दमौली (तनहुँ), २२ माघ : लायन्स क्लब इन्टरनेसनल, डिस्ट्रिक ३२५ एल नेपाल अन्तर्गत लायन्स क्लब अफ खैरेनीटार, लायन्स क्लब अफ तनहुँ म्याग्दे तथा लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी सिस्टर्सको संयुक्त पहलमा स्थापना गरिएको लायन्स हेमोडायलाइसिस युनिट जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ ।
शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित उक्त अस्पतालमा लायन्स क्लबहरूको सहयोगमा स्थापना गरिएको हेमोडायलाइसिस युनिट एक विशेष कार्यक्रमका बीच लायन्स इन्टरनेसनलका पूर्व इन्टरनेसनल डाइरेक्टर तथा ग्याट कन्स्टिच्युसनल एरिया लिडर बालकृष्ण बुर्लाकोटीको हातबाट अस्पतालका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठलाई हस्तान्तरण गरिएको हो ।
क्लबले सातवटा अत्याधुनिक डायलाइसिस उपकरण सहयोग गरेको छ । शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका र म्याग्दे गाउँपालिकाको संयुक्त आर्थिक सहयोगमा करिब डेढ करोड रुपैयाँको लागतमा उक्त युनिट स्थापना तथा सञ्चालनमा ल्याइएको हो ।
लायन्स क्लब डिस्ट्रिक ३२५ एल नेपालका क्याबिनेट सेक्रेटरी सुजित हिराचनका अनुसार परियोजनाअन्तर्गत लायन्स क्लब इन्टरनेसनलबाट रु १ करोड ११ लाख ७२ हजार, शुक्लागण्डकी नगरपालिकाबाट रु २५ लाख, भिमाद नगरपालिकाबाट रु १० लाख र म्याग्दे गाउँपालिकाबाट रु ६ लाख आर्थिक सहयोग प्राप्त भएको छ ।
डायलाइसिस सेवा सुरु भएसँगै तनहुँसहित आसपासका क्षेत्रका मिर्गौलापीडितहरूले स्थानीय स्तरमै सेवा लिन थालेका छन् । हाल अस्पतालमा जडान गरिएका सातवटा उपकरणमध्ये पाँचवटा नियमित सेवाका लागि सञ्चालनमा रहेका छन् भने दुईवटा आपतकालीन प्रयोजनका लागि सुरक्षित राखिएका छन् । सुरुमा एक सिफ्टमा सञ्चालन गरिएको सेवा बिरामीको चाप बढेपछि हाल दुई सिफ्टमा करिब ३० जना बिरामीले दैनिक सेवा लिइरहेका छन्, अस्पतालका कार्यकारी निर्देशक डा. श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै लायन्स इन्टरनेसनलका पूर्व इन्टरनेसनल डाइरेक्टर तथा ग्याट कन्स्टिच्युसनल एरिया लिडर बालकृष्ण बुर्लाकोटीले यस क्षेत्रका मिर्गौलापीडितलाई उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता अन्त्य गर्ने उद्देश्यले उक्त युनिट स्थापना गरिएको बताउनुभयो । उहाँले लायन्स क्लबको मानवीय सेवामूलक अभियान अन्तर्गत स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर यस्ता परियोजना निरन्तर अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
लायन्स क्लब डिस्ट्रिक ३२५ एल नेपालका क्याबिनेट सेक्रेटरी सुजित हिराचनले पनि यस क्षेत्रका मिर्गौलापीडितलाई सहज, सुलभ र गुणस्तरीय उपचार उपलब्ध गराउने लक्ष्यका साथ हेमोडायलाइसिस युनिट स्थापना गरिएको जानकारी दिनुभयो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया