काठमाडौँ, वैशाख ५ गते । आधा सिलिन्डर बिक्री गर्ने सरकारी निर्णय र बिजुलीमा खाना पकाउने प्रवृत्ति बढ्दा ग्यास उद्योगमा सिलिन्डर थन्किन थालेका छन् । अर्कोतिर बजारमा पहिले नै धेरै सिलिन्डर गइसकेकाले बुलेटबाट ग्यास ‘रिफिल’ गर्न नपाएको उद्योगीले जनाएका छन् ।
आधा तौल (७.१ केजी) को सिलिन्डर भर्न थालेपछि सिलिन्डर कम भएर ग्यास बुलेटमा थन्किन थालेका हो । ग्यास आपूर्ति नियमित हुन थालेपछि आयात पनि घटेको छ । नेपाल आयल निगमका अनुसार सामान्य अवस्थामा बजारमा मासिक ४५ हजारदेखि ४८ हजार मेट्रिक ग्यासको माग रहेकोमा १५ दिनको अवधिमा बजारमा १८ हजार मेट्रिक टन मात्र ग्यास आयात भएको छ ।
बजारमा ग्यासको अभाव हुन थालेपछि आपूर्ति व्यवस्था सहज पार्न निगमले २८ फागुनदेखि आधा तौलको सिलिन्डर वितरण गर्न उद्योगीलाई निर्देशन दिएको थियो ।
नेपाल एलपी ग्यास उद्योग सङ्घले आधा तौलको सिलिन्डर वितरण गर्दा खाली सिलिन्डर अभाव भएको र ढुवानी लागतसमेत बढेकाले पूरै सिलिन्डर भरेर बिक्रीवितरण गर्ने व्यवस्था गरिदिन निगमसँग अनुरोध गरेको छ ।
सङ्घले आधा सिलिन्डर ग्यास भरेर बजारमा पठाउँदा सिलिन्डर सबै खपत भएको र ग्यास खपत पनि कम हुँदा बुलेट र कम्पनीमा ग्यास होल्ड गर्नुपर्दा व्यवसायीलाई समस्या परेको जनाएको छ ।
सङ्घका अध्यक्ष दिवान चन्दले आधा तौलको सिलिन्डर वितरण गर्दा ग्यास रिफिलिङ गर्न नसक्दा बुलेटमा ग्यास ‘होल्ड’ भएको जानकारी दिनुभयो । “अहिले बजारमा ग्यासको खपत ५० प्रतिशतले घटेको छ,” उहाँले भन्नुभयो, “रिफिलिङ गर्ने खाली सिलिन्डर नहुँदा बुलेटमा ग्यास मौज्दात राख्न परेको छ ।” इन्धनको मूल्य बढेको र ग्यास ढुवानी लागतसमेत बढेकाले तत्कालका लागि पूरै सिलिन्डर वितरण गर्न निगमसँग अनुरोध गरिएको उहाँले जानकारी दिनुभयो ।
पूरै तौल भएको एक गाडी ग्यास ढुवानी गर्दा २० हजार रुपियाँ ढुवानी भाडा लाग्ने गरेकोमा आधा तौलको ढुवानी गर्न पनि त्यति नै लागत लाग्दा व्यवसायीलाई आर्थिक भार बढेको उहाँको भनाइ छ । सङ्घका अनुसार अहिले कम्पनीमा १२ हजारदेखि १३ हजार मेट्रिक टन र साढे तीन सय बुलेटमा ग्यास मौज्दात रहेको छ । एक बुलेटमा १८ मेट्रिक टन हुने गर्छ । गोरखापत्र दैनिक
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया