असार ९, २०८३ मंगलबार June 23, 2026

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तीव्र गतिमा

छपाइ हुन बाँकी रहेका करिब २९ लाख ‘लाइसेन्स’लाई २०८३ साल असार मसान्तसम्म छापिसक्ने लक्ष्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ। सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तीव्र गतिमा जारी रहेको छ । सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाका अनुसार हाल दैनिक करिब ४० हजार हाराहारी मा ‘लाइसेन्स’ छपाइ भइरहेको छ ।

उनले ‘लाइसेन्स’ छपाइलाई उच्च प्राथमिकतामा राखिएको जानकारी दिँदै हालसम्म छपाइ हुन बाँकी रहेका करिब २९ लाख ‘लाइसेन्स’लाई २०८३ साल असार मसान्तसम्म छापिसक्ने लक्ष्य राखिएको जानकारी दिए। यसमध्ये आगामी वैशाख १२ गतेभित्र १२ लाख ‘लाइसेन्स’ छपाइ सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको छ भने बाँकी १७ लाख लाइसेन्स छपाइ प्रक्रिया पनि तीव्र रूपमा अघि बढाइएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रीले डा विक्रम तिमिल्सिनाले सुरक्षण मुद्रण केन्द्रलाई ‘लाइसेन्स’ छपाइमा अवरोध आउन नदिन तथा छिटोभन्दा छिटो सबै बाँकी ‘लाइसेन्स’ छाप्न निर्देशन दिएका छन्। मन्त्रालयले नतिजामुखी शासकीय व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्यले १० प्रमुख सुधारात्मक कार्यक्रम समेटिएको विस्तृत कार्ययोजनामा समेत यो विषयलाई प्राथमिकताका साथ राखेको छ ।

मन्त्रिपरिषद्को यही चैत १३ गतेको निर्णयअनुसार सार्वजनिक सेवा प्रवाहलाई नागरिकमैत्री, छरितो, पारदर्शी र प्रविधिमैत्री बनाउने लक्ष्यसहित यो कार्ययोजना अघि बढाइएको हो ।

यसैबीच, सेवाग्राहीलाई थप सहजताका लागि यातायात व्यवस्था विभागले दैनिक रूपमा छपाइ भएका तथा वितरण गरिने लाइसेन्सको विवरण आफ्नो वेबसाइटमार्फत सार्वजनिक गर्न थालेको छ । यसले सेवाग्राहीलाई आफ्नो लाइसेन्सको अवस्थाबारे सहज रूपमा जानकारी लिन सहयोग पु¥याउनेछ ।

त्यस्तै, छपाइ सम्पन्न भएका लाइसेन्स हुलाक सेवामार्फत जतिसक्दो चाँडो देशभरका विभिन्न यातायात कार्यालयमा पठाइने व्यवस्था गरिएको छ । यसले वितरण प्रक्रियालाई समेत व्यवस्थित बनाएको छ । यही गतिमा काम अघि बढ्ने हो भने लामो समयदेखि थाँती रहेको लाइसेन्स वितरणको समस्या निकट भविष्यमै पूर्ण रूपमा समाधान हुने अपेक्षा गरिएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया