काठमाडौं । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले आफ्नो पदबाट राजीनामा दिएका छन्। प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिने तयारीस्वरूप उनले मन्त्री पदबाट राजीनामा दिएको बताएका छन्।
गुप्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट निर्वाचन लड्ने तयारीमा रहेका छन्। राजीनामा दिएलगत्तै उनी चुनावी गतिविधि केन्द्रित गर्न जनकपुर पुगेका छन्। रास्वपाले उनलाई जनकपुर क्षेत्रबाट उम्मेदवार बनाउने तयारी गरेको स्रोतको भनाइ छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले आज जनकपुरबाट औपचारिक रूपमा चुनावी अभियानको सुरुआत गर्दैछ। पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहको विशेष उपस्थितिमा जनकपुरको तिरहुतिया गाँछीमा चुनावी कार्यक्रम आयोजना गरिँदैछ। उक्त कार्यक्रम दिउँसो १ बजेपछि सुरु हुने पार्टीले जनाएको छ।
चुनावी अभियान उद्घाटन कार्यक्रममा स्थानीय कार्यकर्ता, समर्थक तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ। रास्वपाले मधेश क्षेत्रमा आफ्नो प्रभाव विस्तार गर्ने रणनीतिअनुसार जनकपुरलाई अभियानको मुख्य केन्द्र बनाएको देखिन्छ।
मन्त्री गुप्ताले पदबाट राजीनामा दिएपछि अब पूर्ण रूपमा चुनावी मैदानमा होमिने तयारी गरेका छन्। उनले चुनावलाई लक्षित गर्दै जनतासँग प्रत्यक्ष संवाद, संगठन विस्तार र घरदैलो अभियानलाई प्राथमिकतामा राख्ने बताएका छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया