फागुण ६, २०८२ बुधबार February 18, 2026

उत्तर कोरियाली नेता किमद्वारा उपप्रधानमन्त्री बर्खास्त

प्योङयाङ आगामी पाँच वर्षमा पहिलो पटक हुने पार्टी सम्मेलनको तयारीमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सियोल, ६ माघ (रासस/एएफपी) । उत्तर कोरियाली नेता किम जोङ उनले उपप्रधानमन्त्री याङ सुङ होलाई बर्खास्त गर्नुभएको छ । राज्य सञ्चालित सञ्चारमाध्यमका अनुसार उहाँले एक महत्त्वपूर्ण औद्योगिक मेसिनरी कम्प्लेक्सको उद्घाटनका क्रममा उच्च अधिकारीहरूमा देखिएको ‘अक्षमता, गैरजिम्मेवारी र निष्क्रियता’ विरुद्ध असाधारण रूपमा कडा र सार्वजनिक आलोचना गर्नुभएको हो ।

सरकारी कोरियन सेन्ट्रल न्युज एजेन्सी ९केसिएनए० का अनुसार किमले याङलाई ‘घटनास्थलमै’ पदमुक्त गर्न आदेश दिनुहुँदै ‘गैरजिम्मेवार, अशिष्ट र अयोग्य’ अधिकारीहरूलाई तीव्र रूपमा हप्काउनुभयो । ‘कृपया, कमरेड भाइस प्रिमियर, धेरै ढिलो हुनुअघि नै आफैँ राजीनामा दिनुहोस्”, उहाँले भनाइलाई केसिएनएले उद्धृत गरेको छ ।

आणविक हतियार सम्पन्न उत्तर कोरिया अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण गम्भीर आर्थिक चुनौती र दीर्घकालीन खाद्यान्न अभावसँग जुध्दै आएको छ । यद्यपि किमले विगतमा पनि आर्थिक नीतिको कथित खराब व्यवस्थापनका लागि अधिकारीहरूलाई आलोचना गर्दै आउनुभएको भए पनि यसरी खुला रूपमा बर्खास्त गर्नु दुर्लभ मानिन्छ ।

सोमबार हामग्योङ प्रान्तमा रहेको औद्योगिक कम्प्लेक्सको अवलोकनका क्रममा किमले ‘लामो समयदेखि पराजयवाद र निष्क्रियतामा फसेका’ कार्यकर्ताहरूले राज्यको विकासमा अवरोध पुर्‍याएको बताउनुभयो । याङ ‘भारी जिम्मेवारी वहन गर्न अयोग्य’ रहेको टिप्पणी गर्दै उहाँले क्याडर नियुक्तिमा भएको ‘आकस्मिक गल्ती’ स्वीकार गर्नुभयो । “गाडी तान्ने गोरु हो, बाख्रा होइन”, भन्दै किमले प्रभावकारी र सक्षम नेतृत्वको आवश्यकता औँल्याउनुभयो ।

राज्य मिडियाले सार्वजनिक गरेका तस्बिरमा किम चिसो उत्तरपूर्वी क्षेत्रमा कामदारहरूमाझ कठोर भावमा सम्बोधन गरिरहनुभएको देखिन्छ । उत्तर कोरियाले लामो समयदेखि सेनालाई प्राथमिकता दिँदै आएको छ भने कमजोर पूर्वाधार, वन विनाश र दशकौँको खराब व्यवस्थापनका कारण बाढी र खडेरीजस्ता प्राकृतिक विपद्को जोखिममा रहेको छ ।

युनिभर्सिटी अफ नर्थ कोरियन स्टडिजका विज्ञ याङ मू–जिनका अनुसार नयाँ मेसिनरी कम्प्लेक्स उत्तरपूर्वलाई दक्षिणतर्फ वोनसनसँग जोड्ने औद्योगिक बेल्टको हिस्सा हो, जसले देशको कुल मेसिनरी उत्पादनको करिब १६ प्रतिशत योगदान दिन्छ । उहाँका अनुसार याङको सार्वजनिक बर्खास्ती सत्तारूढ पार्टीभित्र अनुशासन कडा बनाउने र अधिकारीहरूलाई चेतावनी दिने रणनीतिसँग जोडिएको छ ।

प्योङयाङ आगामी पाँच वर्षमा पहिलो पटक हुने पार्टी सम्मेलनको तयारीमा रहेको छ । विश्लेषकहरूका अनुसार सम्मेलनमा आर्थिक नीति, रक्षा र सैन्य योजना मुख्य एजेन्डा बन्ने सम्भावना छ । गत महिना किमले शीर्ष नेताहरूको बैठकमा पार्टीभित्र देखिएका भ्रष्टाचारजन्य प्रवृत्ति र अनुशासनहीनतालाई पूर्ण रूपमा समाप्त गर्ने प्रतिबद्धता जनाउनुभएको थियो, जसलाई राज्य मिडियाले ‘दुष्टता’ र हाल देखिएको ‘विचलन’ भनेर उल्लेख गरेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आगामी निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न हुन्छ : गृहमन्त्री अर्याल
२०८२ फागुण ६, बुधबार
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
२०८२ फागुण ६, बुधबार
‘भिजन टेन’ नारामा आधारित नेपाली कांग्रेसको प्रतिज्ञापत्र (पूर्णपाठसहित)
२०८२ फागुण ६, बुधबार
युक्रेन–रुस वार्ता जेनेभामा दोस्रो दिन प्रवेश
२०८२ फागुण ६, बुधबार
एन्फा महिला च्याम्पियनसिप : पुलिसलाई हराँउदै आर्मी फाइनलमा
२०८२ फागुण ६, बुधबार
इजरायलद्वारा रमजानमा अल–अक्सा जाने दश हजार प्यालेस्टिनीलाई अनुमति दिने घोषणा
२०८२ फागुण ६, बुधबार
भोजपुरमा तेह्र पक्की पुल निर्माण
२०८२ फागुण ६, बुधबार