बैसाख १९, २०८३ शनिबार May 2, 2026

मधेश प्रदेशमा अविश्वास प्रस्ताव दर्ता भएको केही घण्टामै सभामुखद्धारा ५ सांसद पदमुक्त

प्रदेश राजनीति झन् पेचिलो बन्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले पाँच जना प्रदेशसभा सांसदलाई पदमुक्त गरेका छन् । सभामुखविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको केही घण्टामै आएको उक्त निर्णयले प्रदेशको राजनीतिक समीकरणलाई झन् पेचिलो बनाइदिएको छ।

सभामुख मण्डलले लगातार १० वटा प्रदेशसभा बैठकमा अनुपस्थित रहेको भन्दै नागरिक उन्मुक्ति पार्टीकी सांसद उर्मिला देवी सिंह, जनता समाजवादी पार्टी (जसपा) का मनिष कुमार सुमन, सञ्जय कुमार यादव, सिंहासन साह कलवार र सारदा शंकर प्रसाद कलवारलाई पदमुक्त गरेका हुन्।

राति अबेर सुनाइएको निर्णयमा सभामुखले संविधानको धारा १८० को प्रावधान उद्धृत गर्दै उनीहरूको स्थान रिक्त भएको घोषणा गरेका छन्। सभामुखद्वारा जारी सूचनामा भनिएको छ, “मधेश प्रदेशसभा बैठकको अभिलेख अनुसार नेपालको संविधानको धारा १८० बमोजिम लगातार १० बैठकमा अनुपस्थित रहेका निम्न माननीय सदस्यहरू मिति २०८२ मंसिर २७ गतेदेखि प्रदेशसभा सदस्यबाट पदमुक्त भएका छन्, र उनीहरूको स्थान रिक्त भएको व्यहोरा प्रदेशसभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम १८५ बमोजिम सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।”

यसअघि सभामुख मण्डलविरुद्ध जसपा र विपक्षी दलहरूले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए। सो प्रस्तावमाथि छलफल हुनुअघि नै उनले सांसदहरू पदमुक्त गर्ने निर्णय गर्दा प्रदेशसभा र राजनीतिक दलहरूबीच आरोप–प्रत्यारोप चर्किएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया