काठमाडौँ, वैशाख १ गते । सरकारले आइतबार मन्त्रीपरिषद्का सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरेसँगै सामाजिक सञ्जालमार्फत विभिन्न अनर्गल प्रचारबाजी सुरु भएको छ । कतिपय उच्चपदस्थ व्यक्तिबारे नै व्यक्तिगत स्वाभिमानमै आँच पुग्ने गरी लाञ्छना, आक्षेप र चरित्र हत्याको प्रयास गर्ने काम भइरहेको छ ।
आफूलाई सञ्चारकर्मी बताउने पाँचथरका युट्युबर रोशन पोखरेलले सार्वजनिक रूपमा नै उच्च पदस्थ अधिकारी तथा राजनीतिक व्यक्तिमाथि अनर्गल प्रचार गरी सार्वजनिक गरेको भिडियो सन्देशले तरङ्ग सिर्जना ग¥यो । विवादस्पद रूपमा चरित्रहत्या गर्ने उद्देश्यले तयार पारिएको उक्त सामग्री युट्युबले हटाइदिएको छ ।
जेनजी युवा अमिशा पराजुलीमाथि प्रयोग गरिएका घृणास्पद शब्द, धाक, धम्की, अश्लील गालीगालौज सामाजिक सञ्जालमा हेरिसाध्य छैन । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा दिएको अभिव्यक्तिप्रति असहमति जनाउन पराजुलीको चरित्रहत्या गर्नेमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । गलत टेलिफोनको विवाद बढ्दै जाँदा गत हप्ता ललितपुरको पाटनमा दुई युवा दाजुभाइको हत्या भयो ।
पछिल्लो हप्ता सामाजिक सञ्जालको दुरुपयोगका यी केही साइबर अपराधका प्रतिनिधि घटना हुन् । विभिन्न सामाजिक सञ्जालको दुरुपयोग गरी पूर्वप्रधानमन्त्री–मन्त्रीदेखि नेता कार्यकर्ता, कर्मचारी, सुरक्षा प्रमुख, कलाकार, खेलाडी र स्वयं सञ्चारकर्मी नै ‘साइबर बुलिङ’ को शिकार बन्नु पछिल्लो समय सामान्य जस्तै बन्न लागेको छ ।
नेपाल प्रहरीको साइबर ब्युरोमा पुग्ने अधिकांश पीडित सामाजिक सञ्जाल दुरुपयोगको सिकार बन्ने गरेको पाइएको छ । ब्युरोका अनुसार पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोगमार्फत यस्ता घटना गुणात्मक रूपमा वृद्धि भइरहेका छन् । पछिल्लो पाँच वर्षमा यस्ता घटनाबाट आठ हजार १३२ जना पीडित बनेका छन् । ब्युरोका अनुसार आर्थिक वर्ष २०७८/७९ मा ९७९ वटा मुद्दा दर्ता भएका थिए । त्यसपछिका वर्षमा क्रमशः वृद्धि हुँदै आव २०७९/८० मा एक हजार ६५६ र आव २०८०/८१ मा एक हजार २२ र यस आवको आठ महिनामा मात्र दुई हजार ६७८ वटा मुद्दा दर्ता भएका छन् ।
साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीपकुमार गिरी सामाजिक सञ्जालको दुरुपयोग गरी हुने गरेका अपराधका घटना वृद्धि भइरहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सामाजिक सञ्जालबाट गाली गलौज गर्ने, धाकधम्की दिने, अश्लीलगालीगलौज गरी चरित्रहत्या, ठगी तथा स्क्याममा पर्ने पीडितको सङ्ख्या एकपछि अर्को गरी वृद्धि भइरहेको छ ।”
गिरीका अनुसार कतिपय पीडक अज्ञान र आवेगमा आई यस्ता घटनामा संलग्न हुने गरेको र कतिपय नक्कली आवरणमा योजनाबद्ध रूपमा नै यस्ता अपराधमा संलग्न हुने गरेका छन् । यस्ता घटना निरुत्साहित गर्न नेपाल प्रहरी, गृह प्रशासन तथा सामाजिक क्षेत्रबाट विभिन्न प्रयास भइरहेको ब्युरोले जनाएको छ । नेपालमा सामाजिक सञ्जालको प्रयोग निर्वाध रहे पनि यसको नियमनका लागि सम्बन्धित सामाजिक सञ्जालको कुनै आधिकारिक कार्यालय नभएका कारण कारबाहीको प्रक्रिया निकै जटिल बन्दै गइरहेको छ ।
कुनै पनि व्यक्तिको बोली र विषयलाई दुरुपयोग गर्ने, एआईबाट फेक भिडिओ बनाएर कमेन्ट बक्स र सामाजिक सञ्जालमा गाली गर्ने मानसिकता पछिल्लो समय बढ्दो क्रममा रहेको पाइएको छ । सामाजिक सञ्जाल तथा विभिन्न भर्चुअल प्लेटफर्ममार्फत विशेष गरी साइबर बुलिङ, दुव्र्यवहार, अपमानजनक व्यवहार, घृणा र टीकाटिप्पणीले किशोरीहरू मानसिक उत्पीडनको सिकार बन्ने गरेका छन् । यस्ता घटनाले व्यक्तिको आत्मसम्मान, मानसिक स्वास्थ्य तथा सामाजिक सुरक्षामा गम्भीर असर पार्ने भन्दै रोकथामका लागि सामूहिक प्रयास र कारबाहीको दायरा वृद्धि हुनुपर्ने आवाज बढ्न थालेको छ । गोरखापत्र दैनिकबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया