काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत बन्दसूचीमा परेका उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ । आयोगले पुस १३ र १४ गते देशभरका ६४ वटा राजनीतिक दलबाट प्राप्त बन्दसूचीको नामावली आइतबार सार्वजनिक गरेको हो ।
निर्वाचन आयोगका अनुसार ती ६४ दलले ५८ वटा फरक–फरक निर्वाचन चिन्हमार्फत समानुपातिक निर्वाचन प्रक्रियामा सहभागिता जनाएका छन् । दलहरूले बुझाएका उम्मेदवारहरूको प्रारम्भिक सूचीमाथि आयोगले कानुनी प्रक्रिया अनुसार जाँचबुझ गरेको थियो ।
जाँचबुझका क्रममा केही उम्मेदवारहरू अयोग्य ठहरिन पुगेका छन् भने केही उम्मेदवारको नाम राजनीतिक दलहरूले आफैं संशोधन गरी हटाएका छन् । त्यस्तै, केही उम्मेदवारले व्यक्तिगत कारण देखाउँदै आफ्नो नाम फिर्ता लिएको आयोगले जनाएको छ । यी सबै प्रक्रियापछि जम्मा २११ जनाको नाम बन्दसूचीबाट हटाइएको छ ।
त्यसबाहेकका उम्मेदवारहरूको नामावली भने आयोगले सार्वजनिक गरेको हो । आयोगले सार्वजनिक गरेको सूचीमा विभिन्न दलका पुरुष, महिला, आदिवासी जनजाति, दलित, मधेसी, थारू, मुस्लिम, पिछडिएको क्षेत्र तथा अन्य समूहका उम्मेदवारहरू समावेश छन् । यसले समानुपातिक प्रणालीको समावेशी चरित्रलाई अझ मजबुत बनाउने विश्वास लिइएको छ ।
आयोगले सार्वजनिक सूचीप्रति कसैको उजुरी भए तोकिएको समयसीमाभित्र उजुरी दिन आग्रह गरेको छ । उजुरी परेमा आवश्यक छानबिन गरी अन्तिम सूची प्रकाशन गरिने आयोगको भनाइ छ ।
निर्वाचन आयोगले निष्पक्ष, पारदर्शी र कानुनसम्मत ढंगबाट निर्वाचन प्रक्रिया अघि बढाउने प्रतिबद्धता पनि दोहोर्याएको छ ।
सूची हेर्नुहोस्ः
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया