बैसाख ५, २०८३ शनिबार April 18, 2026

बिहारमा नयाँ नेतृत्व, मुख्यमन्त्रीमा सम्राट चौधरी

लामो समयदेखि राज्य राजनीतिमा प्रभाव जमाउँदै आउनुभएका नितिश कुमारको युग समाप्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पटना (बिहार), २ वैशाख (रासस/एएनआई) :भारतको बिहार राज्यमा राजनीतिक इतिहासमै महत्त्वपूर्ण मोड आएको छ । भारतीय जनता पार्टी (भाजपा) का नेता सम्राट चौधरीले बुधबार बिहारको मुख्यमन्त्रीका रूपमा शपथ लिनुभएको छ । यससँगै लामो समयदेखि राज्य राजनीतिमा प्रभाव जमाउँदै आउनुभएका नितिश कुमारको युग समाप्त भएको सङ्केत गरिएको छ ।

राज्यसभामा जाने निर्णय गर्नुअघि एक दशकभन्दा बढी समय बिहारको नेतृत्व सम्हाल्नुभएका नितिश कुमारको उत्तराधिकारीका रूपमा सम्राट चौधरी बिहान राज्यपालको निवास बिहार लोक भवनमा पुग्नुभएको थियो । त्यहीँ बिहारका राज्यपाल सैयद अता हसनैनले उहाँलाई मुख्यमन्त्री पदको शपथ दिलाउनुभएको हो ।

नितिश कुमारको राजीनामापछि चौधरी बिहारका पहिलो भाजपा मुख्यमन्त्री बन्नुभएको छ । सन् २०२५ को विधानसभा चुनावमा राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) ले ऐतिहासिक जित दर्ता गरेपछि उहाँले रेकर्ड १०औँ पटक मुख्यमन्त्रीको रूपमा शपथ लिनुभएको थियो । यसले राज्य राजनीतिमा लामो समयसम्म उहाँको प्रभाव देखाएको थियो ।

तर अब ५७ वर्षीय सम्राट चौधरीले उहाँको स्थान लिँदै बिहारको नेतृत्व सम्हाल्नुभएको छ । उहाँको उदयलाई केवल सत्ता परिवर्तनका रूपमा मात्र नभई बिहारको राजनीतिक युग परिवर्तनका रूपमा पनि हेरिएको छ, जहाँ नितिश कुमारको ‘सुशासन’ केन्द्रित शासन शैलीले लामो समय प्रभाव जमाएको थियो ।

सम्राट चौधरीको राजनीतिक यात्रा रोचक मानिन्छ । राजनीतिमा प्रारम्भिक प्रवेश उहाँले १९९० को दशकमा राष्ट्रिय जनता दल (आरजेडी) बाट गर्नुभएको थियो भने पछि सन् २०१८ मा उहाँ भाजपा प्रवेश गर्नुभएको हो । सन् २०२३ मा उहाँलाई भाजपा प्रदेश अध्यक्ष बनाइएको थियो र सन् २०२४ मा उहाँले बिहारको उपमुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

सन् १९६८ मा जन्मनुभएका चौधरी राजनीतिक रूपमा प्रभावशाली परिवारबाट आउनुभएको हो । उहाँका पिता शकुनी चौधरी तारापुर निर्वाचन क्षेत्रबाट छ पटक विधायक निर्वाचित हुनुभएको थियो भने आमा पार्वती देवीले सन् १९९८ मा तत्कालीन समता पार्टीबाट सोही क्षेत्र जित्नुभएको थियो ।

पहिले नितिश कुमारका कट्टर आलोचक रहनुभएका चौधरी सन् २०२४ मा भाजपा–जेडीयु गठबन्धन पुनः बनेपछि राजनीतिक रूपमा नयाँ भूमिकामा देखिनुभएको थियो । सन् २०२२ मा उहाँले सार्वजनिक रूपमा नितिश कुमारलाई सत्ताबाट हटाएपछि मात्र आफ्नो प्रतीकात्मक ‘मुरेथा’ (पगडी) उतार्ने बताउनुभएको थियो, जसले उहाँको आक्रामक राजनीतिक शैली झल्काउँथ्यो ।

आजको शपथ ग्रहणअघि केन्द्रीय मन्त्री चिराग पासवानले चौधरीलाई भेटेर शुभकामना व्यक्त गर्नुभएको थियो । उहाँले सामाजिक सञ्जाल एक्समा लेख्दै चौधरीको नेतृत्वमा बिहार विकास, सुशासन र समृद्धिको नयाँ चरणमा प्रवेश गर्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

सम्राट चौधरीको नेतृत्वलाई ओबीसी समुदाय, विशेषगरी कोइरी÷कुशवाहा समूहबीच पार्टीको समर्थन विस्तार गर्ने रणनीतिक कदमका रूपमा पनि विश्लेषण गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस् तपाईंको आजको राशिफल
२०८३ बैसाख ५, शनिबार
सर्वोच्चको फैसला जित हारको विषय होइन : महामन्त्रीद्वय
२०८३ बैसाख ५, शनिबार
काँग्रेसमा विशेष महाधिवेशन वैधानिक ठहर, गगन थापा नेतृत्व आधिकारिक (संक्षिप्त आदेशसहित)
२०८३ बैसाख ४, शुक्रबार
सङ्घीय सरकार मातहत रहेका कामलाई प्राथमिकता दिन आग्रह
२०८३ बैसाख ४, शुक्रबार
सुधारका लागि निरन्तर खबरदारी गर्न शिक्षा मन्त्री पोखरेलको आग्रह
२०८३ बैसाख ४, शुक्रबार
पिएम कप इतिहासमा आर्मीको अर्को सफलता : सुदूरपश्चिम ५ विकेटले पराजित
२०८३ बैसाख ४, शुक्रबार
अतिक्रमण र कब्जा गरिएका सम्पत्ति ३५ दिनभित्र फिर्ता गर्न त्रिविको आग्रह
२०८३ बैसाख ४, शुक्रबार