काठमाडौं। नेपाल पुलिस क्लब ले ट्रफी क्रिकेटको उपाधि जित्दै आफ्नो वर्चस्व कायम राखेको छ।
बिहीबार सम्पन्न फाइनलमा त्रिभुवन आर्मी क्लब लाई ४ विकेटले पराजित गर्दै पुलिसले लगातार दोस्रो पटक उपाधि जितेको हो। गत संस्करणमा पनि पुलिसले आर्मीलाई नै हराएर उपाधि जितेको थियो।
आर्मीले दिएको २२७ रनको लक्ष्य पुलिसले तेस्रो दिनको तेस्रो सत्रमा ६ विकेट गुमाउँदै पूरा गर्यो। पुलिसको जितमा राशिद खानले उत्कृष्ट ८१ रन बनाए भने कुशल भुर्तेलले ५१ रनको योगदान दिए। दिलसाद अली ३१ रनमा अविजित रहँदा दिनेश खरेलले २५ रन जोडे।
बलिङतर्फ आर्मीका पवन कार्की र शाहब आलमले २–२ विकेट लिए भने आकाश चन्द र भीम सार्कीले एक–एक विकेट हात पारे।
यसअघि आर्मीले दोस्रो इनिङमा २२६ रन बनाएपछि पुलिससामु २२७ रनको लक्ष्य प्रस्तुत गरेको थियो। आर्मीका आकाश चन्द (३७), कुशल मल्ल (३६), शाहब आलम (३३) र भीम सार्की (३२) ले महत्वपूर्ण योगदान दिएका थिए।
पुलिसका लागि सागर ढकालले ४ विकेट लिए भने ललित राजवंशी र करण केसीले समान ३–३ विकेट लिएका थिए।
पहिलो इनिङमा दुवै टोलीले समान २२१–२२१ रन बनाएका थिए। पुलिसका करण केसीले अविजित ७२ रन बनाउँदा कप्तान आरिफ शेखले ४४ रन जोडेका थिए। आर्मीका सोमपाल कामीले पहिलो इनिङमा ५ विकेट लिएका थिए।
समग्रमा पुलिसले उत्कृष्ट अलराउण्ड प्रदर्शन गर्दै आर्मीमाथि पुनः जित निकाल्दै उपाधि रक्षा गर्न सफल भएको हो।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया