काठमाडौं । बेल्जियममा आयोजना हुन लागेको इयू टी–२० लिगका लागि लिइज रेड लायन्स ले नेपाली राष्ट्रिय टोलीका प्रमुख स्पिनर सन्दीप लामिछाने लाई टोलीमा अनुबन्ध गरेको छ। उनलाई टोलीले ड्राफ्टअघि नै समावेश गर्दै आफ्नो टिम मजबुत बनाएको हो।
रेड लायन्सले यसअघि नै क्रिस लिन, कोरी एन्डर्सन र सोएब मलिक जस्ता अनुभवी खेलाडी भित्र्याइसकेको छ। सन्दीपको आगमनसँगै टोलीको स्पिन आक्रमण अझ बलियो हुने अपेक्षा गरिएको छ।
यसैबीच जेबी ब्रुजेज ले दक्षिण अफ्रिकाका ब्याटर रासी भान डर डुसेन लाई टोलीमा समावेश गरिसकेको छ। उक्त टोली ड्रिम स्पोर्ट्स को स्वामित्वमा रहेको छ, जसले नेपाल प्रिमियर लिगअन्तर्गत जनकपुर बोल्ट्स मा पनि लगानी गरेको छ। जेबी ब्रुजेजले नेपाली खेलाडी पनि समावेश गर्ने तयारी गरेको र त्यसको घोषणा छिट्टै हुने जनाएको छ।
इयू टी–२० लिग बेल्जियमको पहिलो फ्रेन्चाइज क्रिकेट प्रतियोगिता हो, जसलाई बेल्जियन क्रिकेट महासंघ ले डेस्टिनो लिजेन्ड्स स्पोर्ट्स एलएलसी सँगको सहकार्यमा आयोजना गर्न लागेको हो। प्रतियोगिता आगामी जुन ६ देखि १४ सम्म सञ्चालन हुनेछ।
लिगमा कुल ६ टोली सहभागी हुनेछन्, जसमा आन्थ्रोप एङ्कर्स, ब्रसेल्स, हेन्ट, लुभेन, जेबी ब्रुजेज र लिइज रेड लायन्स रहेका छन्। प्रतियोगितामा राउन्ड–रोबिन चरणपछि शीर्ष चार टोली प्लेअफमा प्रवेश गर्नेछन्।
प्रत्येक टोलीमा १८ खेलाडी रहनेछन्, जसमा बेल्जियन, एसोसिएट राष्ट्र, पूर्ण सदस्य राष्ट्रका खेलाडी तथा अनुभवी ‘भेट्रान’ खेलाडीको मिश्रण रहनेछ। साथै, इंग्ल्यान्डका पूर्व कप्तान इयोन मोर्गन लाई लिगको ग्लोबल ब्रान्ड एम्बेसडर बनाइएको छ भने जेम्स भिन्स, एलेक्स हेल्स, एन्जेलो म्याथ्यूज र वानिन्दु हसरंगा जस्ता खेलाडी पनि सहभागी हुने बताइएको छ।
लिगका लागि खेलाडी छनोट गर्न मार्च २४ मा ब्रसेल्समा ड्राफ्ट आयोजना गरिनेछ, जसमा नेपालका १५ भन्दा बढी खेलाडी दर्ता भएको जनाइएको छ। यसले नेपाली क्रिकेट खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा अझ अवसर दिने अपेक्षा गरिएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया