असार १०, २०८३ बुधबार June 24, 2026

मग्यारको जितपछि युरोप एकमत, ओर्बन युग अन्त्यको सङ्केत

डेन्युब नदी किनारमा हजारौं समर्थकलाई सम्बोधन गर्दै मग्यारले यो विजयलाई सम्पूर्ण राष्ट्रको निर्णयको परिणामका रूपमा प्रस्तुत गरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बुडापेस्ट, चैत ३० गते । हङ्गेरीको ऐतिहासिक चुनावमा पिटर मग्यारको अप्रत्याशित विजयपछि युरोपभरका नेताले उहाँलाई व्यापक समर्थन र बधाई दिएका छन् । यस परिणामलाई लामो समयदेखि सत्तामा रहेका प्रधानमन्त्री भिक्टर ओर्बनको नीतिप्रति युरोपेली असन्तुष्टिको स्पष्ट अभिव्यक्ति र युरोपेली एकताको पुनःस्थापनाको सङ्केतका रूपमा लिइएको छ ।

ओर्बनको १६ वर्षे शासनपछि आएको यो परिवर्तनलाई युरोपेली सङ्घ (इयू)भित्र राजनीतिक मोडका रूपमा हेरिएको छ । धेरै नेताले मग्यारको जितलाई लोकतान्त्रिक मूल्यमान्यताको विजय भन्दै स्वागत गरेका छन् भने केहीले यसलाई युरोपेली एकता सुदृढ गर्ने अवसरका रूपमा चित्रण गरेका छन् ।

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले ‘आज युरोप र युरोपेली मूल्यमान्यताले जितेको छ’ भन्दै सामाजिक सञ्जाल एक्समा प्रतिक्रिया दिनुभएको छ । पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले यसलाई ‘भव्य विजय’ भन्दै उत्सवमय प्रतिक्रिया दिनुभएको छ । बेलायतका प्रधानमन्त्री किर स्टार्मरले यसलाई हङ्गेरी मात्र नभई युरोपेली लोकतन्त्रकै ऐतिहासिक क्षण बताउनुभएको छ ।

डेन्युब नदी किनारमा हजारौं समर्थकलाई सम्बोधन गर्दै मग्यारले यो विजयलाई सम्पूर्ण राष्ट्रको निर्णयको परिणामका रूपमा प्रस्तुत गर्नुभयो । उहाँले हङ्गेरी अब पुनः युरोपेली मार्गमा फर्किने र विभाजनको सट्टा एकतामा अघि बढ्ने सङ्केत गर्नुभयो । चुनाव अघि नै इयुका प्रमुख नेताले मग्यारसँग सम्पर्क बढाएका थिए । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन, नाटो महासचिव मार्क रुट, जर्मन चान्सलर फ्रेडरिक मर्ज र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले उहाँलाई बधाई दिँदै सहकार्यको प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

जर्मनीका चान्सलर मर्जले युरोपलाई ‘बलियो र एकताबद्ध’ बनाउन नयाँ अवसर आएको बताउनुभयो भने स्विडेनका प्रधानमन्त्री उल्फ क्रिस्टरसनले हङ्गेरीसँग नजिकको सहकार्य जारी रहने विश्वास व्यक्त गर्नुभयो । युरोपेली संसद्की अध्यक्ष रोबर्टा मेत्सोलासहित अन्य नेताहरूले पनि लोकतान्त्रिक प्रक्रियाको सम्मान गर्दै परिणामलाई स्वीकार गर्नुभएको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले पनि मग्यारलाई बधाई दिँदै क्षेत्रीय शान्ति र सुरक्षा सुदृढीकरणमा सहकार्यको अपेक्षा व्यक्त गर्नुभयो । युक्रेनले हङ्गेरीसँग सम्बन्ध सुधारले आर्थिक सहायता र इयुको निर्णय प्रक्रियामा सहजता ल्याउने आशा व्यक्त गरेको छ । तर, ओर्बनका केही सहयोगी नेताहरूले भने संयमित प्रतिक्रिया दिएका छन् । इटालीकी प्रधानमन्त्री जोर्जिया मेलोनीले मग्यारलाई बधाई दिँदै ओर्बनको लामो कार्यकालको योगदानलाई पनि सम्मान गर्नुभयो । चेक प्रधानमन्त्री आन्द्रेज बाबिस र स्लोभाक प्रधानमन्त्री रोबर्ट फिकोले नयाँ नेतृत्वसँग सहकार्य गर्ने प्रतिबद्धता जनाउँदै क्षेत्रीय स्थायित्वमा जोड दिनुभयो ।

इयुका केही अधिकारीहरूले खुलेर राजनीतिक टिप्पणी नगरे पनि उर्सुला भोन डेर लेयनले हङ्गेरी ‘फेरि युरोपको बाटोमा फर्किएको’ बताउँदै साझा भविष्य अझ बलियो हुने विश्वास व्यक्त गर्नुभयो । विश्लेषकका अनुसार ओर्बनको नीतिगत अडान, विशेषगरी युक्रेनप्रति दृष्टिकोण र ब्रसेल्ससँगको टकरावले इयुभित्र लामो समयदेखि तनाव सिर्जना गर्दै आएको थियो । मग्यारको उदयले त्यो समीकरण बदल्ने अपेक्षा गरिएको छ । रासस/एपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया