काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालले प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्र दशकौँको संघर्ष, त्याग र बलिदानको जगमा निर्माण भएको व्यवस्थासमेत उल्लेख गर्नुभएको छ।
शुक्रबार काठमाडौंमा पत्रकार दीपेन्द्र शर्माको ‘युद्ध पत्रकारिता’ पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले सशस्त्र द्वन्द्वका कठिन दिन, पत्रकारितामाथि परेको दमन र क्रान्तिकालीन भूमिकाबारे खुलस्त चर्चा गर्नुभयो।
उहाँका अनुसार युद्धताका वैधानिक रूपमा प्रकाशनमा भएका पत्रपत्रिकादेखि भूमिगत सञ्चार माध्यमसम्म सबैमाथि कडा दमन भएको थियो। दाहालले आफू भारतमा रहेर नेपालकाे क्रान्तिका लागि पत्रकारिताका गतिविधिहरू सञ्चालन गरेको पनि बताउनुभयो।
दाहालले जाजरकोटमा तत्कालीन जिल्ला इन्चार्ज मायाप्रसाद शर्मा (पारसमणि) को नेतृत्वमा तयार भएको भूमिगत संरचनाको एउटा स्मरणीय प्रसङ्ग पनि उजागर गर्नुभयो। उहाँले भन्नुभयो, “त्यो बेला हामीले यस्तो अण्डरग्राउण्ड हल निर्माण गरेका थियौँ, जहाँ एक क्विन्टल बम माथिबाट खसालिँदा पनि क्षति नहोस् भन्ने हिसाबले बनाइएको थियो।”
युद्धकालीन यात्रामा दण्डपाणि न्यौपाने लगायत धेरै राजनीतिक कार्यकर्ताहरूले ज्यान गुमाएको वा बेपत्ता भएको उल्लेख गर्दै उहाँले ती सबै बलिदानका फलस्वरूप आजको संविधान, गणतन्त्र र संघीयता संस्थागत भएको बताउनुभयो।
पुस्तकबारे बोल्दै अध्यक्ष दाहालले ‘युद्ध पत्रकारिता’ युद्धकालीन घटनाक्रम, मानवीय पीडा, राजनीतिक पृष्ठभूमि र पत्रकारिताको जोखिमपूर्ण अभ्यासलाई स्पष्ट र विश्वसनीय ढङ्गले प्रस्तुत गरेको ‘युद्धको ऐना’ भएको बताउनुभयो।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया