मंग्सिर २, २०८३ बुधबार November 18, 2026

किमले आणविक योजना सार्वजनिक गर्ने सङ्केत

दक्षिण कोरिया र जापानले यसलाई पहिले ब्यालेस्टिक मिसाइल प्रक्षेपणका रूपमा वर्णन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सियोल, माघ १४ गते । उत्तर कोरियाली नेता किम जोङ उनले आगामी सत्तारूढ मजदुर पार्टीको सम्मेलनमा देशको आणविक प्रतिरोध क्षमता अझ सुदृढ पार्ने योजना सार्वजनिक गरिने बताउनु भएको छ ।

राज्य सञ्चार माध्यम कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए) का अनुसार मङ्गलबार किमको उपस्थितिमा अपग्रेड गरिएको लार्ज–क्यालिबर मल्टिपल रकेट लन्चर प्रणालीको लाइभ–फायर अभ्यास गरिएको थियो । दक्षिण कोरिया र जापानले यसलाई पहिले ब्यालेस्टिक मिसाइल प्रक्षेपणका रूपमा वर्णन गरेका थिए ।

राज्य सञ्चार माध्यमले सार्वजनिक गरेका तस्बिरमा किम आफ्नी किशोरी छोरीसँगै विशाल लन्च ट्रकको छेउमा हिँडिरहेको देखिन्छ । दक्षिण कोरियाको गुप्तचर सेवाले सन् २०२४ को सुरुतिर किम जु ए नामकी छोरीलाई उहाँको सम्भावित उत्तराधिकारीका रूपमा प्रस्तुत गर्न थालिएको जनाएको थियो ।

केसिएनएले किम जोङ उनलाई उद्धृत गर्दै परीक्षण प्रक्षेपण देशको ‘रणनीतिक प्रतिरोध’ क्षमताको प्रभावकारिता बढाउन गरिएको बताएको छ । यस शब्दावली उत्तर कोरियाले आफ्ना आणविक हतियार क्षमताका लागि प्रयोग गर्दै आएको छ । समाचार अनुसार लन्चर प्रणालीको गतिशीलता र प्रहारको शुद्धता दुवैमा सुधार गरिएको छ ।

विज्ञका अनुसार उत्तर कोरियाका ठूला आकारका रकेट लन्चर प्रणालीले परम्परागत आर्टिलरी र ब्यालेस्टिक मिसाइलबिचको सीमा झन् अस्पष्ट बनाएका छन्, किनकि ती प्रणालीले आफ्नै थ्रस्ट उत्पादन गर्न सक्छन् र उडान क्रममै मार्ग निर्देशन गर्न सक्षम छन् । उत्तर कोरियाले यस्ता केही प्रणाली आणविक हतियार बोक्न सक्ने दाबी पनि गरेको छ ।

किमले देशको सैन्य शक्ति निरन्तर मजबुत बनाउनु मजदुर पार्टीको अपरिवर्तनीय दायित्व रहेको बताउनुभयो  उहाँले पाँच वर्षपछि पहिलो पटक हुन लागेको आगामी पार्टी सम्मेलन ‘देशको आणविक युद्ध प्रतिरोधलाई अझ सुदृढ पार्ने अर्को चरणका योजना’ घोषणा गर्ने महतवपूर्ण मञ्च हुने स्पष्ट पार्नुभयो ।

फेब्रुअरीमा सुरु हुने अपेक्षा गरिएको उक्त सम्मेलन उत्तर कोरियाको सबैभन्दा ठूलो राजनीतिक तथा प्रचारात्मक कार्यक्रम मानिन्छ, जहाँ नयाँ राजनीतिक र आर्थिक प्राथमिकता निर्धारण गरिन्छ । डिसेम्बरयता उत्तर कोरियाले हाइपरसोनिक मिसाइल, लामो दूरीको रणनीतिक क्रूज मिसाइल र नयाँ एन्टी-एयर मिसाइलको परीक्षण गरिसकेको छ । विश्लेषकका अनुसार यी गतिविधि सम्मेलन अघि हतियार विकासका उपलब्धि प्रदर्शन वा समीक्षा गर्ने उद्देश्यले गरिएको हुन सक्छ ।

केसिएनएले आगामी चरणको आणविक विकास योजना कस्तो हुने छ भन्नेबारे विस्तृत विवरण दिएको छैन । तर विदेशी विश्लेषकका अनुसार उत्तर कोरियाले आफ्ना प्रतिद्वन्द्वीको क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीलाई छल्न एउटै क्षेप्यास्त्रमा धेरैवटा वारहेड राख्ने क्षमतामा निपुणता हासिल गर्न खोजिरहेको छ । साथै, अमेरिकी मुख्य भूमिलाई लक्षित लामो दूरीका मिसाइलका वारहेडलाई वायुमण्डलीय पुनःप्रवेशका क्रममा उत्पन्न हुने उच्च ताप र दबाबबाट जोगाउने प्रविधि उसले पूर्ण रूपमा विकास गरिसकेको छ कि छैन भन्ने प्रश्न पनि उठिरहेको छ ।

सन् २०१९ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको आणविक कूटनीति विफल भएपछि उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियासँग वार्ता गर्न अस्वीकार गर्दै आएको छ । यद्यपि सीमित आणविक निःशस्त्रीकरणका सर्तमा आर्थिक र राजनीतिक प्रोत्साहन प्रस्ताव गरिएमा किम पुनः वार्तामा फर्कन सक्ने सम्भावना रहेको विज्ञले बताएका छन् । रासस/एपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया