श्रावण १९, २०८३ मंगलबार August 4, 2026

समुदायमा चेतना जगाउँदै कुष्ठरोग प्रभावित व्यक्तिहरु

साइनिङ अस्पताल बाँके जिल्लाको मात्रै नभई पश्चिम नेपालकै प्रमुख उपचार केन्द्र

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

राँझा (बाँके), २७ मङ्सिरः बाँके जिल्लाका कुष्ठरोग प्रभावित व्यक्तिहरु आफ्नो पीडालाई शक्तिमा बदलेर समुदायमा कुष्ठरोगबारे चेतना जगाउने अभियान थालेका छन् ।

स्वयं रोगबाट प्रभावित भएर सफल उपचारपश्चात् उनीहरूलेसहायता समूह गठन गरी लुकेका बिरामीलाई उपचारको दायरामा ल्याउन र सामाजिक लाञ्छना हटाउन सक्रिय भूमिका निर्वाह गरिरहेका छन् ।

जानकी गाउँपालिका–१, साईगाउँ निवासी गुलाम हसमत साई स्वयं कुष्ठरोगबाट प्रभावित हुनुहुन्छ । रोगका कारण हात र आँखामा समस्या भएपछि जानकी गाउँपालिका–३ स्थित साइनिङ अस्पतालमा लामो समय उपचार गरेपछि उहाँको स्वास्थ्यमा उल्लेख्य सुधार आयो । स्वास्थ्य लाभ गरेपछि उहाँले कुष्ठरोग प्रभावितको हितका लागि स्वयं सहायता समूह गठन गर्नुभएको छ ।

“कुष्ठरोगबाट मैले धेरै दुःख पाएँ, समयमै उपचार गरेर अरू प्रभावितले दुःख पाउन नपरोस् भनेर गाउँ समाजमा सचेत गराउँदै आएको छु,” उहाँ भन्नुहुन्छ, “अझै पनि गाउँमा नखुलेका कुष्ठरोग प्रभावित व्यक्तिलाई उपचारको दायरामा ल्याउन हामीले सहजीकरण गर्दै आएका छौँ ।”

साईका अनुसार, नियमित औषधि सेवन गरेमा कुष्ठरोग निको हुन्छ । सहायता समूहका सदस्यले कुष्ठरोगको जोखिममा रहेका व्यक्तिलाई स्वास्थ्य संस्थामा जाँचका लागि पठाउनसमेत सहयोगी भूमिका निर्वाह गरिरहेका छन् । “बाँके जिल्लामै साइनिङ अस्पताल हुनु हाम्रो लागि वरदान सावित भएको छ”, उहाँ भन्नुहुन्छ, “यहाँ कुष्ठरोगको सहज तरिकाले राम्रोसँग उपचार हुने भएकोले रोग लुकाएर होइन, जाँच गरेर उपचार गरे सञ्चो भइहाल्छ ।”

बाँकेको बैजनाथ गाउँपालिका–८ टिटिहिरियास्थित स्वयं सहायता समूहका अध्यक्ष रोहित चौधरीले समाजमा कुष्ठरोगप्रति अझै पनि गलत धारणा रहेको बताउनुहुन्छ । “कुष्ठरोग प्रभावित व्यक्तिलाई गाउँ समाजमा अझै पनि हेयको दृष्टिले हेर्ने र लाञ्छना लगाउने कुसंस्कारले गर्दा बिरामी उपचारको दायरा बाहिरै रहने गरेका छन्”, चौधरी भन्नुहुन्छ ।

कुष्ठरोग प्रभावितको सामाजिक तथा आर्थिक हक हितका लागि सङ्गठित भई आफूहरूले शङ्कास्पद बिरामीलाई अस्पतालमा उपचारका लागि पठाउने गरेको उहाँले बताउनुभयो ।

बाँकेमा कुष्ठरोग प्रभावित व्यक्ति सङ्गठित भई पाँचवटा स्वयं सहायता समूह स्थापना भएका छन्, जसमा करिब १०० जना प्रभावित आबद्ध छन् ।

भारतमा कुष्ठरोगबाट प्रभावित भएपछि उपचारका लागि साइनिङ अस्पतालमा आउनुभएकी बर्दिया गेरुवा गाउँपालिका–६ निवासी निर्मला थापाको पनि अहिले स्वास्थ्यमा सुधार आएको छ । घर फर्किएपछि उहाँले पनि स्वयं सहायता समूह गठन गरेर सम्भावित बिरामीलाई उपचारका लागि अस्पतालमा पठाउन सहयोग गर्ने सोच बनाएको बताउनुभयो ।

साइनिङ अस्पतालका प्रमुख मङ्गल थारुका अनुसार स्वयं सहायता समूहमा आबद्ध भएपछि कुष्ठरोग प्रभावितहरू सामाजिक र आर्थिक रूपमा सशक्तिकरणका लागि अगाडि बढ्न सक्ने क्षमतामा विकास भएको छ ।

“उहाँहरूले अहिले आफ्नो हकहित सँगसँगै नयाँ कुष्ठरोगीको पहिचान र उपचारका लागि शङ्कास्पद बिरामीलाई अस्पताल प्रेरण गरेर समाजमा सकारात्मक काम गर्दै आउनुभएको छ”, थारुले
भन्नुुभयो, “गुलाम हसमत साई, रोहित चौधरी, निर्मला थापाजस्ता कुष्ठरोग प्रभावितको यो प्रयासले रोगलाई लुकाउने होइन, समयमै उपचार गरेर रोगमुक्त भई समुदायमा सकारात्मक परिवर्तनको सम्वाहक बन्न सकिन्छ भन्ने सन्देश दिएको छ ।”

पश्चिम नेपालमा कुष्ठरोगको प्रेषण केन्द्रका रूपमा रहेको बाँकेको जानकी गाउँपालिका–३ स्थित साइनिङ अस्पतालमा नयाँ बिरामीको सङ्ख्या बढ्दो क्रममा रहेको छ । यो अस्पतालमा गत आर्थिक वर्ष ०८१/८२ मा १७४ जना नयाँ कुष्ठरोगका बिरामी फेला परेका छन् । यो सङ्ख्या अघिल्लो आर्थिक वर्षको तुलनामा बढिरहेको अस्पतालका प्रमुख मङ्गल थारुले जानकारी दिनुभयो ।

साइनिङ अस्पताल आइएनएफ बाँकेले अघिल्लो आर्थिक वर्ष ०८०/८१ मा १४६ जना नयाँ कुष्ठरोगी पहिचान गरी उपचारका लागि विभिन्न स्वास्थ्य संस्थामा प्रेषण गरेको थियो ।

अस्पतालका प्रमुख थारुका अनुसार, पहिचान गरिएका यी नयाँ बिरामीलाई उपचारका लागि पायक पर्ने नजिकको स्वास्थ्य संस्थामा प्रेषण गरिएको छ । एक वर्षमा १७४ नयाँ बिरामी पहिचान हुनुले रोग पहिचान र उपचारको आवश्यकता अझै उच्च रहेको देखाउँछ ।

कुष्ठरोगी पहिचानमा सबैभन्दा धेरै बाँकेका ७१, बर्दियाका ४२, सुर्खेतका पाँच, दैलेख तीन, जाजरकोट चार, दाङका पाँच, सल्यानका दुई, प्यूठानका दुई, रुकुमका तीन, सुदूरपश्चिम प्रदेशका छ र भारतका ३१ गरी १७४ नयाँ कुष्ठरोगीको पहिचान भएको हो । पहिचान भएकामध्ये ७९ जना ४५ प्रतिशत बिरामीमा कुष्ठरोगको कीटाणु पोजिटिभ रहेको पाइएको उहाँले जानकारी दिनुभयो ।

साइनिङ अस्पतालले बहिरङ्ग सेवामार्फत नौ हजार ३८४ पुरुष र नौ हजार ५२४ महिला गरी कूल १८ हजार ९०८ सेवाग्राहीलाई स्वास्थ्य सेवा प्रदान गरेकोे छ । तीमध्ये कुष्ठरोग वा सम्बन्धित समस्या लिएका दुई हजार ७८४ र छाला तथा अन्य स्वास्थ्य समस्या लिएर सोह्र हजार १२४ सेवाग्राही आउनुभएको अस्पताल प्रमुख थारुले जानकारी दिनुभयो ।

अस्पतालले कुष्ठरोगीको पहिचान, अपाङ्गता रोकथाम तथा उपचार, कुष्ठरोग सम्पर्क परीक्षण, समुदायस्तरमा छाला तथा कुष्ठरोग पहिचान शिविर, स्वास्थ्यकर्मीका लागि क्षमता अभिवृद्धि तालिम, समुदायमा कुष्ठरोग सचेतना कार्यक्रम, निःशुल्क उपचार सेवालगायत गतिविधि गरिरहेको उहाँको भनाइ छ ।

जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र चौधरीले साइनिङ अस्पताल बाँके जिल्लाको मात्रै नभई पश्चिम नेपालकै प्रमुख उपचार केन्द्र भएकोले यसको प्रभावकारी सेवा प्रवाहमा स्थानीय सरकारले समेत आवश्यक समन्वय र सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मनसुनको प्रभाव निरन्तरः कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
२०८३ श्रावण १९, मंगलबार
अर्जुनधारा जलेश्वरधाममा ४० हजार भक्तजनले गरे जलार्पण
२०८३ श्रावण १९, मंगलबार
राष्ट्र बैंकले आजका लागि कति तोक्यो विदेशी मुद्राको विनिमयदर ?
२०८३ श्रावण १९, मंगलबार
विद्युत् व्यापारमा निजी क्षेत्रको सहभागिता गराउन इप्पानको माग
२०८३ श्रावण १९, मंगलबार
साउन २३ मा मधेस केन्द्रित दलले ‘अग्रगामी मोर्चा घोषणा गर्ने
२०८३ श्रावण १९, मंगलबार
आज मंगलबार कुन राशिको लागि कति शुभ, हेर्नुहोस् राशिफल
२०८३ श्रावण १९, मंगलबार
फरार प्रतिवादी पक्राउ
२०८३ श्रावण १९, मंगलबार