मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

अपहरण मुद्दा समाधानका लागि उत्तर कोरियाली नेतासँग भेट गर्न जापानी प्रधानमन्त्री ताकाइचीको आग्रह

दशकौँदेखि नसुल्झिएको जापानी नागरिक अपहरणको समस्या समाधान गर्न प्रत्यक्ष वार्ताको प्रस्ताव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

टोकियो, कात्तिक १७ गते । जापानकी प्रधानमन्त्री साने ताकाइचीले उत्तर कोरियाका नेता किम जोङ-उनसँग भेटवार्ता गर्ने औपचारिक आग्रह गर्नु भएको छ । उहाँले दशकौँदेखि नसुल्झिएको जापानी नागरिक अपहरणको समस्या समाधान गर्न प्रत्यक्ष वार्ताको प्रस्ताव राख्नुभएको हो ।

स्मरणीय छ, वर्षौको अस्वीकारपछि सन् २००२ मा उत्तर कोरियाले सन् १९७० र ८० को दशकमा आफ्ना जासुसलाई जापानी भाषा र संस्कृतिमा तालिम दिन प्रयोग गरिएका १३ जना जापानी नागरिकलाई अपहरण गरेको स्वीकार गरेको थियो । टोकियोले कम्तीमा १७ जना नागरिकलाई अपहरण गरिएको विश्वास गर्दै आएको छ ।

यद्यपि कतिपयले सो सङ्ख्याभन्दा धेरै जापानी नागरिकलाई पनि प्योङयाङ लगिएको हुन सक्ने बताउने गर्छन् । प्रधानमन्त्री ताकाइचीले टोकियोमा आयोजित एक जागरूकता कार्यक्रममा उत्तर कोरियाली नेता किम जोङ-उनसँग शिखर बैठकको औपचारिक अनुरोध गर्दै भन्नुभयो, “जापान र उत्तर कोरियाबीच नयाँ र फलदायी सम्बन्ध निर्माण गर्नका लागि म अध्यक्ष किम जोङ-उनसँग प्रत्यक्ष भेट गर्ने दृढ सङ्कल्पमा छु ।”

प्योङयाङले प्रधानमन्त्री ताकाइचीको यस आग्रहमा हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन । यद्यपि विगतमा पनि धेरै जापानी नेताहरूले किमसँग प्रत्यक्ष वार्ता गर्ने प्रयास गरेका थिए, तर ती सबै प्रयास असफल भएका थिए । पूर्व प्रधानमन्त्री जुनिचिरो कोइजुमीले सन् २००२ र २००४ मा प्योङयाङ भ्रमण गरी तत्कालीन नेता किम जोङ-उनका पिता किम जोङ-इलसँग भेट गर्नुभएको थियो ।

त्यस अवसरमा पाँच जना अपहृत जापानी नागरिकको फिर्तीबारे सम्झौता भएको थियो । तर उत्तर कोरियाले बाँकी आठ जना अपहृत नागरिकको मृत्यु भइसकेको दाबी गरेको थियो । ताकाइचीका पूर्ववर्ती सिगेरु इसिबाले पनि यस मुद्दा समाधानका लागि टोकियो र प्योङयाङमा सम्पर्क कार्यालय स्थापना गर्ने प्रस्ताव गर्नु भएको थियो, तर उक्त पहल कहिल्यै कार्यान्वयन हुन सकेन ।

यसैबिच, जापानले यस विषयमा अन्तर्राष्ट्रिय ध्यान कायम राख्नका लागि संयुक्त राज्य अमेरिकासँग घनिष्ठ सहयोग गरिरहेको छ । विशेष गरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस मुद्दामा जापानप्रतिको समर्थन प्रकट गर्नु भएको छ । गत हप्ता टोकियो भ्रमणका क्रममा राष्ट्रपति ट्रम्पले अपहरण पीडितका परिवारजनसँग भेटघाट गर्नुभएको थियो ।

“म पीडितको जीवन र हाम्रो राष्ट्रिय सार्वभौमिकतालाई जोखिममा राखेर पनि यस मुद्दा समाधानका लागि आवश्यक सबै माध्यम प्रयोग गर्नेछु”, प्रधानमन्त्री ताकाइचीले विगतका प्रधानमन्त्रीको वचनलाई प्रतिध्वनित गर्दै भन्नुभयो, “अपहरण मुद्दा मेरो मन्त्रिमण्डलको शीर्ष प्राथमिकता हो ।” प्रधानमन्त्री ताकाइचीको यो पहल जापान-उत्तर कोरिया सम्बन्धमा सम्भावित नयाँ पृष्ठको सुरुआतका रूपमा हेरिएको छ । यद्यपि राजनीतिक विश्लेषकले यसको सफलताका लागि उत्तर कोरियाको प्रतिक्रिया नै निर्णायक हुने बताएका छन् । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आजको राशिफल : मेष, तुला र कुम्भलाई आर्थिक लाभ, कर्कट र वृश्चिकलाई चुनौती
२०८३ मंग्सिर ३, बिहिबार
पाकिस्तानलाई हराउँदै भारतले जित्यो साफ च्याम्पियनसिपको १०औँ उपाधि
२०८३ मंग्सिर ३, बिहिबार
डेफ फुटबल च्याम्पियनसिपका लागि ३९ सदस्यीय नेपाली टोली कोरिया प्रस्थान
२०८३ मंग्सिर ३, बिहिबार
गण्डकी ‘पीएम कप महिला’ क्रिकेटको उपाधि कास्कीले जित्यो
२०८३ मंग्सिर २, बुधबार
सडक पूर्वाधार निर्माणमा सेनाको महत्वपूर्ण योगदान छः राष्ट्रपति पौडेल
२०८३ मंग्सिर २, बुधबार
ट्रम्पसँग जापानी प्रधानमन्त्रीको भेटवार्ता
२०८३ मंग्सिर २, बुधबार
हिमालयको संरक्षणका लागि विज्ञान, जलवायु वित्त र न्यायमा नेपालको जोड
२०८३ मंग्सिर २, बुधबार