माघ २, २०८२ शुक्रबार January 16, 2026

सवाल पुस्तान्तरणको – प्रेमलकुमार खनाल

नेतृत्वको हस्तान्तरण र पुस्तान्तरण जेन–जी आन्दोलनको दीर्घकालीन स्थायित्वसँग सम्बन्धित छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नवयुवाले जेन–जीका नामबाट सामाजिक सञ्जालमा सरकारले गरेको प्रतिबन्धको विरोधका साथै भ्रष्टाचारको अन्त्य, सुशासनका लागि सुरुवात गरेको आन्दोलन विश्वमै ऐतिहासिक बन्न पुगेको छ। खासगरी वर्तमान दलाल पुँजीवादी व्यवस्थाले सृजना गरेको गरिबी, बेरोजगारी, भ्रष्टाचारका कारण सर्वत्र आक्रोश सृजना गरेको थियो।

मुलुकमा व्याप्त अनियमितता, भ्रष्टाचार, नातावाद, गरिबी, बेरोजगारी, आय असमानताका कारण उठान भएको जेन–जी आन्दोलन सरकारको नालायकीपनकै उपज हो। सर्वसत्तावादी सोच र पुँजीवादी आर्थिक नीति कार्यक्रम नै लागू गरेर सरकार सञ्चालन गरेका कारण मुलुकमा आर्थिक र सामाजिक विकास हुन सकेन। युवा बेरोजगारहरूको निराशाजनक अवस्था, अनियमितता र भ्रष्टाचार विरुद्ध युवा विद्यार्थीहरू आन्दोलनमा उत्रिन बाध्य भएका थिए।
पटकपटक सत्तामा गएर नेतृत्व गरेका नेतृत्वप्रति अहिलेका युवापुस्ताको आकर्षण छैन। कुल जनसंख्याको झन्डै २५/३० प्रतिशत युवा चाहे वामपन्थी हुन् चाहे लोकतान्त्रिक पार्टीमार्फत आन्दोलनमा संगठित छैनन्। अधिकांश युवा बेरोजगारीका कारण भौंतारिएर बिदेसिएका छन्। उनीहरू स्वतन्त्र वा जेन–जीका नाममा संगठित भएका छन्। यो निश्चय पनि आन्दोलनका लागि चुनौतीको विषय हो। कतिपय राजनीतिक दलले युवालाई आकर्षित गर्न निश्चित प्रतिशत तोकेर पार्टी कमिटीमा संगठित गर्ने प्रयत्न गरेको पाइन्छ तर नेतृत्वको केन्द्र भागमा विगत ३/४ दशक देखिन नेतृत्व गर्दै आएका नेतृत्वको नै वर्चस्व छ। यसले गर्दा पार्टीहरूका निर्णय प्रक्रियामा हिजोकै नेतृत्वको पकड यथावत् छ। यसले गर्दा परिवर्तनको छाललाई आत्मसात् गर्न नसकेको यथार्थ छर्लंग छ।

समकालीन राजनीतिमा नेतृत्वको विकास, हस्तान्तरण, पुस्तान्तरण र रूपान्तरणको सवाल अहं बनेको छ। राजनीतिक दलहरूले समयको गतिशीलताको प्रवाहसँगै आफ्नो नीति, विचार, कार्यक्रम, कार्यशैली र नेतृत्वमा पुनर्संरचना गरेर रूपान्तरित हुन सकेमात्रै ‘सर्भाइबल अफ द फिटेस्ट’ हुन सक्छ।

समयको प्रवाहसँगै दलहरूमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरण पेचिलो विषय बनेको छ। आन्दोलनको दीर्घकालीन सफलताको आधार भविष्यका नेतृत्वले त्यसको दिशा, सिद्धान्त र व्यवहारलाई कति प्रभावकारी ढंगले अगाडि बढाउँछ भन्नेमा निर्भर हुन्छ। नेतृत्व हस्तान्तरणले नयाँ सोच, ऊर्जा र रणनीति प्रदान गर्न मद्दत पुर्‍याउँछ। नेतृत्वको हस्तान्तरण र पुस्तान्तरण आन्दोलनको दीर्घकालीन स्थायित्वसँग सम्बन्धित छ। फेरि नयाँपुस्ता नयाँ प्रविधि, सामाजिक सम्बन्ध संघ अभिन्न रूपमा जोडिएको हुन्छ। जसले आलोचनात्मक चेतको विकासका साथै र वैचारिक बहसलाई पनि सँगै अगाडि बढाउन मद्दत पुर्‍याउँछ। आन्दोलनको सफलता केवल पुराना नेताहरूको करिश्मा र संघर्षको इतिहासमा निर्भर हुँदैन। नयाँपुस्तालाई सक्षम, वैचारिक र संगठनात्मक रूपमा तयार पारेर नेतृत्व हस्तान्तरण गर्न सकियो भने मात्र आन्दोलनले समयअनुकूल रूपमा जनताको आशा सम्बोधन गर्नेछ।

पार्टीहरूमा नेतृत्व हस्तान्तरण एक महत्वपूर्ण प्रक्रिया हो, जसले पार्टीको वैचारिक निरन्तरता, आन्तरिक लोकतन्त्र र भविष्यको दिशानिर्देश निर्धारण गर्दछ। पार्टीहरूमा नेतृत्व हस्तान्तरणलाई पार्टीको आन्तरिक लोकतन्त्रका रूपमा हेरिन्छ, जसले व्यक्तिगत सत्तावादलाई रोक्ने प्रयास गर्दछ। संगठन वा टिमलाई नयाँ विचार, रणनीति र ऊर्जा प्रदान गर्न नेतृत्व हस्तान्तरण गर्नुपर्दछ। नयाँ नेताले परिवर्तित परिस्थितिमा उपयुक्त दिशा दिन सक्छ। लामो समयसम्म एउटै नेतृत्वले संगठनमा स्थिरता ल्याए पनि गतिशीलता ल्याउन सक्तैन। तर, परिवर्तनले नयाँ अवसर र विकासको सम्भावना बढाउँदछ। नेतृत्व हस्तान्तरणले नयाँ पुस्तालाई जिम्मेवारी लिने अवसर दिन्छ, जसले संगठनको दीर्घकालीन निरन्तरता सुनिश्चित गर्छ।

नेपालमा नयाँपुस्ताप्रतिको आकर्षण बढेर गएको उदाहरण गत निर्वाचनमा प्रकट भएको छ। नयाँ पुस्ताले राजनीतिको नेतृत्व गर्न पाउँदा युवा उमेरमै विभिन्न देशको कार्यकारी पदको नेतृत्व गर्न सफल भएको पनि पाइन्छ। नेपालमा कतिपय राजनीतिक दलमा विगत ३/४ दशकदेखि लगातार एकै व्यक्तिले पार्टीको नेतृत्वमा गरिरहेको पाइन्छ, यसले एकातिर नेतृत्वमा रहेका व्यक्तिले शारीरिक आराम गर्न नपाउने, आफ्नो ज्ञान बुद्धिमा अपडेट भएर रूपान्तरण हुन नपाउने उनीहरू ‘अपडेटेट’ नहँुदा यस्तो नेतृत्व ‘आउट डेटेट’ हुनु अवश्यंभावी हुन्छ। असल नेताले आफू जस्तै नेतृत्व गर्न सक्ने नेताहरू विकास गरिरहेको हुन्छ। खास गरी पार्टीका नीति निर्माण गर्दा समूहमा (टिम) छलफल गर्ने, आफूसँग अन्तर्निहित अधिकार समकालीनलाई वा मातहतकालाई हस्तान्तरण गरेर आफूले अविभावकत्वको भूमिका निर्वाह गर्न तयार हुन्छन्।

असल नेताले परिस्थितिमा भएको परिवर्तनसँगै क्रान्तिको बाटो वा कार्यदिशाका बारेमा स्पष्ट ज्ञान हासिल गरेको हुन्छ। सिंगो टिमलाई बाटो देखाउने काम गर्नुपर्छ र त्यति मात्रै होइन, असल नेताले बाटोमै पुगेर आफ्नो टिमलाई कार्यदिशाअनुरूप काममा परिचालन गर्ने सामथ्र्यता राखेको हुनुपर्छ। परिस्थितिमा आएको परिवर्तन र नेतृत्व शैलीबीच तालमेल हुनुपर्छ। त्यसो भएन भने या त नेतालाई परिवर्तन गर्नुपर्छ या त वातावरणलाई नै परिवर्तन गर्नुपर्छ।

यसो हुँदा एउटा निश्चित अवधिमा नेतृत्व हस्तान्तरणको प्रक्रियाबाट अर्काे व्यक्तिले नेतृत्व सम्हालेर पार्टी संगठनलाई नेतृत्व गर्ने गर्छन्। यस किसिमको भावी नेतृत्व विकासको योजनाले स्वाभाविक रूपमा व्यक्तिहरूमा राजनीति र नेतृत्वप्रति चासो र झुकाव बढेर जान्छ। जहाँसम्म पहिलो पुुस्ताकोे नेतृत्वले शान्तिपूर्ण तवरबाट नेतृत्व हस्तान्तरण गरेपछि उनीहरूको स्थान कहाँ हुन्छ ? भन्ने सवाल उठ्छ। यसमा पहिलो पुस्ताको नेतृत्वले स्वेच्छिक अवकाश लिएर संरक्षक बन्ने र दोस्रो पुस्ताले दैनिक सांगठनिक एवंं कार्यकारी कामको नेतृत्व गर्ने र विचार दिन सक्ने अनुभवी पहिलो पुस्ताको नेतृत्वलाई भने संगठनभित्र संरक्षकको भूमिका निर्वाह गर्नेगरी काममा केन्द्रित गर्न सकिन्छ।

राजनीतिक दलहरूभित्र नेतृत्व विकासको ठोस नीतिले नेतृत्वको विकास गराउँछ र नेतृत्व गर्न सक्षम भएको आधारमा (राजनीतिक, वैचारिक, सांगठनिक तवरबाट) नेतृत्व हस्तान्तरणको विधिलाई अवलम्बन गर्न सके राजनीतिक दलहरूभित्र अस्वस्थ प्रतिस्पर्धा र गुटगत गतिविधि पनि हुर्कन पाउँदैन। यसका साथै शान्तिपूर्ण तवरबाट नेतृत्व हस्तान्तरण गर्दा पहिलो पुस्ताको नेतृत्वको ओज, कद र गरिमा झन् उँचो भएर जानेछ। कांग्रेस सभापति शेरबहादुर देउवाले भर्खरै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन्। कांग्रेसको आगामी महाधिवेशनबाट नयाँ नेतृत्वको चयन हुने देखिएको छ। देउवाले जसरी नेतृत्व हस्तान्तरणको प्रक्रियाअगाडि बढाएका छन्, त्यसैगरी माओवादी, एमाले, एकीकृत समाजवादी पार्टी पनि यस किसिमको अभ्यास हुन आवश्यक छ।

समकालीन राजनीतिमा नेतृत्वको विकास, हस्तान्तरण, पुस्तान्तरण र रूपान्तरणको सवाल अहं बनेको छ। नेतृत्व गर्न सक्ने टिम तयार भएको अवस्थामा पटकपटक नेतृत्वमा टाक्सिरहने सोच चिन्तनले सर्वसत्तावादी चिन्तनतर्फ उन्मुख गराउँछ। सही विचार र नेतृत्व भएन भने हिजो कम्फोटेबल बहुमतमा भएका पार्टीहरू २३/३३ सिटतिर झरेका छन्। तसर्थ, राजनीतिक दलहरूले समयको गतिशीलताको प्रवाहसँगै आफ्नो नीति, विचार, कार्यक्रम, कार्यशैली र नेतृत्वमा पुनर्संरचना गरेर रूपान्तरित हुन सकेमात्रै ‘सर्भाइबल अफ द फिटेस्ट’ हुन सक्छ। अन्नपूर्ण

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया