांग्रेसका मार्गनिर्देशक सिद्धान्त हुन् । बीसौं शताब्दीको अन्त्यसम्म कुनै पनि पार्टी निश्चित राजनीतिक दर्शन, सिद्धान्त र वर्गीय आधारमा निश्चित सिद्धान्त र विचारका लागि स्थापित हुने प्रवृत्ति थियो । नेपालका कांग्रेस र कम्युनिस्ट मात्रै होइन, अमेरिकाका डेमोक्रेटिक र रिपब्लिकन, बेलायतका कन्जरभेटिभ र लेबर, भारतका बीजेपी र कांग्रेसलगायतका पार्टी पनि सोही उद्देश्य र प्रक्रियाबाट स्थापित भएका थिए ।

तर एक्काइसौं शताब्दीको पाँचौं औद्योगिक क्रान्तिको युगमा परम्परागत वाद वा विचारधारा विशेषका आधारमा मात्रै पार्टी निर्माण हुने शास्त्रीय पद्धति तथा प्रवृत्ति परिवर्तन भएको छ । उन्नाइसौं र बीसौं शताब्दीभन्दा एक्काइसौं शताब्दीका समस्या जटिल र चुनौतीपूर्ण छन् । आर्थिक असमानता, जलवायु परिवर्तन, तापक्रम वृद्धि, दिगो तथा हरित विकास, पर्यावरणीय असन्तुलन, बेरोजगारी, आर्टिफिसियल इन्टेलिजेन्स, गिग अर्थतन्त्र, डिजिटलाइजेसन, आप्रवासनजस्ता नयाँ समस्या र चुनौती सिर्जना भएका छन् । शास्त्रीय सिद्धान्त र नीतिले यी समस्या समाधान हुने सम्भावना छैन ।

अहिले जनताका लागि परम्परागत दर्शन, वाद र सिद्धान्तभन्दा विचार, नीति र एजेन्डा प्रमुख प्राथमिकता हुन् । तर बहुप्रचलित जार्गन समाजवाद, उदारवाद, मार्क्सवाद, साम्यवाद, जनवादजस्ता ठूला, कोरा र अमूर्त वादप्रति जनताको चासो पनि छैन र प्राथमिकता होइनन् । प्रत्यक्ष र तत्काल अनुभूत गर्ने आर्थिक विकास, विधिको शासन, सुशासन, भ्रष्टाचार नियन्त्रण, सर्वसुलभ सेवा प्रवाह, गुणस्तरीय सार्वजनिक शिक्षा, स्वास्थ्य, यातायात, रोजगार, पारदर्शिता, उत्तरदायित्व जनताका प्राथमिकता हुन् ।

अहिले जनताले शास्त्र र सिद्धान्तभन्दा पनि जनमुखी नीति र डेलिभरी खोजिरहेका छन् । यदि देश र जनताका समस्या समाधान गर्ने नीति र कार्यक्रममा रूपान्तरित नभए कोरा सिद्धान्त र अमूर्त विचारधाराको औचित्य छैन । त्यसैले शास्त्रीय सिद्धान्तवादीभन्दा गतिशील विचार र नीतिप्रधान कांग्रेस आजको आवश्यकता हो । यसको निष्कर्ष सिद्धान्त र विचारधाराको राजनीति समाप्त भएको होइन, डेलिभरीको युग प्रारम्भ भएको मात्रै हो ।

हालसम्म अनुसरण गर्दै आएका सिद्धान्त, विचार र नीतिका बारेमा गम्भीर र वस्तुनिष्ठ समीक्षा गरी समुन्नत नेपालको स्पष्ट मार्गचित्र पारित गर्नु महाधिवेशनको प्रमुख एजेन्डा हो । कांग्रेसले परिकल्पना गरेको समुन्नत र समन्यायिक समाज निर्माण गर्न आफ्ना विचार, सिद्धान्त र नीतिहरू समयानुकूल परिमार्जन, व्याख्या र पुनः व्याख्या गर्नु आवश्यक छ । तर औपचारिकताका लागि केवल कागजी दस्ताबेज मात्रै होइन, समुन्नत नेपाल र नयाँ कांग्रेस बनाउने ठोस प्रतिबद्धतासहित संकल्प गर्नुपर्छ । होइन भने जनताले कांग्रेसलाई विश्वास गर्ने आधार नभएको निष्कर्ष कांग्रेसजनहरूलाई अप्रिय र कठोर लागे पनि वास्तविकता यही नै हो ।

पार्टी प्रणाली पुनर्गठन र रूपान्तरण

कांग्रेसको पुनर्गठन र रूपान्तरण सबैभन्दा महत्त्वपूर्ण तर जटिल एजेन्डा हो । कांग्रेस संगठन प्रधानभन्दा पनि नेताप्रधान पार्टी भएकाले विधान र पार्टी प्रणाली नै नेतामुखी छ । पार्टी संरचना अत्यन्त भद्दा र अनावश्यक छन् । केन्द्रदेखि गाउँसम्मका संरचनाहरू गतिशील र कार्यमूलक छैनन् ।

कांग्रेसका नेता–कार्यकर्ताले पनि सिद्धान्तलाई भन्दा सत्तालाई र संस्थालाई भन्दा गुटलाई विशेष प्राथमिकता दिँदै आएको देखिन्छ । कांग्रेसका कार्यकर्ताहरू पनि जनतामुखी होइन, नेतामुखी छन् । उनीहरू जनताको होइन, नेताहरूको घरदैलो गर्छन् । त्यसैले कांग्रेसका नेतादेखि कार्यकर्तासम्म जनताबाट विमुख भएका छन् । पार्टीको आन्तरिक लोकतन्त्र कमजोर छ । निर्णय प्रक्रिया पनि विधिसम्मत, सहभागितामूलक र समावेशी हुँदैनन् । त्यसैले अधिकांश निर्णयहरू विवादित हुँदै आएका छन् ।

विद्यमान पार्टी प्रणालीका आधारमा कांग्रेस अनुप्राणित हुने सम्भावना छैन । यदि कांग्रेसलाई पुनर्गठन गर्ने हो भने पार्टी प्रणाली, संरचना र सदस्यता प्रणालीमा मौलिक र व्यापक सुधार गर्नुपर्छ । लोकतन्त्रवादी पार्टीको आधारभूत सिद्धान्त र चरित्रअनुसार जवाफदेही र उत्तरदायी नेतृत्व प्रणाली विकसित र संस्थागत गर्नुपर्छ । अब नेताप्रधान होइन, नीतिप्रधान पार्टीको रूपमा रूपान्तरण गर्नुपर्छ । पार्टीका कार्यकर्ता नेताप्रति बफादार होइन, नेतादेखि कार्यकर्तासम्म सबै जनताप्रति उत्तरदायी हुने प्रणाली विकसित गर्नुपर्छ । सदस्यता प्रणाली पनि विवादित र नियन्त्रणमुखी छ ।

पार्टीको भविष्य, जनाधार र संगठन विस्तारको दृष्टिले होइन, गुटगत उद्देश्य, रणनीति र गणितीय जोड–घटाउका आधारमा सदस्यता वितरण गरिन्छ । तर लोकतन्त्रवादी पार्टीले संगठन र सदस्यता प्रणाली पनि लोकतान्त्रिक र उदार बनाउनुपर्छ । क्रियाशील र साधारण गरी दुई सदस्यता प्रणाली अन्त्य गरी एकल सदस्यता प्रणाली लागू गर्नुपर्छ । यसैगरी आसन्न महाधिवेशनबाटै सबैभन्दा बढी विवादित हुँदै आएको टिकट वितरण प्रणाली आमूल परिवर्तन गरी प्राइमरी निर्वाचनबाटै टिकट वितरण गरिने नयाँ प्रणाली विकसित गर्नु श्रेयस्कर हुनेछ ।

यसैगरी बौद्धिक, व्यावसायिक र आफ्नो क्षेत्रमा स्थापित विज्ञ तथा विशिष्ट व्यक्तित्वलाई कांग्रेसमा न्यायोचित स्थान र भूमिकाको व्यवस्था छैन । त्यसैले कांग्रेसको राजनीतिमा उनीहरूको आकर्षण पनि छैन । कांग्रेसजस्तो लोकतन्त्रवादी पार्टीलाई बौद्धिक, व्यावसायिक तथा विज्ञहरूले सकारात्मक योगदान गर्न सक्ने भएकाले उनीहरूलाई ‘ल्याटरल इन्ट्री’ (विशेष प्रक्रियामार्फत पार्टीमा उचित स्थान र भूमिका सुनिश्चित गर्नु) प्रावधान लागू गर्नु आवश्यक छ । किनभने जहिलेसम्म कांग्रेस सम्पूर्ण लोकतन्त्रवादीहरूको साझा मञ्च बन्न सक्दैन, तहिलेसम्म पुनर्जीवन पाउन सक्दैन ।

महाधिवेशनको पूर्वसन्ध्यामा स्थायी गुट विघटन भई नयाँ ध्रुवीकरण र समीकरण विकसित भएको देखिन्छ, जुन पार्टी पुनर्गठन र रूपान्तरणका दृष्टिले सकारात्मक हो । अब कार्यकर्तामा आधारित पार्टी, पूर्णकालीन कार्यकर्ता तथा आजीवन नेतृत्व पंक्तिमा रहने अध्याय अन्त्य भइसकेको छ । पार्टी र सरकारको नेतृत्वका लागि दुई कार्यकाल र ६५ देखि ७० वर्षमा अनिवार्य अवकाश वा कार्यकारी भूमिकाका लागि स्वतः अयोग्य हुने संवैधानिक प्रावधान राख्नु उपयुक्त हुनेछ ।

यसैगरी युवा, विद्यार्थी, महिला, मजदुर, आदिवासी–जनजाति, दलितबाहेकका भ्रातृ संस्थाहरूका बारेमा समेत पुनर्विचार गरी खारेज गर्नुपर्छ । कर्मचारी, प्राध्यापक, शिक्षक, चिकित्सक, वकिल, इन्जिनियर, पत्रकारिताजस्ता गैरराजनीतिक र व्यावसायिक क्षेत्रका शुभेच्छुक संस्था खारेज गर्नुपर्छ । यसरी संगठन प्रणालीलाई नै पुनर्गठन नगरी रूपान्तरण सम्भव छैन । त्यसैले यस्तो समग्र तथा व्यापक पुनर्गठन र रूपान्तरण प्रक्रियालाई वैधानिक रूपमै सुनिश्चित गर्न आसन्न महाधिवेशनबाटै विधान पनि संशोधन गर्नुपर्छ । आसन्न महाधिवेशनका यी समग्र नीति, नेतृत्व र एजेन्डाका बारेमा महाधिवेशनको सत्रमा मात्रै होइन, अहिलेदेखि नै घनीभूत छलफल, बहस र विमर्श गर्नु उपयुक्त हुनेछ ।

नयाँ नीति र नेतृत्वका साथ निर्वाचनमा सहभागी

यसरी महाधिवेशनमार्फत पार्टी पुनर्गठन गरी नयाँ नेतृत्व स्थापित गरेपछि कांग्रेस बिनासर्त प्रतिनिधिसभाको चुनावमा सहभागी हुनुपर्छ । ऐतिहासिक जनआन्दोलनमार्फत स्थापित भएको लोकतान्त्रिक गणतन्त्र र संविधानसभामार्फत बनेको संविधानको रक्षाका लागि निर्वाचनभन्दा अर्को विकल्प छैन ।

महाधिवेशनबाट अंगीकार गरिएको नयाँ नीति र सिद्धान्तका आधारमा जनभावनाअनुसार नयाँ घोषणापत्रसहित जनतासमक्ष जानुपर्छ । फागुन २१ को निर्वाचनका लागि सकारात्मक राजनीतिक वातावरण सिर्जना गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेर संविधानको संरक्षण गर्नुपर्ने दायित्व पनि लोकतन्त्रवादी पार्टी भएको नाताले कांग्रेसकै काँधमा आएको छ ।

यदि निर्धारित मितिमा नै निर्वाचन भएन भने थप गम्भीर संवैधानिक संकट सिर्जना हुने कटु वास्तविकतालाई कांग्रेसले गम्भीरतापूर्वक आत्मसात् गर्नु आवश्यक छ । होइन भने पुनः अर्को कल्पनातीत राजनीतिक दुर्घटनासमेत हुन सक्नेछ । कान्तिपुर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
युरोपेली युनियनको नविन प्रतिवन्दको प्रतिक्रीयामा रूसद्वारा ईयु अधिकारीलाई रूसी क्षेत्र प्रवेश प्रति वन्द जारी
२०८३ बैसाख १५, मंगलबार
संसद् स्थगित गर्दै अध्यादेश सिफारिस गर्ने सरकारी कदमप्रति कांग्रेसको आपत्ति
२०८३ बैसाख १५, मंगलबार
फेसबुक मोनिटाइजेसनमा नेपालीलाई सशक्त बनाउँदै एमडिआर टिम
२०८३ बैसाख १५, मंगलबार
कानुन विपरीतका सवारी साधन फिर्ता लिने प्रक्रिया सुरु
२०८३ बैसाख १५, मंगलबार
युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
२०८३ बैसाख १५, मंगलबार
कर्णाली प्रदेशसभाको आठौँ अधिवेशन आह्वानका लागि सिफारिस
२०८३ बैसाख १५, मंगलबार
गर्मी बढेसँगै शुक्लाफाँटामा सुक्न थाले ताल
२०८३ बैसाख १५, मंगलबार