श्रावण १८, २०८३ सोमबार August 3, 2026

भेरी अस्पतालमै सुरु भयो हिस्टोप्याथोलोजी सेवा

केही दिनमै बोन म्यारो एस्पिरेसन (हड्डीभित्रको मासु निकालेर जाँच गर्ने प्रक्रिया) सेवा पनि सुरु गर्ने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेपालगन्ज, माघ २२ गते । पश्चिम नेपालका विपन्न तथा गरिब बिरामीको उपचारको आशा र भरोसाको केन्द्र बनेको नेपालगन्जस्थित भेरी अस्पतालमा क्यान्सरलगायत विभिन्न रोगको पहिचान गर्ने हिस्टोप्याथोलोजी सेवा विस्तार गरिएको छ ।

शरीरको कुनै भागबाट सानो मासु (स्पेसिमेन) निकालेर माइक्रोस्कोपको माध्यमबाट रोगको पहिचान गर्ने प्रक्रियालाई हिस्टोप्याथोलोजी भनिन्छ । यस सेवाबाट क्यान्सरलगायत अन्य गम्भीर रोगहरूको समयमै पहिचान गर्न सकिने र उपचार प्रक्रिया समेत सहज हुने भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदीले बताउनुभयो ।

उहाँका अनुसार यसअघि क्यान्सरजस्ता रोगको पहिचानका लागि बिरामीका नमुना बाहिर पठाउनुपर्ने र लामो समयसम्म रिपोर्ट पर्खिनुपर्ने समस्या थियो । अस्पतालमै हिस्टोप्याथोलोजी सेवा सुरु भएपछि उक्त समस्या हट्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “ढिलो भए पनि अत्यन्तै महत्त्वपूर्ण सेवा सुरु गर्न सफल भएका छौँ । यसले रोग निदानमा ठूलो उपलब्धि दिने अपेक्षा गरेका छौँ ।”

भेरी अस्पतालको प्याथोलोजी विभाग प्रमुख डा. शर्मिला गुप्ताका अनुसार हिस्टोप्याथोलोजी सेवा विस्तारसँगै क्यान्सर, क्षयरोग (टी.बी.), अटो–इम्युन, मिर्गौला, पेट, कलेजो लगायत दीर्घकालीन रोगहरूको प्रकार पहिचान गर्न महत्त्वपूर्ण सहयोग पुग्नेछ ।

उहाँले शरीरबाट निकालिएका एपेन्डिक्स, पित्तथैली, प्रोस्टेट जस्ता अङ्गहरू रोगग्रस्त छन् कि छैनन् भन्ने कुरा समेत यस सेवाबाट पत्ता लगाउन सकिने बताउनुभयो । हिस्टोप्याथोलोजी सेवा सुरु भएसँगै प्याथोलोजी विभागले पूर्णता प्राप्त गरेको डा. गुप्ताको भनाइ छ ।

अस्पतालका अनुसार यस सेवाले क्यान्सरजस्ता गम्भीर रोगको पहिचान, रोगको प्रकार र अवस्था बुझ्न, रोग कति फैलिएको छ भन्ने थाहा पाउन र उपयुक्त उपचार योजना बनाउन सहज बनाउनेछ ।

भेरी अस्पतालका कन्सल्टेन्ट प्याथोलोजिस्ट डा. सुरेशमान श्रेष्ठले हाल हिस्टोप्याथोलोजीका आधारभूत सेवाहरू सञ्चालनमा आएको जानकारी दिनुभयो । उहाँका अनुसार आगामी दिनमा स्तरीय स्टेनिङ तथा इम्युनोहिस्टोकेमिस्ट्रीजस्ता सेवा पनि थप गरिनेछ ।

पश्चिम नेपालकै पुराना तथा सङ्घीय अस्पतालहरूमध्ये एक भेरी अस्पतालमा ढिलो भए पनि यो सेवा सुरु भएपछि यस क्षेत्रका बिरामीहरूलाई ठूलो राहत पुगेको अस्पताल विकास समितिका सदस्य डा. डक्टप्रसाद धितालले बताउनुभयो ।

अस्पतालले केही दिनमै बोन म्यारो एस्पिरेसन (हड्डीभित्रको मासु निकालेर जाँच गर्ने प्रक्रिया) सेवा पनि सुरु गर्ने तयारी भइरहेको जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया