बैसाख १६, २०८३ बुधबार April 29, 2026

विदुरमा शैक्षिक उपलब्धिको अवस्था सार्वजनिक : ‘गुणस्तरीय शिक्षा सुधारमा नगरपालिका प्रतिबद्ध’

शिक्षा क्षेत्रमा गुणस्तर सुधारका लागि नगरपालिका कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ, २७ चैत । नुवाकोट जिल्लाकाे विदुर नगरपालिकाले आफू मातहतका विद्यालयहरूको ‘शैक्षिक उपलब्धिको तुलनात्मक अवस्था’ सार्वजनिक गरेको छ।शुक्रबार नगरपालिका कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत कक्षा ५, कक्षा ८ को नगरस्तरीय परीक्षा तथा माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) को पछिल्लो तीन शैक्षिक सत्रको नतिजा विश्लेषण प्रस्तुत गरिएको थियो।

नगरप्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी तथा शिक्षा शाखा प्रमुख नवराज सपाकोटाले संयुक्त रूपमा प्रस्तुत गरेको विवरणमा विगत तीन वर्षमा शैक्षिक उपलब्धि क्रमशः सुधारात्मक रहेको उल्लेख गरिएको छ। साथै, शिक्षाको गुणस्तर अभिवृद्धिका लागि नगरपालिकाले लागू गरेका नवीन कार्यक्रम तथा पहलहरूबारे पनि जानकारी दिइएको थियो।

कार्यक्रममा सामाजिक विकास समितिका संयोजक एवं वडा नं. १ का अध्यक्ष लेनिन रञ्जित, वडा नं. २ का अध्यक्ष दीपक कायस्थ, वडा नं. ४ का अध्यक्ष नीलमबाबु ढुङ्गेल, वडा नं. ५ का अध्यक्ष लिलानाथ न्यौपाने, वडा नं. ९ का अध्यक्ष हरेराम भण्डारी, वडा नं. ११ का अध्यक्ष बाबुराम तामाङ, शिक्षा समितिका सदस्यहरू तथा जिल्लामा क्रियाशील पत्रकारहरूको सहभागिता रहेको थियो।

पत्रकार सम्मेलनमा बोल्दै नगरप्रमुख राजन श्रेष्ठले शिक्षा क्षेत्रमा गुणस्तर सुधारका लागि नगरपालिका कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यसैबीच, प्रकाशित नतिजामा चित्त नबुझेका परीक्षार्थीहरूले बढीमा दुई विषयसम्म पुनर्योग (Re-totaling/Correction) का लागि आवेदन दिन सक्नेछन्। आवेदन दिन इच्छुकले नतिजा प्रकाशन भएको मितिले ५ दिनभित्र प्रतिविषय ५०० रुपैयाँ राजस्व तिरेको भौचर र विद्यालयको सिफारिससहित निवेदन पेश गर्नुपर्ने जनाइएको छ।

त्यस्तै, नियमित परीक्षामा सहभागी हुन नसकेका विद्यार्थीहरूका लागि २०८३ वैशाख ५ गतेदेखि १३ गतेसम्म ग्रेडवृद्धि (Grade Improvement) परीक्षा सञ्चालन गरिनेछ। सम्बन्धित विद्यालयहरूले परीक्षा दिने विद्यार्थी र विषय यकिन गरी आवश्यक विवरण शिक्षा, युवा तथा खेलकुद शाखामा बुझाउनुपर्ने सूचनामा उल्लेख गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया