जनकपुर । यही फागुन ५ देखि हुने जनकपुरधाम साहित्य, कला तथा अन्तरराष्ट्रिय नाट्य महोत्सव–२०८२ को तयारी अन्तिम चरणमा पुगेको छ ।
आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले फागुन ५ देखि ८ सम्म सञ्चालन हुने महोत्सवको पाँचौँ शृङ्खलाको तयारी अन्तिम चरणमा पुगेको बताएका हुन् ।
मधेश प्रदेशको शिक्षा तथा संस्कृति मन्त्रालय र मैथिली विकास कोषको आयोजना तथा जनकपुरधाम उपमहानगरपालिकाको सह–आयोजनमा महोत्सव आयोजना गर्न लागिएको उनले जानकारी दिए ।
महोत्सवमा कला साहित्य, राजनीति, सामाजिक, आर्थिक मुद्दा, इतिहासलगायत विभिन्न २० विषयमा गहन विमर्श र चित्रकला, पुस्तक तथा मिथिला भोजन प्रदर्शनीको समेत आयोजना गरिने अध्यक्ष चौधरीले बताए ।
“महोत्सवमा नेपाल र भारतका विद्वान–विदुषी, गायक–गायिका तथा नाट्य समूहको सहभागिता हुनेछ । चार दिनसम्म जनकपुरधाम साहित्य, कला र सङ्गीतमय हुनेछ”, उनले भने ,“मैथिली विकास कोष सदैव भाषा, साहित्य, संस्कृति र कलाको सम्मान गर्दै आएको छ । यसमा प्रदेश सरकार र स्थानीय पालिकाले पनि सहयोग गरिरहेका छन् । विगतमा जस्तै जनकपुरवासीले यसपालि पनि महोत्सव सफल बनाउन भरपूर सहयोग गर्ने विश्वास छ ।”
महोत्सवक मुख्य आकर्षणमा सांस्कृतिक झाँकीसहित शोभायात्रा, उद्घाटन समारोह, विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता, कविता वाचन प्रतियोगिता, लोकनृत्य प्रतियोगिता र मिथिला चित्रकला प्रतियोगिता, मिथिला चित्रकला कार्यशाला तथा प्रदर्शनी, नाटकलगायत सांस्कृतिक कार्यक्रम रहेको छ । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया