काठमाडौँ, २२ पुस : राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका केन्द्रीय अध्यक्ष दुर्गा प्रसाईंले गत भदौ २३ र २४ गतेको आन्दोलनमार्फत देशमा आएको परिवर्तनमा ‘जेनजी’ युवाहरूको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।
जेनजी र नागरिक बचाऊ महाअभियानसहित विभिन्न राष्ट्रवादी समूहहरूको संयुक्त जनआन्दोलन घोषणासभामा आज अध्यक्ष प्रसाईंले आन्दोलनका क्रममा घाइते भएका युवा र उनीहरूको उपचार तथा पुनःस्थापनाका विषयमा सरकार जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।
अध्यक्ष प्रसाईंले भन्नुभयो, “भदौ २३ र २४ गतेको आन्दोलनकै कारण देशमा परिवर्तनको वातावरण बनेको छ । तर, आजसम्म पनि धेरै ‘जेनजी’ युवाहरू घाइते अवस्थामै छन्, उनीहरूको उपचारमा समस्या भइरहेको छ । सरकारले उनीहरूका जायज माग पूरा गर्नुपर्छ ।”
यसैगरी उहाँले आफूहरूले गर्ने आन्दोलन कुनै व्यक्ति वा समूहको स्वार्थका लागि नभई भ्रष्टाचार मुक्त देश निर्माण र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक अधिकारको संरक्षणका लागि भएको स्पष्ट पार्नुभयो ।
अध्यक्ष प्रसाईले नेपाल राष्ट्र निर्माता पृथ्वीनारायण शाहद्वारा एकीकरण गरिएको मुलुक भएको उल्लेख गर्दै देशको शान्ति, स्थायित्व र समृद्धिका लागि सबै नेपाली एकजुट हुनुपर्नेमा जोड दिनुभयो । उहाँले राष्ट्रिय स्वाधीनता र पहिचानको संरक्षणबिना समृद्ध नेपाल निर्माण सम्भव नहुने धारणा राख्नुभयो । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया