काठमाडौँ । नेपाली कांग्रेसमा आसन्न महाधिवेशनलाई लिएर देखिएको मतभेद हटाउन पूर्व–पदाधिकारीहरूको समूहले मंगलबार संस्थापन पक्षका करिब ७५ जना केन्द्रीय सदस्यसँग विस्तृत छलफल गरेको छ । महाधिवेशनमा सहमति खोज्दै आयोजित उक्त भेटमा पूर्व–पदाधिकारीहरूलाई सभापतिको उम्मेदवार एक जनामा सहमतिमा पुग्न संस्थापन पक्षले आग्रह गरेको छ ।
छलफलमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार संस्थापनले पूर्व–पदाधिकारीहरूमध्येबाट सभापतिका लागि एक जना उम्मेदवार चयन गर्न अनुरोध गर्दै पदाधिकारीका अन्य पदमा नयाँ पुस्तालाई अगाडि ल्याउनुपर्ने धारणा राखेको थियो । सभापतिमा उम्मेदवार बन्ने व्यक्तिले प्रधानमन्त्री नबन्ने सहमति गर्नुपर्ने सुझाव पनि राखिएको उनले बताए ।
मंगलबारको छलफलमा पूर्व–पदाधिकारीहरू बिमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, विजयकुमार गच्छदार र डा. प्रकाशशरण महत उपस्थित थिए । डा. शशांक कोइराला उपत्यकाबाहिर भएको र गोपालमान श्रेष्ठ स्वास्थ्यका कारण सहभागी हुन नसकेको स्रोतले जनाएको छ ।
छलफलमा पूर्व–पदाधिकारीहरूले छिटोभन्दा छिटो एउटै नाममा सहमति खोज्ने वचन दिएका छन् । महाधिवेशनलाई विवादरहित र सहमतिमै सम्पन्न गर्न पार्टीभित्र व्यापक संवाद आवश्यक रहेको उनीहरूको निष्कर्ष रहेको बताइएको छ ।
कांग्रेसभित्र महाधिवेशनको समय, क्रियाशील सदस्यता टुंग्याउने प्रक्रिया र नेतृत्व परिवर्तनका एजेन्डामा मतभिन्नता कायम रहेकाले पूर्व–पदाधिकारीहरूले मध्यस्थताका प्रयास तीव्र पारेका हुन् । निर्वाचन नजिकिँदै गर्दा पार्टी विभाजनको जोखिम टार्न सबै समूहहरू सहमतिमा आउनुपर्ने आवश्यकता थप देखिएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया