लमजुङ । लमजुङका व्यवसायिक तीनवटा वंगुर पालक फर्ममा लागेको अफ्रिकन स्वाइन फिवरका कारण एक सय बढी बंगुर मरेका छन् । त्यसका कारण २० लाख बढीको क्षति भएको र किसानमा चिन्ता छाएको छ ।
जिल्ला सदरमुकाम बेसीशहर नगरपालिका– ६ को पुमाखोला आसपासमा व्यावसायिक रुपमा पालिएका तीन वटा बंगुर फर्ममा अफ्रिकन स्वाइनको संक्रमण बढेको हो ।
सो रोगको पहिचान फागुनको १० गते भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङका प्रमुख डा. सुनिल न्यौपानेले बताए । उनका अनुसार साना ठूला गरेर एक सय भन्दा बढी बंगुर मरेको तथ्यांक आएको छ । उनले भने, ‘बजार मूल्य साना तीन महिनाभन्दा कम उमेरका पाठाहरूलाई प्रतिगोटा ७–८ हजार रुपैयाँ पर्छ । ठूलाहरूको मूल्य प्रतिगोटा करिब ८० हजार मूल्य पर्ने गर्दछ ।’ तीन व्यवसायिक फर्मको २० लाखभन्दा बढी नै नोक्सान भएको छ । जैविक सुरक्षा विधि अपनाउनका लागि पनि खर्च नै हुन्छ, त्यो पनि खर्चमा जोड्नु प¥यो डा. न्यौपानेले भने ।
हामीले संक्रमणको आशंका हुनासाथ फर्ममै गएर परीक्षण गर्दा त्यो रोगको पुष्टि भएको हो डा. न्यौपानेले जानकारी दिए । हामीले किसानलाई तत्कालै जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्न भन्यौं, सिकायौं पनि ऐले अन्यत्र फैलिएको अवस्था छैन तर ढुक्क हुने अवस्था छैन डा. न्यौपानेले भने ।
जिल्लामा यस्ता व्यवसायिक बंगुर फर्म के कति होलान् ? भन्ने जिज्ञासामा ऐले फर्मको संख्या यत्ति नै छ भन्न सकिन्न । त्यही पुमाखोलाको आसपासमा अन्य आठवटा जति फर्म छन् । पछिल्ला वर्षमा स्थानीय पालिकामा पनि दर्ता हुन्छन् । त्यसैले एकिन तथ्यांक छैन तर जिल्लामा बंगुरको संख्या चारसय भन्दा बढी रहेको तथ्यांक आफ्नो कार्यालयमा रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङका प्रमुख डा. सुनिल न्यौपानेले जानकारी दिए ।
उनका अनुसार लमजुङमा तीन वर्ष अघि देखिएको यो रोग ऐले फेरि बल्झियो । त्यो बेलामा एक हजार एक सय बंगुर मरेका थिए भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङका प्रमुख डा. न्यौपानेले सुनाए । उनका अनुसार यो रोगको उपचार छैन, आजसम्म भ्याक्सिन समेत विश्वमै बन्न सकेको छैन । उनले भने, ‘यो रोग अतिछिटो फैलन्छ र मृत्यु दर पनि अति उच्च छ ।’ रोगबाट बच्न गोठ, खोरमा जैविक सुरक्षा विधि अपनाउने मात्र हो डा. न्यौपानेले उल्लेख गरे ।
यो रोगबाट बच्नका लागि गोठ, खोर सफा राख्ने अन्य फर्ममा नजाने, नपठाउने र अन्य फर्मका वंगुर नल्याउने, आउन नदिने, बाहिर फ्ँयाकिएको खानाहरू नखुवाउने आफ्नै घरको उत्पादन राम्रोसँग पकाएर खुवाउने आदि गर्नु पर्दछ ।
यति ठूलो नोक्सान भएको छ किसानमा चिन्ता बढ्नु स्वभाविक हो तर पीडित किसानहरूको नाम नदिदा राम्रो हुन्छ किनकि, उनीहरूले रोग फैलाएर बदमासी गरेछन् भन्ने अर्थ लाग्न पनि सक्छ डा. न्यौपानेले बताए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया