बैसाख ८, २०८३ मंगलबार April 21, 2026

‘शून्य बाँकी फाइल सप्ताह’ सफल

सरकारले शून्य बाँकी फाइल सप्ताह एक हप्ताका लागि मात्र अभियान भनिए पनि अब यो क्रम सधैँ चल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, वैशाख ८ गते । सरकारले गत सातादेखि सुरु गरेको ‘शून्य बाँकी फाइल सप्ताह’ अभियान सफल बनेको छ । अधिकांश सरकारी कार्यालयमा काम हुन नसकी अगाडि नबढेका र कतिपय रोकिएका फाइलको काम अभियान सञ्चालनको एक सातामा सम्पन्न भयो । मुद्दा परेका र कानुन अभावमा रोकिएका फाइलबाहेक सरकारी कार्यालयका अन्य सबैजसो फाइल अगाडि बढी शून्य बाँकी फाइल अभियान सप्ताह सफल प्रायः बनेको जनाइएको छ ।

सरकारले गत २०८२ चैत ३० देखि २०८३ वैशाख ७ गतेसम्म शून्य बाँकी फाइल सप्ताह अभियान सञ्चालन गरेको थियो । अभियान सफल बनाउन सरकारले शून्य बाँकी फाइल सप्ताह अभियान सञ्चालनसम्बन्धी मार्गदर्शन तयार गरी कार्यान्वयनमा ल्याएको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले मन्त्रालय, आयोग, सचिवालय, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र स्थानीय तहलाई परिपत्र गरी शून्य बाँकी फाइल अभियान सप्ताह सञ्चालन गर्न निर्देशन नै दिएको थियो । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सहसचिव डा. भीष्मकुमार भुसालले अधिकांश सरकारी कार्यालयमा यसअगाडि ‘पेन्डिङ’ बसेका कतिपय फाइलको समाधान भएको र कतिपय फाइल समाधानको प्रक्रियामा रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यसअगाडि विभिन्न कारणले अल्झिएका र अल्झाइएका फाइल पनि अहिले समाधानको प्रक्रियामा छन् । कतिपय फाइल त एक सातामा टुङ्गिएर समस्याको समाधान नै भइसकेका छन् । जुन तथ्याङ्क प्रधानमन्त्री कार्यालयमा आउने क्रम जारी छ ।” कतिपय सेवाग्राहीको फाइललाई अड्काउनेभन्दा पनि विधि र प्रक्रियाले फाइल अगाडि बढाउन मिल्दैन भने त्यस्तो फाइल फिर्ता पठाउने र कानुनसम्मत छ भने तत्काल निर्णय गरी काम अगाडि बढाउने काम यस अवधिमा भएका छन् । यसले सेवाग्राही उत्साहित भएको भुसालको भनाइ छ ।

सरकारले शून्य बाँकी फाइल सप्ताह एक हप्ताका लागि मात्र अभियान भनिए पनि अब यो क्रम सधैँ चल्ने भएकाले आगामी दिनमा कुनै पनि सेवाग्राहीको बाँकी फाइल नरहने उहाँले स्प्ष्ट पार्नुभयो । गोरखापत्र दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया