ककनी, मङ्सिर २३ गते। नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतलाई स्थानीयले ककनीमा विशेष स्वागत गरेका छन्। गाउँसम्म पिच सडक विस्तार भएपछि खुसी व्यक्त गर्दै स्थानीयले उहाँलाई धन्यवादसहित स्वागत गरेका हुन्।
नेपाली कांग्रेस ककनीले मंगलबार आयोजना गरेको सडक निरीक्षण तथा अन्तरक्रिया कार्यक्रममा सहभागी हुन रानीपौवा पुगेका महतलाई स्थानीयवासीले फूलमाला र अबिरले स्वागत गरेका थिए।
कार्यक्रममा बोल्दै डा. महतले आफू अर्थमन्त्री भएको बेला एक अर्ब ३२ करोड रुपैयाँको बजेट सुनिश्चित गरी बहुवर्षीय योजनाका रूपमा सडक निर्माण थालिएको उल्लेख गर्नुभयो। सडक विस्तार अब समापनको चरणमा पुगेको देख्दा अत्यन्त खुशी लागेको उहाँको भनाइ थियो।
उहाँले रानीपौवादेखि पिपलटारसम्मको सडक स्तरोन्नतीका लागि पनि आवश्यक पहल भइरहेको जानकारी दिनुभयो।
ककनी काँग्रेसका सभापति भाग्यश्री लामाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा काँग्रेस जिल्ला सभापति तथा प्रदेश सांसद रमेश महत, सूर्यगढी गाउँपालिकाका अध्यक्ष सन्तबहादुर घले, तादी गाउँपालिकाका पूर्व अध्यक्ष नारायण पाण्डेसहित स्थानीय प्रतिनिधि र कार्यकर्ताको उपस्थिति थियो।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया