बैसाख १९, २०८३ शनिबार May 2, 2026

सभामुखको पाँच सांसद पदमुक्त गर्ने निर्णय उपसभामुखद्वारा बदर

अविश्वास प्रस्ताव दर्तासँगै मधेश प्रदेशसभामा अधिकार–दुरुपयोग विवाद तीव्र

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जनकपुरधाम । मधेश प्रदेशसभाका ५ जना सांसदलाई पदमुक्त गर्ने सभामुख रामचन्द्र मण्डलको निर्णय उपसभामुख बबिताकुमारी राउत ईशरले बदर गरिदिएकी छन् ।

सभामुखविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएको केही घन्टामै मण्डलले लगातार १० बैठकमा अनुपस्थित रहेको भन्दै जनता समाजवादी पार्टी (जसपा) का चार र नागरिक उन्मुक्ति पार्टीका एक सांसदलाई पदमुक्त गरिएको सूचना जारी गरेका थिए ।

यसरी पदमुक्त हुने सांसदहरुमा उर्मिलादेवी सिंह सर्लाही, मनिष कुमार सुमन सप्तरी, सन्जयकुमार यादव सर्लाही, सिंहासन कलबार सर्लाही, सारदा शंकर कलबार बारा छन् ।

तर, उपसभामुख राउतले अर्को सूचना सार्वजनिक गर्दै सभामुखविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भइसकेको अवस्थामा छलफलको लागि मिति तय हुने अवस्थामा प्रतिशोधसुवरूप आवेगमा आएर निर्णय गरेको बताएकी छन् ।

२२ गतेको विश्वासको मतसम्बन्धी प्रस्तावको बैठकमा ती ५ जनै सांसद उपस्थित रहेको भन्दै सभामुखको सूचना बदर गरिएको उपसभामुख राउतले उल्लेख गरेकी छन् ।

सभामुख मण्डल नेकपा (एमाले) बाट निर्वाचित भएका हुन् भने उपसभामुख राउत जनमत पार्टीबाट निर्वाचित भएकी हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया