धनुषा । तराई मधेशको मुख्य पर्व छठलाई लक्षित गर्दै शान्ति सुरक्षाका लागि ‘अप्रेसन आस्था’ लागू गरिएको छ। छठपर्व शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउनका लागि मधेस प्रदेश प्रहरी कार्यालयले ‘अप्रेसन आस्था’ नामक विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको मधेस प्रदेश प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) गोविन्द थपलियाले जानकारी दिए।
यस योजनाअन्तर्गत प्रदेशभरका आठवटै जिल्लामा करिब सात हजार सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रहरी नायव महानिरीक्षक थपलियाले ‘अप्रेसन आस्था’बारे जानकारी दिँदै छठपर्वको संवेदनशीलतालाई ध्यानमा राखेर विशेष सुरक्षा प्रबन्ध मिलाइएको बताए।
उनका अनुसार मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने, झैझगडा गर्ने, भीडभाडमा अव्यवस्था सिर्जना गर्नेलगायत सम्भावित घटनालाई रोक्न यो विशेष योजना लागू गरिएको हो।
प्रहरीले मादक पदार्थ सेवन गरेर सवारी चलाउने वा सार्वजनिक स्थानमा हुलदङ्गा गर्ने जोकोहीलाई पनि कडा कारबाही गरिने चेतावनी दिएको छ। थप निगरानीका लागि अत्यधिक भीडभाड हुने स्थलहरूमा सिसी क्यामेराबाट निगरामनी, सुरक्षाचौकी स्थापना र मोबाइल गस्ती टोलीलाई सक्रिय पारिएको छ। -रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया