काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले बिग्रिएको शैक्षिक पात्रो सुधार्न अनियमित भएका परीक्षा धमाधम सञ्चालन गरिरहेको छ । आगामी साउनदेखि नियमित शैक्षिक पात्रोअनुसार नै परीक्षा सञ्चालन गर्ने उद्देश्यले अहिले रोकिएका परीक्षा भइरहेको त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक लक्ष्मण पौडेलले जानकारी दिए ।
शैक्षिक पात्रो सुधार्नकै लागि महिनामा तीनदेखि चार प्रकारका परीक्षा लिइरहेको र २०५३ सालदेखिका मौका परीक्षा पनि असारसम्म सम्पन्न गर्नेगरी काम भइरहेको उनले बताए । वैशाख महिनामा मात्रै चार प्रकारका परीक्षा सञ्चालन भइरहेका छन् । जसअन्तर्गत स्नातक तहतर्फ बीएएलएलबी दोस्रो वर्ष, स्नातक तह नियमित दोस्रो वर्ष तथा बीटेक पहिलो र दोस्रो वर्षका परीक्षा भइरहेका छन् ।
असारसम्म सबै परीक्षा सम्पन्न गरेर आगामी साउनदेखि शैक्षिक पात्रोमा उल्लेख गरिएअनुसार २०८३ सालका परीक्षा सञ्चालन गरिने परीक्षा नियन्त्रक पौडेलले बताए । उनका अनुसार जेठ महिनाका लागि तीनवर्षे र चारवर्षे स्नातक तह पहिलो वर्ष, बीएएलएलबी तेस्रो वर्ष र बीटेक तेस्रो वर्षको परीक्षा तालिका सार्वजनिक गरिसकिएको छ । यस्तै, असार महिनामा स्नातक तहका सबै सङ्कायको चौथो वर्षको नियमित परीक्षा तोकिएको छ ।
कोरोना महामारी र विभिन्न आन्दोलनका कारण नियमित हुन नसकेका सबै परीक्षा असारसम्म सम्पन्न गरेर साउनदेखि त्रिविकै शैक्षिक पात्रोअनुसार नियमित परीक्षा गरिने उनले दाबी गरे । अहिले सञ्चालन भइरहेका परीक्षामा करिब एक लाख १५ हजार परीक्षार्थी सहभागी छन् । यसैगरी, त्रिवि परीक्षा नियन्त्रण कार्यालयले परीक्षा प्रणालीमा सुधार गर्दै परीक्षा सम्पन्न भएको सय दिनभित्रै नतिजा प्रकाशित गर्न थालेको पनि नियन्त्रक पौडेलले जानकारी दिए ।रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया