नियमित वा विशेष महाधिवेशन गर्न तीव्र दबाब बढिरहेको पृष्ठभूमिमा सभापति शेरबहादुर देउवाले कार्यकारी भूमिकाबाट अघोषित रूपमा संन्यास लिएर उपसभापति पूर्णबहादुर खड्कालाई जिम्मेवारी सुम्पिएपछि कांग्रेसमा नयाँ अध्याय सुरु भएको छ । धारावाहिक विवाद, असहमति र शक्तिसंघर्षको पर्याय हुँदै आएको कांग्रेसमा देउवाले जारी केन्द्रीय समितिको बैठकमा आसन्न महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्ने घोषणा गरेपछि भावी नीति र नेतृत्वका बारेमा गम्भीर बहस प्रारम्भ भएको छ ।
जेन–जी विद्रोहपछि विकसित भएको नयाँ राजनीतिक परिस्थितिमा देउवाको घोषणाले महाधिवेशन र नेतृत्व हस्तान्तरणका दृष्टिले सापेक्षिक रूपमा सकारात्मक वातावरण सिर्जना भएको देखिन्छ । यस्तो परिवर्तित परिदृश्यमा धुमिल भए पनि क्षितिजमा आशाको संकेत देखिएको छ । त्यसैले नीति र नेतृत्व दुवै दृष्टिले संक्रमणकालबाट गुज्रिरहेको कांग्रेसका लागि आसन्न महाधिवेशन अवसर हो भने कार्यवाहक सभापति खड्का र कांग्रेसजनहरूका लागि अग्निपरीक्षा ।
करिब ३० प्रतिशत मध्यम वर्ग तथा लोकतन्त्र पक्षधर बौद्धिक वर्गको बाहुल्य भएको देशमा लोकतन्त्रवादी पार्टीको सैद्धान्तिक र वर्गीय आधार कमजोर छैन । तर सैद्धान्तिक र वर्गीय धरातल सापेक्षिक रूपमा बलियो भएको लोकतन्त्रवादी कांग्रेस किन कमजोर र अलोकप्रिय हुँदै छ ?
कांग्रेसको नीति असान्दर्भिक भएको हो कि नेतृत्वको असफलता ? के देउवा युगको अन्त्य भएपछि अब कांग्रेसले पुनर्जीवन पाउने सम्भावना छ ? कांग्रेसको अबको मार्गचित्र के हो ? आसन्न महाधिवेशनबाट कस्तो नेतृत्व स्थापित होला र कस्तो नीति अंगीकार गर्ला ? महाधिवेशनको पूर्वसन्ध्यामा यस्ता प्रश्न उठ्नु र बहस हुनु अस्वाभाविक भएन । यदि कांग्रेसलाई पुनर्गठन र रूपान्तरण गर्ने हो भने उक्त प्रश्नबारे वस्तुनिष्ठ मीमांसा गरी अबको मार्गचित्र तय गर्नु अपरिहार्य छ ।
मंसिरमा अनिवार्य महाधिवेशन
कांग्रेसका नेता–कार्यकर्ताले मंसिरमा नै नियमित १५औं महाधिवेशनको माग गर्दै आएका छन्, जुन स्वाभाविक हो । महामन्त्री गगन थापाले मंसिर महिनाभित्रै १५औं महाधिवेशन गर्न प्रस्ताव गर्दै केन्द्रीय समितिको कार्यकाल थप गर्ने प्रस्ताव पेस नगर्ने सार्वजनिक घोषणा गरेका छन् । यदि समयाभाव र प्राविधिक कारणले नियमित महाधिवेशन गर्न सम्भव नभए मंसिरभित्रै विशेष महाधिवेशन गर्ने विकल्प पनि पेस गरेका छन् ।
आइतबार करिब ५३ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्दै कार्यवाहक सभापति खड्कालाई लिखित हस्ताक्षर पेस गरेका छन् । मंसिरमा नै एमालेले नियमित र माओवादीले विशेष महाधिवेशन गर्दै छन् भने कांग्रेसको महाधिवेशन कसरी सम्भव छैन ? त्यसैले यदि, तर, किन्तु, परन्तु नभनी कांग्रेसको पनि मंसिर महिनाभित्रै महाधिवेशन गर्नुपर्छ । यो नै लोकतान्त्रिक, विधिसम्मत र जनता तथा कार्यकर्ताप्रति उत्तरदायी प्रक्रिया हो । त्यसैले जारी केन्द्रीय समितिको बैठकले क्यालेन्डरसहित महाधिवेशनको मिति घोषणा गर्नुपर्छ ।
देउवाले स्वास्थ्यको कारणले सक्रिय राजनीतिबाट संन्यास लिएर कार्यवाहकको जिम्मेवारी सुम्पिइसकेको तथा आगामी मंसिरमा उनको कार्यकाल पनि सकिने भएकाले राजनीतिक र प्राविधिक दुवै कारणले मंसिरमा नै महाधिवेशन गर्नु अपरिहार्य देखिएको छ । अर्कोतिर जेन–जी विद्रोहपछि राष्ट्रिय राजनीतिमा विशेष र असाधारण परिस्थिति सिर्जना भएको छ । २००७ देखि भदौ २२ गतेसम्मको प्रमुख राजनीतिक शक्ति किन, कसरी र के कारणले किनारामा पुग्यो ? स्थापना भएदेखि पहिलो पटक कांग्रेसको सहभागिताबिना आन्दोलन भएको छ र उक्त आन्दोलनले कांग्रेसलाई विस्थापित गरिदिएको छ । यस्तो अवस्था कसरी सिर्जना भयो ? पार्टी नेतृत्वको कमजोरी र अलोकप्रियता हो कि सरकारको असफलता हो ? यो नीतिगत असफलता हो कि रणनीतिक र कार्यनीतिक ?
यस्तो विशेष र असाधारण अवस्थामा यी समग्र राजनीतिक परिवेश र प्रश्नका बारेमा छलफल र बहस गरी निष्कर्षमा पुग्ने सर्वोच्च निकाय महाधिवेशन नै हो । यी विषयमा गम्भीर आत्मसमीक्षा र आत्मचिन्तन गरी विगतका गल्ती र कमजोरीप्रति क्षमायाचना गर्दै आत्मालोचनासमेत गर्नु आवश्यक छ । त्यसैले कुनै पनि बहानामा महाधिवेशनको विकल्प छैन । तर यस्तो अपरिहार्य परिस्थितिका बाबजुद पनि केन्द्रीय समितिले मंसिरभित्रै महाधिवेशन गर्ने निर्णय गरेन भने महाधिवेशन प्रतिनिधिहरूको विधानसम्मत माग गरिएको विशेष महाधिवेशन गर्नुभन्दा अर्को श्रेष्ठ विकल्प छैन । उक्त परिदृश्यमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन गरी पार्टी पुनर्गठन, रूपान्तरण र शुद्धीकरण गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ ।
पुस्तान्तरणसहितको भिजनरी नेतृत्व
जेन–जी विद्रोहको मागमध्ये पार्टीमा पुस्तान्तरणसहितको नयाँ नेतृत्व प्रमुख हो । अहिले जनता र जेन–जी पुस्ताको भावनाअनुसार पुस्तान्तरणसहितको नेतृत्व विकास र हस्तान्तरण गर्नुपर्ने समय हो । तर कांग्रेसमा नेतृत्व विकास र हस्तान्तरणको प्रक्रिया अत्यन्त जटिल, विवादित र पेचिलो हुँदै आएको छ ।
यही कारणले विगतमा विवाद मात्रै भएको छैन, पार्टी नै विभाजनसमेत भएको थियो । अहिले केन्द्रदेखि वडासम्म नेतृत्व विकास र हस्तान्तरणको दुर्लभ संघार खुलेको छ । यसले कांग्रेसलाई पुनर्जीवन दिने सम्भावना देखिएको छ । भिजन, आत्मविश्वास र इच्छाशक्ति भएको नेतृत्वका लागि संकट भनेको अर्को अर्थमा अवसर पनि हो । अहिले कांग्रेसका सामु चुनौती छन् । तर ती चुनौतीलाई पनि अवसरमा रूपान्तरण गर्न सक्ने दृष्टिकोण र आत्मविश्वास भएको नेतृत्व नै आजको आवश्यकता हो ।
केवल सभापति मात्रै होइन, विगत लामो समयदेखि नेतृत्व पंक्तिमा रहेका तथा पटक–पटक अवसर पाएर पनि डेलिभरी गर्न नसकी अलोकप्रिय भएका कतिपय दोस्रो र तेस्रो पुस्ताका नेतालाई पनि आसन्न महाधिवेशनबाट अनिवार्य बिदाइ गर्नु आवश्यक छ । विगतमा जस्तो वरिष्ठता, मर्यादाक्रम र वंशजका आधारमा होइन, भिजन, छवि, लोकप्रियताका आधारमा पुस्तान्तरणसहितको नेतृत्व विकास र हस्तान्तरण अहिलेको आवश्यकता हो । उक्त निष्कर्ष कुनै पुस्ता विशेषप्रतिको आग्रह वा पूर्वाग्रह होइन, नेपाली जनता र युवा पुस्ताको भावनाअनुसार नेतृत्वको न्यूनतम योग्यता र मापदण्ड निर्धारण गरिएको मात्रै हो । अहिलेका जटिल चुनौती सामना गरी देश, जनता र पार्टीको नेतृत्व गर्न सक्ने स्वच्छ छवि भएको भिजनरी, संघर्षशील र ऊर्जाशील नेतृत्व कांग्रेस पुनर्जीवनको पूर्वसर्त हो ।
अहिले पद होइन, पर्फर्मेन्सको युग हो । सरकार र पार्टी दुवैको नेतृत्वले पर्फर्मेन्स गर्नुपर्छ । गौरवशाली र संघर्षपूर्ण इतिहास मात्रै पर्याप्त छैन । सुखद भविष्यको प्रत्याभूति गर्ने पार्टी र नेतृत्व जनताको चाहना हो । त्यसैले अतीतमुखी होइन, भविष्यमुखी पार्टी र नेतृत्व अबको आवश्यकता हो ।
वास्तवमा जनताले शासक होइन, सेवक खोजेका छन्, शासन होइन, सुशासन रोजेका छन् र सरकार होइन, डेलिभरी चाहेका छन् । जुन नेतृत्वप्रति जनताको विश्वास हुँदैन, त्यो नेतृत्वले न पार्टी सञ्चालन गर्न सक्छ, न राज्य सञ्चालन गर्न सक्छ । त्यस्तो नेतृत्वको आवश्यकता पनि छैन, भविष्य पनि छैन । अहिलेको असफलता पार्टीको होइन, नेतृत्वको असफलता भएको वास्तविकतालाई सबै कांग्रेसजनहरूले आत्मसात् गर्नु आवश्यक छ ।
जेन–जी विद्रोहपछि आत्मसमीक्षा, आत्मचिन्तन र आत्मालोचना गरी क्षमायाचनासहित महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले कांग्रेस पुनर्गठन, रूपान्तरण र शुद्धीकरणको पक्षमा दृढतापूर्वक विचार राख्दै आएका छन् । गगन–विश्वको विचार, प्रस्ताव र पहलले कांग्रेसजन मात्रै होइन, जनता र युवा पुस्तामा समेत आशाको सन्देश प्रवाह गरेको छ । त्यसैले गगन–विश्वले यस पटक पार्टीमा सशक्त हस्तक्षेप गरी आफ्नो प्रस्ताव र पहललाई निर्णायक बिन्दुमा पुर्याउन नेतृत्वदायी भूमिका निर्वाह गर्नु आवश्यक छ । यस पटक उनीहरूलाई विलम्ब गर्ने छुट पनि छैन, विगतमा जस्तो असफल हुने छुट पनि छैन ।
सिद्धान्तको पुनः व्याख्या गरी समयसापेक्ष नीति
केवल नयाँ नेतृत्व मात्रै होइन, आसन्न महाधिवेशनबाट नयाँ युगका लागि नयाँ भिजन र नीति पनि अंगीकार गर्नु आवश्यक छ । राष्ट्रियता, लोकतन्त्र र समाजवाद कांग्रेसका मार्गनिर्देशक सिद्धान्त हुन् । बीसौं शताब्दीको अन्त्यसम्म कुनै पनि पार्टी निश्चित राजनीतिक दर्शन, सिद्धान्त र वर्गीय आधारमा निश्चित सिद्धान्त र विचारका लागि स्थापित हुने प्रवृत्ति थियो । नेपालका कांग्रेस र कम्युनिस्ट मात्रै होइन, अमेरिकाका डेमोक्रेटिक र रिपब्लिकन, बेलायतका कन्जरभेटिभ र लेबर, भारतका बीजेपी र कांग्रेसलगायतका पार्टी पनि सोही उद्देश्य र प्रक्रियाबाट स्थापित भएका थिए ।
तर एक्काइसौं शताब्दीको पाँचौं औद्योगिक क्रान्तिको युगमा परम्परागत वाद वा विचारधारा विशेषका आधारमा मात्रै पार्टी निर्माण हुने शास्त्रीय पद्धति तथा प्रवृत्ति परिवर्तन भएको छ । उन्नाइसौं र बीसौं शताब्दीभन्दा एक्काइसौं शताब्दीका समस्या जटिल र चुनौतीपूर्ण छन् । आर्थिक असमानता, जलवायु परिवर्तन, तापक्रम वृद्धि, दिगो तथा हरित विकास, पर्यावरणीय असन्तुलन, बेरोजगारी, आर्टिफिसियल इन्टेलिजेन्स, गिग अर्थतन्त्र, डिजिटलाइजेसन, आप्रवासनजस्ता नयाँ समस्या र चुनौती सिर्जना भएका छन् । शास्त्रीय सिद्धान्त र नीतिले यी समस्या समाधान हुने सम्भावना छैन ।
अहिले जनताका लागि परम्परागत दर्शन, वाद र सिद्धान्तभन्दा विचार, नीति र एजेन्डा प्रमुख प्राथमिकता हुन् । तर बहुप्रचलित जार्गन समाजवाद, उदारवाद, मार्क्सवाद, साम्यवाद, जनवादजस्ता ठूला, कोरा र अमूर्त वादप्रति जनताको चासो पनि छैन र प्राथमिकता होइनन् । प्रत्यक्ष र तत्काल अनुभूत गर्ने आर्थिक विकास, विधिको शासन, सुशासन, भ्रष्टाचार नियन्त्रण, सर्वसुलभ सेवा प्रवाह, गुणस्तरीय सार्वजनिक शिक्षा, स्वास्थ्य, यातायात, रोजगार, पारदर्शिता, उत्तरदायित्व जनताका प्राथमिकता हुन् ।
अहिले जनताले शास्त्र र सिद्धान्तभन्दा पनि जनमुखी नीति र डेलिभरी खोजिरहेका छन् । यदि देश र जनताका समस्या समाधान गर्ने नीति र कार्यक्रममा रूपान्तरित नभए कोरा सिद्धान्त र अमूर्त विचारधाराको औचित्य छैन । त्यसैले शास्त्रीय सिद्धान्तवादीभन्दा गतिशील विचार र नीतिप्रधान कांग्रेस आजको आवश्यकता हो । यसको निष्कर्ष सिद्धान्त र विचारधाराको राजनीति समाप्त भएको होइन, डेलिभरीको युग प्रारम्भ भएको मात्रै हो ।
हालसम्म अनुसरण गर्दै आएका सिद्धान्त, विचार र नीतिका बारेमा गम्भीर र वस्तुनिष्ठ समीक्षा गरी समुन्नत नेपालको स्पष्ट मार्गचित्र पारित गर्नु महाधिवेशनको प्रमुख एजेन्डा हो । कांग्रेसले परिकल्पना गरेको समुन्नत र समन्यायिक समाज निर्माण गर्न आफ्ना विचार, सिद्धान्त र नीतिहरू समयानुकूल परिमार्जन, व्याख्या र पुनः व्याख्या गर्नु आवश्यक छ । तर औपचारिकताका लागि केवल कागजी दस्ताबेज मात्रै होइन, समुन्नत नेपाल र नयाँ कांग्रेस बनाउने ठोस प्रतिबद्धतासहित संकल्प गर्नुपर्छ । होइन भने जनताले कांग्रेसलाई विश्वास गर्ने आधार नभएको निष्कर्ष कांग्रेसजनहरूलाई अप्रिय र कठोर लागे पनि वास्तविकता यही नै हो ।
पार्टी प्रणाली पुनर्गठन र रूपान्तरण
कांग्रेसको पुनर्गठन र रूपान्तरण सबैभन्दा महत्त्वपूर्ण तर जटिल एजेन्डा हो । कांग्रेस संगठन प्रधानभन्दा पनि नेताप्रधान पार्टी भएकाले विधान र पार्टी प्रणाली नै नेतामुखी छ । पार्टी संरचना अत्यन्त भद्दा र अनावश्यक छन् । केन्द्रदेखि गाउँसम्मका संरचनाहरू गतिशील र कार्यमूलक छैनन् ।
कांग्रेसका नेता–कार्यकर्ताले पनि सिद्धान्तलाई भन्दा सत्तालाई र संस्थालाई भन्दा गुटलाई विशेष प्राथमिकता दिँदै आएको देखिन्छ । कांग्रेसका कार्यकर्ताहरू पनि जनतामुखी होइन, नेतामुखी छन् । उनीहरू जनताको होइन, नेताहरूको घरदैलो गर्छन् । त्यसैले कांग्रेसका नेतादेखि कार्यकर्तासम्म जनताबाट विमुख भएका छन् । पार्टीको आन्तरिक लोकतन्त्र कमजोर छ । निर्णय प्रक्रिया पनि विधिसम्मत, सहभागितामूलक र समावेशी हुँदैनन् । त्यसैले अधिकांश निर्णयहरू विवादित हुँदै आएका छन् ।
विद्यमान पार्टी प्रणालीका आधारमा कांग्रेस अनुप्राणित हुने सम्भावना छैन । यदि कांग्रेसलाई पुनर्गठन गर्ने हो भने पार्टी प्रणाली, संरचना र सदस्यता प्रणालीमा मौलिक र व्यापक सुधार गर्नुपर्छ । लोकतन्त्रवादी पार्टीको आधारभूत सिद्धान्त र चरित्रअनुसार जवाफदेही र उत्तरदायी नेतृत्व प्रणाली विकसित र संस्थागत गर्नुपर्छ । अब नेताप्रधान होइन, नीतिप्रधान पार्टीको रूपमा रूपान्तरण गर्नुपर्छ । पार्टीका कार्यकर्ता नेताप्रति बफादार होइन, नेतादेखि कार्यकर्तासम्म सबै जनताप्रति उत्तरदायी हुने प्रणाली विकसित गर्नुपर्छ । सदस्यता प्रणाली पनि विवादित र नियन्त्रणमुखी छ ।
पार्टीको भविष्य, जनाधार र संगठन विस्तारको दृष्टिले होइन, गुटगत उद्देश्य, रणनीति र गणितीय जोड–घटाउका आधारमा सदस्यता वितरण गरिन्छ । तर लोकतन्त्रवादी पार्टीले संगठन र सदस्यता प्रणाली पनि लोकतान्त्रिक र उदार बनाउनुपर्छ । क्रियाशील र साधारण गरी दुई सदस्यता प्रणाली अन्त्य गरी एकल सदस्यता प्रणाली लागू गर्नुपर्छ । यसैगरी आसन्न महाधिवेशनबाटै सबैभन्दा बढी विवादित हुँदै आएको टिकट वितरण प्रणाली आमूल परिवर्तन गरी प्राइमरी निर्वाचनबाटै टिकट वितरण गरिने नयाँ प्रणाली विकसित गर्नु श्रेयस्कर हुनेछ ।
यसैगरी बौद्धिक, व्यावसायिक र आफ्नो क्षेत्रमा स्थापित विज्ञ तथा विशिष्ट व्यक्तित्वलाई कांग्रेसमा न्यायोचित स्थान र भूमिकाको व्यवस्था छैन । त्यसैले कांग्रेसको राजनीतिमा उनीहरूको आकर्षण पनि छैन । कांग्रेसजस्तो लोकतन्त्रवादी पार्टीलाई बौद्धिक, व्यावसायिक तथा विज्ञहरूले सकारात्मक योगदान गर्न सक्ने भएकाले उनीहरूलाई ‘ल्याटरल इन्ट्री’ (विशेष प्रक्रियामार्फत पार्टीमा उचित स्थान र भूमिका सुनिश्चित गर्नु) प्रावधान लागू गर्नु आवश्यक छ । किनभने जहिलेसम्म कांग्रेस सम्पूर्ण लोकतन्त्रवादीहरूको साझा मञ्च बन्न सक्दैन, तहिलेसम्म पुनर्जीवन पाउन सक्दैन ।
महाधिवेशनको पूर्वसन्ध्यामा स्थायी गुट विघटन भई नयाँ ध्रुवीकरण र समीकरण विकसित भएको देखिन्छ, जुन पार्टी पुनर्गठन र रूपान्तरणका दृष्टिले सकारात्मक हो । अब कार्यकर्तामा आधारित पार्टी, पूर्णकालीन कार्यकर्ता तथा आजीवन नेतृत्व पंक्तिमा रहने अध्याय अन्त्य भइसकेको छ । पार्टी र सरकारको नेतृत्वका लागि दुई कार्यकाल र ६५ देखि ७० वर्षमा अनिवार्य अवकाश वा कार्यकारी भूमिकाका लागि स्वतः अयोग्य हुने संवैधानिक प्रावधान राख्नु उपयुक्त हुनेछ ।
यसैगरी युवा, विद्यार्थी, महिला, मजदुर, आदिवासी–जनजाति, दलितबाहेकका भ्रातृ संस्थाहरूका बारेमा समेत पुनर्विचार गरी खारेज गर्नुपर्छ । कर्मचारी, प्राध्यापक, शिक्षक, चिकित्सक, वकिल, इन्जिनियर, पत्रकारिताजस्ता गैरराजनीतिक र व्यावसायिक क्षेत्रका शुभेच्छुक संस्था खारेज गर्नुपर्छ । यसरी संगठन प्रणालीलाई नै पुनर्गठन नगरी रूपान्तरण सम्भव छैन । त्यसैले यस्तो समग्र तथा व्यापक पुनर्गठन र रूपान्तरण प्रक्रियालाई वैधानिक रूपमै सुनिश्चित गर्न आसन्न महाधिवेशनबाटै विधान पनि संशोधन गर्नुपर्छ । आसन्न महाधिवेशनका यी समग्र नीति, नेतृत्व र एजेन्डाका बारेमा महाधिवेशनको सत्रमा मात्रै होइन, अहिलेदेखि नै घनीभूत छलफल, बहस र विमर्श गर्नु उपयुक्त हुनेछ ।
नयाँ नीति र नेतृत्वका साथ निर्वाचनमा सहभागी
यसरी महाधिवेशनमार्फत पार्टी पुनर्गठन गरी नयाँ नेतृत्व स्थापित गरेपछि कांग्रेस बिनासर्त प्रतिनिधिसभाको चुनावमा सहभागी हुनुपर्छ । ऐतिहासिक जनआन्दोलनमार्फत स्थापित भएको लोकतान्त्रिक गणतन्त्र र संविधानसभामार्फत बनेको संविधानको रक्षाका लागि निर्वाचनभन्दा अर्को विकल्प छैन ।
महाधिवेशनबाट अंगीकार गरिएको नयाँ नीति र सिद्धान्तका आधारमा जनभावनाअनुसार नयाँ घोषणापत्रसहित जनतासमक्ष जानुपर्छ । फागुन २१ को निर्वाचनका लागि सकारात्मक राजनीतिक वातावरण सिर्जना गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेर संविधानको संरक्षण गर्नुपर्ने दायित्व पनि लोकतन्त्रवादी पार्टी भएको नाताले कांग्रेसकै काँधमा आएको छ ।
यदि निर्धारित मितिमा नै निर्वाचन भएन भने थप गम्भीर संवैधानिक संकट सिर्जना हुने कटु वास्तविकतालाई कांग्रेसले गम्भीरतापूर्वक आत्मसात् गर्नु आवश्यक छ । होइन भने पुनः अर्को कल्पनातीत राजनीतिक दुर्घटनासमेत हुन सक्नेछ । कान्तिपुर
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया