काठमाडौं । निर्वाचनमा अपेक्षित नतिजा आउन नसकेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र बढेको आन्तरिक विवाद सतहमै देखिएको छ । पार्टी नेतृत्वको कार्यशैलीलाई लिएर सुरु भएको असन्तुष्टि गुटगत संघर्षमा परिणत भएको छ ।
एकातिर अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई ‘खरानी पार्न खोज्नेहरू’सँग कुनै सम्झौता नगर्ने कठोर नीति अख्तियार गर्नुभएको छ भने अर्कोतिर महामन्त्री धवलशमशेर राणा नेतृत्वको असन्तुष्ट पक्षले तत्काल महाधिवेशनको मिति तोक्न नेतृत्वलाई अल्टिमेटम दिएको छ । यसैबीच, पार्टीभित्रको बढ्दो ध्रुवीकरणलाई लक्षित गर्दै सांसद ज्ञानेन्द्र शाहीले फरक विचारलाई सम्मान गर्न नसके पार्टीमा तानाशाही प्रवृत्ति हाबी हुनसक्ने भन्दै नेतृत्वलाई सचेत गराउनुभएको छ ।
नेतृत्वको कार्यशैलीलाई लिएर असन्तुष्ट पक्षले मोर्चाबन्दी कसेपछि अध्यक्ष लिङ्देन निकै आक्रामक रूपमा प्रस्तुत हुनुभएको छ । सोमबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संस्थापन इतर पक्षका नेताहरूमाथि प्रहार गर्नुभयो । महामन्त्री राणा लगायतका नेताहरूलाई लक्षित गर्दै अध्यक्ष लिङ्देनले भन्नुभयो, ‘पार्टीभित्रै रहेर पार्टीलाई नै खरानी पार्न खोज्नेहरूसँग अब कुनै सम्झौता हुनेछैन ।’
आफ्नो जिल्लामा वडा समिति बनाउन नसक्ने, चुनावमा पार्टीका उम्मेदवारलाई नसघाउने र राप्रपालाई राष्ट्रिय पार्टी बन्नबाट रोक्न खोज्नेहरूको कुनै कुरा नसुनिने उहाँले स्पष्ट पार्नुभयो । यद्यपि, महाधिवेशन सारेर आफ्नो कार्यकाल लम्ब्याउने पक्षमा आफू नरहेको भन्दै उहाँले वैधानिक तवरले उचित समयमा महाधिवेशन सम्पन्न गर्न पार्टी नेतृत्व तयार रहेको बताउनुभयो ।
वर्तमान समस्याको वैधानिक समाधान महाधिवेशन नै भएको उहाँको भनाइ छ । साथै, उहाँले संसद्मा प्रतिपक्ष कमजोर भएको अवस्थामा सरकारको गलत कार्यको सडक र सदनबाट प्रतिवाद गर्ने घोषणा गर्दै गृहमन्त्रीको विषयमा सरकारले तत्काल आफ्नो धारणा स्पष्ट पार्नुपर्ने माग राख्नुभयो ।हिमालय टाइम्स
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया