बैसाख ४, २०८३ शुक्रबार April 17, 2026

क्रियाशील सदस्यता खारेजको तयारीले कांग्रेसमा नयाँ विवाद

१८ चैतमा बसेको कांग्रेस केन्द्रीय अनुशासन समितिले कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गरे कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । पार्टीका पुराना सबै क्रियाशील सदस्यता खारेज गर्ने सभापति गगनकुमार थापाको घोषणाले नेपाली कांग्रेसको जारी विवादले नयाँ मोड लिएको छ । २१ फागुनको प्रतिनिधिसभा निर्वाचनमा लज्जास्पद पराजय भोगेको कांग्रेस यतिबेला चुनावी समीक्षा गर्न भन्दै प्रदेशस्तरीय भेला गरिरहेको छ ।

पार्टी सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मासहितका पदाधिकारीहरू हरेक प्रदेशको मुख्य सहरहरू पुगेर चुनावी समीक्षा भेलामा नेता तथा कार्यकर्तालाई निर्देशन दिँदै हिँडिरहेका छन् । गत बुधबार मधेस प्रदेशको राजधानी जनकपुरमा आयोजना गरिएको चुनावी समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले पार्टीका पुराना सबै क्रियाशील सदस्यता खारेज भएको घोषणा गर्नुभएको थियो । मधेस प्रदेशस्तरीय निर्वाचन समीक्षा गोष्ठीलाई सम्बोधन गर्नेक्रममा थापाले अब नयाँ प्रणाली र नयाँ जोसका साथ सदस्यता वितरण गरिने बताउनुभएको थियो ।

कांग्रेसले आज (वैशाख १ गते) देखि देशभर ‘जरा अभियान’ सुरु गर्दै छ । अभियानले पार्टीको संगठनलाई वडा तहदेखि नै पुनर्गठित गर्ने लक्ष्य कांग्रेसले राखेको छ । तर, पुराना पद्धति र प्रणालीबाट बनेका सबै क्रियाशील सदस्यता निर्वाचनपछि स्वतः खारेज भएको भन्ने पार्टी सभापति थापाको अभिव्यक्तिले हाल कांग्रेसमा तरंग उत्पन्न भएको छ । विशेष महाधिवेशनबाट किनारामा पारिएको पुरानो संस्थापन अर्थात् शेरबहादुर देउवा समूहले सभापति थापाको तयारीलाई काउण्टर दिएको छ । थापालाई काउण्टर दिन देउवा समूहबाट कार्यवाहक सभापतिकै हैसियतमा पूर्णबहादुर खड्काले विज्ञप्तिमार्फत कडा चेतावनी दिनुभएको छ ।

कुनै नेताले लहडमा भाषण गरेर पार्टी सदस्यता खारेज गर्न सक्दैन : खड्का

कांग्रेसको संस्थापनइतर समूहले पार्टी सदस्यता कुनै नेताले लहडमा भाषणमार्फत खारेज गर्न नसक्ने चेतावनी दिएको छ । निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सोमबार कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरेर पार्टी सदस्यताबारे समूहको धारणा सार्वजनिक गर्नुभएको हो ।

खड्काले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘निर्दलीय निरंकुश पञ्चायती व्यवस्थामा नेपाली कांग्रेस पार्टी प्रतिबन्धित रहेको बेला ज्यान हत्केलामा राखेर लिएको पार्टी सदस्यता कुनै नेताले आवेग, उत्तेजना वा लहडमा भाषणमार्फत खारेज गरिने विषय होइन, हुन सक्दैन ।’ पार्टीको सदस्यता कुनै नेताको हारजितसँग नभएर नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, लोकतन्त्र र नागरिक स्वतन्त्रताको लडाइँ, योद्धाहरूको योगदान र शहादत प्राप्त गरेका शहीद परिवारको सम्मानसँग जोडिएको ऐतिहासिक निस्सा भएको जिकिर गर्दै खड्काले भन्नुभएको छ, नेपाली कांग्रेसको क्रियाशील सदस्यता व्यक्तिको पार्टी आबद्धताको प्रमाणपत्र मात्रै होइन,पार्टीको ऐतिहासिक जीवनसँग जोडिएको योगदान र निरन्तरताको निस्सा हो ।

पार्टीको महाधिवेशनले वैधानिक व्यवस्था गरेमा बाहेक आम सदस्यहरूको क्रियाशील सदस्यता खारेज कसैले पनि गर्न सक्दैन ।’ पार्टीभित्र र बाहिर देखिएका विभिन्न उतारचढावका बाबजुद संयम, धैर्य र अविचलित भएर विधानले निर्धारण गरेको र पार्टीले पहिल्यै निर्णय गरेको कार्यतालिकाभित्रै नवीकरण तथा नयाँ सदस्यता लिन चाहने तर छुटेकालाई समेत उचित अवसर दिएर १५औँ महाधिवेशन सम्पन्न गरिने खड्काको भनाइ छ ।

विशेष महाधिवेशन अघि १५ माघमा कार्यवाहक सभापति खड्काको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसमिति बैठकले आगामी वैशाख २८-३१ मा १५औँ महाधिवेशनको कार्यतालिका सर्वसम्मत पारित गरेको थियो । तर, तोकिएको समयमा १५औँ महाधिवेशन हुन सकेन । तत्कालीन संस्थापन पक्ष प्रतिनिधिसभा निर्वाचनपछि र तत्कालीन महामन्त्री गगन थापा समूह निर्वाचन अगावै नियमित महाधिवेशन गर्नुपर्नेमा विभक्त थियो । थापा समूहले नियमित महाधिवेशनको सम्भावना नदेखिएपछि अन्ततः गत पुस अन्तिम साता विशेष महाधिवेशन आयोजना गर्‍यो ।

प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनले पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित भएको केन्द्रीय कार्यसमिति भंग गरेर थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्‍यो । प्रतिनिधिसभा निर्वाचनपछि सभापति थापाले बैठकले बुधबार मात्रै अर्को वर्षको १६–१९ असोजमा पार्टीको १५औँ महाधिवेशन गर्ने निर्णय गरेको छ । संस्थापनइतर समूहले उक्त तालिकाप्रति पनि आपत्ति जनाएको छ । १८ चैतमा बसेको कांग्रेस केन्द्रीय अनुशासन समितिले कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गरे कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो ।हिमालय टाइम्सबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सर्वोच्चको फैसला जित हारको विषय होइन : महामन्त्रीद्वय
२०८३ बैसाख ५, शनिबार
काँग्रेसमा विशेष महाधिवेशन वैधानिक ठहर, गगन थापा नेतृत्व आधिकारिक (संक्षिप्त आदेशसहित)
२०८३ बैसाख ४, शुक्रबार
सङ्घीय सरकार मातहत रहेका कामलाई प्राथमिकता दिन आग्रह
२०८३ बैसाख ४, शुक्रबार
सुधारका लागि निरन्तर खबरदारी गर्न शिक्षा मन्त्री पोखरेलको आग्रह
२०८३ बैसाख ४, शुक्रबार
पिएम कप इतिहासमा आर्मीको अर्को सफलता : सुदूरपश्चिम ५ विकेटले पराजित
२०८३ बैसाख ४, शुक्रबार
अतिक्रमण र कब्जा गरिएका सम्पत्ति ३५ दिनभित्र फिर्ता गर्न त्रिविको आग्रह
२०८३ बैसाख ४, शुक्रबार
आमा र छोरीबीचको कथामा बनेको ‘लालीबजार’ को ट्रेलर सार्बजनिक
२०८३ बैसाख ४, शुक्रबार