मंग्सिर २, २०८३ बुधबार November 18, 2026

किमद्वारा निजी सुरक्षा टोली फेरबदल

जु एईलाई सम्भावित उत्तराधिकारीका रूपमा अघि सार्ने सङ्केत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सियोल, पुस २९ गते । उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो व्यक्तिगत सुरक्षाको जिम्मेवारी सम्हाल्ने तीन जना शीर्ष अधिकारीलाई प्रतिस्थापन गर्नु भएको छ । दक्षिण कोरियाली अधिकारीले मङ्गलबार दिएको जानकारी अनुसार यो कदम किममाथि सम्भावित हत्या प्रयासको डर बढेकै कारण चालिएको हुन सक्ने अनुमान गरिएको छ ।

प्योङयाङसँगको सम्बन्ध व्यवस्थापनको जिम्मेवारीमा रहेको सियोलस्थित एकीकरण मन्त्रालयले किमको सुरक्षा सम्हाल्ने तीन वटा राज्य एजेन्सीमा नयाँ प्रमुख नियुक्त गरिएको जनाएको छ । मन्त्रालयका अनुसार यो फेरबदल अक्टोबरमा आयोजित एक सैन्य परेडका क्रममा देखिएको थियो । विशेष गरी किमको बडीगार्ड कमान्डमा गरिएको परिवर्तनलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ ।

यो कमान्ड ड्रोन आक्रमण वा इलेक्ट्रोनिक हमला जस्ता आधुनिक खतरा विरुद्धको सुरक्षाका उपाय सम्हाल्ने जिम्मेवारीमा रहेको छ । एक विज्ञका अनुसार यो परिवर्तन किमले युक्रेनमा रुसको युद्धलाई सहयोग गर्न उत्तर कोरियाली सेना पठाउने निर्णयसँग सम्बन्धित हुन सक्छ ।

कोरिया इन्स्टिच्युट फर नेसनल युनिफिकेसनका विश्लेषक होङ मिनले भन्नुभयो, “किमको सुरक्षा संरचनामा परिवर्तन अक्टोबर २०२४ देखि देखिन थालेको हो, जब उहाँले उत्तर कोरियाली सेना रुसमा तैनाथ गर्नु भयो ।” उहाँका अनुसार सो तैनाथीपछि किम अन्तर्राष्ट्रिय स्तरमा झनै चर्चामा आउनु भएको छ र त्यसकै बिचमा युक्रेनसँग सम्बन्धित पक्षबाट हत्या प्रयास हुन सक्ने चिन्ता किमले गर्नु भएको हुन सक्छ ।

दक्षिण कोरियाको जासुसी एजेन्सीले पनि किमले आफ्नो ज्यानमाथि जोखिम बढेको ठानेर सुरक्षा व्यवस्था कडा बनाएको जानकारी दिएको छ । एजेन्सीका अनुसार किमको कार्यालयले सञ्चार अवरोध गर्न सक्ने र ड्रोन पहिचान तथा नियन्त्रण गर्न सक्ने उपकरण प्राप्त गर्ने प्रयास गरिरहेको छ ।

गत वर्ष किम प्रायः आफ्नी छोरी जु एईसँगै सार्वजनिक रूपमा देखिनु भएको थियो । उहाँले आणविक शक्तिबाट चल्ने पनडुब्बीको निरीक्षणलगायत विभिन्न आधिकारिक गतिविधिमा छोरीलाई सँगै लिएर जानु भएको थियो । विश्लेषकका अनुसार जु एईलाई सम्भावित उत्तराधिकारीका रूपमा अघि सार्ने सङ्केत पनि यसबाट देखिन्छ ।

विश्लेषकले यसै महिनाको अर्को घटनाले पनि प्योङयाङमा सुरक्षा चिन्ता बढाएको बताएका छन् । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गरेको घटनाले उत्तर कोरियाली नेतृत्वलाई झस्काएको उनीहरूको भनाइ छ ।

उक्त अपरेसनलाई उत्तर कोरियाली नेतृत्वका लागि एक प्रकारको ‘दुः स्वप्न परिदृश्य’ का रूपमा हेरिएको छ । उत्तर कोरियाली नेतृत्वले लामो समयदेखि आफूमाथि अचानक आक्रमण गरिने डर मान्दै आएको छ र त्यसै गरी प्योङयाङले अमेरिकाले आफ्नो शासन हटाउने योजना बनाइरहेको आरोप पनि लगाउँदै आएको छ । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया