मंग्सिर ३, २०८२ बुधबार November 19, 2025

बिमा सूचना केन्द्र स्थापना गर्ने तयारी

प्रारम्भिक मस्यौदा परिमार्जन गरी केन्द्र स्थापनाको कार्य छिट्टै अघि बढाइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । बिमा सूचना केन्द्र स्थापना गर्ने विषयमा सरोकारवालाबीच सहमति भएको छ । नेपाल बिमा प्राधिकरणले आयोजना गरेको छलफल कार्यक्रमबाट प्राप्त राय–सुझावका आधारमा प्रारम्भिक मस्यौदा परिमार्जन गरी केन्द्र स्थापनाको कार्य छिट्टै अघि बढाइने भएको हो ।

नेपाल बिमा प्राधिकरणको आयोजनामा आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा बिमा सूचना केन्द्र स्थापना तथा सञ्चालनसम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको हो । बिमा ऐन, २०७९ बमोजिम बिमा कम्पनी, लघु बिमा कम्पनी तथा पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूसँग छलफल गरी राय–सुझाव सङ्कलन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा नेपाल बिमा प्राधिकरणका अध्यक्ष जनकराज शर्माले बिमा क्षेत्र विस्तार हुँदै गएको सन्दर्भमा छरिएका सूचनालाई एकीकृत गर्न तथा गलत क्रियाकलाप पहिचान गरी नियन्त्रण गर्न सूचना केन्द्र आवश्यक रहेको बताउनुभयो । उहाँले बीमक, बीमितलगायत सबै सरोकारवालाको हितका लागि बिमा सूचना केन्द्रको स्थापनाको प्रक्रिया शीघ्र अघि बढाइने जानकारी दिनुभयो ।

पूर्वमुख्य सचिव डा बैकुण्ठ अर्यालले विज्ञका रूपमा केन्द्रको स्थापना, सञ्चालन तथा व्यवस्थापनसम्बन्धी प्रारम्भिक मस्यौदा प्रस्तुत गर्नुहुँदै बिमा क्षेत्रसँग सम्बन्धित यथार्थ सूचना र विश्लेषणका लागि सूचना केन्द्र अपरिहार्य रहेको बताउनुभयो । नेपाल बीमक सङ्घका अध्यक्ष वीरेन्द्र बैदवार र नेपाल जीवन बीमक सङ्घका अध्यक्ष प्रवीण रमण पराजुलीले बिमा सूचना केन्द्र स्थापनाका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा नेपाल बिमा प्राधिकरणका निर्देशकहरू, जीवन तथा निर्जीवन बिमा कम्पनी, लघु बिमा कम्पनी र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहेको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया