काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीवार सामाजिक सञ्जालमार्फत महान्यायाधिवक्ता पाम बोन्डीले आफ्नो पदबाट राजीनामा दिने र उप–महान्यायाधिवक्ता टोड ब्ल्यान्चले कार्यवाहक महान्यायाधिवक्ताको रूपमा जिम्मेवारी सम्हाल्ने जानकारी दिनुभएको छ ।
ट्रम्पको यो पछिल्लो भनाइ अमेरिकी सञ्चारमाध्यमहरूले राष्ट्रपतिले बोन्डीलाई बर्खास्त गरेको खबर सार्वजनिक गरेलगत्तै आएको हो ।
न्यूयोर्क टाइम्सले बुधवार पहिलो पटक रिपोर्ट गरेको थियो कि ट्रम्पले न्याय विभागमा बोन्डीको नेतृत्व र जेफ्री एपस्टीनका फाइलहरू व्यवस्थापन गर्ने तरिकाप्रति असन्तुष्टि जनाउँदै उनलाई बर्खास्त गर्ने विषयमा छलफल गर्नुभएको थियो ।
बिहीवार सोही पत्रिकाले उक्त निर्णयबारे जानकार एक व्यक्तिलाई उद्धृत गर्दै ट्रम्पले बोन्डीलाई बर्खास्त गरेको उल्लेख गरेको छ ।
सीएनएनले बिहीबारको एक रिपोर्टमा स्रोतहरूलाई उद्धृत गर्दै जनाएअनुसार ट्रम्पले हालैका दिनहरूमा आफ्ना सहयोगीहरूसँग बोन्डीलाई हटाउने सम्भावनाबारे कुरा गर्नुभएको थियो र बुधवार उहाँले बोन्डीसँग व्यक्तिगत रूपमा नै यस विषयमा छलफल गर्नुभएको थियो । रिपोर्टका अनुसार ट्रम्प बोन्डीसँग विभिन्न पक्षहरूमा असन्तुष्ट हुनुहुन्थ्यो ।
विशेष गरी जेफ्री एपस्टीनका फाइलहरूको व्यवस्थापन र बोन्डीले ट्रम्पका राजनीतिक विरोधीहरूमाथि पर्याप्त अनुसन्धान वा कानुनी कारबाही अघि नबढाएकोमा उहाँ रुष्ट हुनुहुन्थ्यो ।
बोन्डीको बहिर्गमन ट्रम्पको दोस्रो कार्यकाल शुरु भएयता मन्त्रिपरिषद् (क्याबिनेट) स्तरको दोस्रो बर्खास्तगी हुनेछ । यसअघि मार्च महिनामा, ट्रम्पले होमल्याण्ड सेक्युरिटी सचिव क्रिस्टी नोएमलाई उनको नेतृत्वप्रति दुवै पक्ष (डेमोक्र्याट र रिपब्लिकन) बाट आलोचना बढेपछि पदबाट हटाउनुभएको थियो । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया