काठमाडौँ, २७ कात्तिकः राष्ट्रियसभाका सदस्यहरुले आज अध्यागमन विभागको वस्तुगतस्थिति अनुगमन गर्न विभागको कार्यालय पुग्नुभएको छ ।
राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्मालगायत समितिका सचिव एवं उपसचिव सञ्जय दाहाललगायत ११ जना समितिका सदस्यहरु टोली कालिकास्थानस्थित अध्यागमन विभाग र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालयमा अनुगमन गर्न पुग्नुभएको हो ।
अनुगमनमा सहभागी हुनुभएका समितिका सदस्य रेनु चन्दले अध्यागमन विभाग ऐनअनुसार कार्यसम्पादन गर्न के–कस्तो कठिनाइ छ ? बुझ्नु र दैनिक कार्य एवं नीतिगत समस्याहरु के के छन ? भनी पत्ता लगाउन अवलोकन गरिएको चन्दले बताउनुभयो । “हामीले आज कार्यालयमा पुगेर त्यहाँको कार्यशैलीमा आएका समस्याहरु प्रत्यक्ष बुझ्ने प्रयास गरौँ”, उहाँले भन्नुभयो ।
समितिका सचिव एवं उपसचिव सञ्जय दाहालले अध्यागमन ऐन, २०४९ प्रत्यायोजित विधायनबारे अध्ययन गर्ने क्रममा रहेकाले अध्ययन गर्नुअघि वस्तुस्थति अनुगमन गरिएको बताउनुभयो ।
“आज स्थलगत अवलोकन मात्रै गरेका हौँ”, उहाँले भन्नुभयो, “अनुगमनको केही समयपछि प्रतिवेदन तयार पार्ने छौँ र बैठकमा छलफल गर्ने भएका छौँ ।”
अध्ययागमन विभागका निर्देशक एवं प्रवक्ता टीकाराम ढकालले राष्ट्रियसभाका सदस्यहरुको अनुगमनले थप जिम्मेवार बनाएको बताउनुभयो । रासस
प्रतिक्रिया