श्रावण १८, २०८३ सोमबार August 3, 2026

गृहमन्त्री अर्यालद्वारा रामेछाप दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी

घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा सरकारले कुनै कमी आउन नदिने गृहमन्त्री अर्यालको प्रतिबद्धता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, फागुन १९ गते । गृहमन्त्री ओमप्रकाश अर्यालले रामेछापमा सोमबार भएको सवारी दुर्घटनाका घाईतेसँग आज भेट गरी उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । गृहमन्त्री अर्यालसहितको टोलीले छाउनीस्थित सैनिक अस्पताल पुगेर उपचाररत घाइतेसँग संवाद गरेर अवस्थाबारे जानकारी लिनुभएको हो ।

फागुन १८ गते रामेछाप नगरपालिका–२ स्थित सिरुबारीमा भएको सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो भने सात जना घाइते भएका थिए । घाइतेहरूको उद्धार गरी छाउनिस्थित सैनिक अस्पतालमा उपचार भइरहेको छ ।

निर्वाचन प्रयोजनका लागि मतदान केन्द्रमा खटिएका कर्मचारी र सुरक्षाकर्मी सवार सवारी दुर्घटनामा परेको हो । सो अवसरमा गृहमन्त्री अर्यालले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा सरकारले कुनै कमी आउन नदिने बताउनुभयो ।

छाउनी अस्पतालका चिकित्सक नेपाली सेनाका सहायकरथी डा नम्रता महराका अनुसार घाइतेमध्ये पूजा सुनुवारको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।

बाँकी छ जना भीमबहादुर मानन्धर, केदारकुमार रोका, दुर्गा कार्की, कृष्णप्रसाद घिमिरे, सविना खड्का र समरबहादुर मानन्धर मेडिकल वार्डमा उपचाररत हुनुहुन्छ । घाइतेमध्ये चार महिला र तीन पुरुष हुनुहुन्छ ।

मन्थलीबाट मतदान केन्द्र  शीतलादेवी मावि सिरुबारी (क), (ख) र वडा ३ को वडा कार्यालय भवन साँघुटार (क) र (ख) मतदान केन्द्रमा खटिएका मतदान अधिकृतलगायत कर्मचारी र सुरक्षाकर्मीहरू मतपत्रसहितका निार्वाचन सामग्री लिएर जाँदै गरेको ना७ख ६७६८ नंको निशान गाडी सडकबाट करिब १०० मिटर तल खसेको थियो । दुर्घटनामा परी मतदान अधिकृत डोरप्रसाद घिमिरे र नेपाल प्रहरीका सहायक निरीक्षक पर्शुराम यादवको निधन भएको प्रहरीले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया