काठमाण्डौं । रूसका विदेशमन्त्री सर्गेइ लाभरोभ ले क्युबामाथि सम्भावित अमेरिकी सैन्य नाकाबन्दीको योजनाबारे कडा प्रतिक्रिया दिएका छन्। उनले मस्कोमा क्युबाका विदेशमन्त्री ब्रुनो रोड्रिगेज पारिलासँग बुधबार भेटवार्ता गर्दै अमेरिकालाई “सामान्य ज्ञान र जिम्मेवार अडान” अपनाउन आग्रह गरेका हुन्।
लाभरोभले अन्तर्राष्ट्रिय समुदायको बहुमत क्युबामाथि कुनै प्रकारको नौसैनिक नाकाबन्दीको पक्षमा नरहेको दाबी गरे। उनले अमेरिकालाई यस्तो योजना त्याग्न आह्वान गर्दै क्युबाको सार्वभौमिकता र सुरक्षाप्रति रूस प्रतिबद्ध रहेको बताए।
रूसले क्युबासँगको सहकार्य वाशिङ्टनविरुद्ध लक्षित रहेको भन्ने आरोप अस्वीकार गरेको छ। लाभरोभका अनुसार मस्कोको धारणा क्युबा र अमेरिकाबीचका विवादहरू संवाद र कूटनीतिक वार्तामार्फत समाधान हुनुपर्छ भन्ने हो।
उनले क्युबामाथि लागू गरिएका अमेरिकी कानुनहरूको पनि आलोचना गरे। रूसको भनाइमा ती कानुनहरू “क्युबा संयुक्त राज्य अमेरिकाका लागि खतरा हो” भन्ने दाबीमा आधारित छन्, जुन मस्कोले अस्वीकार गरेको छ।
रूस–क्युबा सम्बन्ध शीतयुद्धकालदेखि नै निकट रहँदै आएको छ। पछिल्ला वर्षहरूमा अमेरिका–क्युबा सम्बन्धमा उतारचढाव भइरहेका बेला मस्कोले हवानासँगको रणनीतिक सहकार्यलाई निरन्तरता दिइरहेको छ। रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया