बैसाख ११, २०८३ शुक्रबार April 24, 2026

सर्लाहीको मलङ्गवामा ११ अवैध स्वास्थ्य संस्था सिल, सञ्चालक फरार

दर्ता भएर सञ्चालनमा रहेका पाँच वटा स्वास्थ्य संस्थालाई नवीकरण वा अन्य कानुनी प्रक्रिया पूरा गर्न निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

वैशाख ११ गते । सर्लाही सदरमुकाम मलङ्गवामा अवैध रूपमा सञ्चालनमा रहेका ११ वटा स्वास्थ्य संस्था शिल गरिएको छ । अनुगमनका क्रममा दर्ता नै नभएको भेटिएपछि अस्पताल, पोलिक्लिनिक, हेल्थकेयरलगायतका स्वास्थ्य संस्था शिल गरिएको हो । सदरमुकाम मलङ्गवामा अवैध स्वास्थ्य संस्थाको बिगबिगी रहेको जनगुनासो बढेपछि बिहीबार जिल्ला प्रशासन कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय, स्वास्थ्य कार्यालय, नगरपालिका, प्रादेशिक अस्पताल र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगन्जको टोलीले संयुक्त रूपमा अनुगमन गरेको थियो ।

त्यसक्रममा अवैध रूपमा सञ्चालित स्वास्थ्य संस्था शिल गरिएको सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले जानकारी दिनुभयो । अनुगमन टोलीले सर्लाही पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, ठाकुर सेवा उपचार, कल्याण हेल्थ केयर, सिद्धिगणपति पोलिक्लिनिक, प्रेमा हेल्थ केयर सेन्टर, अन्जली पोलिक्लिनिक, महतो क्लिनिक/निलम फार्मेसी, माली मेडिकल, जय माँ सुनैना हेल्थ केयर, लाइफ लाइन मेडिमेयर पोलिक्लिनिक र नाम नभएको एउटा अल्ट्रासाउन्ड गर्ने क्लिनिक बन्द गराएको छ ।

शिल गरिएकामध्ये चार वटा स्वास्थ्य संस्था दर्ता नभएको पाइएको छ भने अन्य सात वटा स्वास्थ्य संस्था अनुगमन टोली आएको सुइँको पाएपछि बन्द गरेर सञ्चालक फरार भएका पाइएको सहायक सिडिओ घिमिरेले बताउनुभयो । सञ्चालक नभेटिएको तथा बन्द अवस्थामा रहेका स्वास्थ्य संस्थामा अनुगमन टोलीले शिल गरेको हो ।

बिहीबार मलङ्गवाका १६ वटा स्वास्थ्य संस्थाको अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ । त्यसमध्ये दर्ता भएर सञ्चालनमा रहेका पाँच वटा स्वास्थ्य संस्थालाई नवीकरण वा अन्य कानुनी प्रक्रिया पूरा गर्नुपर्ने अवस्था देखिएकाले एक साताभित्र आवश्यक प्रक्रिया पूरा गर्न निर्देशन दिइएको छ ।

यसअघि २०८१ साल फागुन अन्तिम साता मधेश प्रदेशका तत्कालीन मुख्यमन्त्री सतीशकुमार सिंहले गरेको अनुगमनमा मलङ्गवाका अधिकांश पोलिक्लिनिक तथा अस्पताल अवैध रहेको पाइएपछि बन्द गराइएको थियो । त्यसबेला मलङ्गवामा १९ वटा स्वास्थ्य संस्थाको अनुगमन गर्दा दर्ता नभएका तथा मापदण्ड पूरा नगरेका १५ वटा स्वास्थ्य संस्था बन्द गर्न निर्देशन दिइएको थियो ।

अवैध रूपमा सञ्चालनमा रहेका क्लिनिक तथा अस्पतालहरूले बिरामीलाई मनपरी उपचार गर्ने, चर्को शुल्क असुल्ने, अदक्ष स्वास्थ्यकर्मी राख्ने र बिरामीको स्वास्थ्यमा खेलवाड गर्ने गरेको गुनासो आउने गरेको छ । एक वर्षअघि तत्कालीन मुख्यमन्त्री सिंहले सर्लाहीका मलङ्गवा, लालबन्दी, नवलपुर, हरिवन, नयाँरोड, बरहथवा लगायतका स्थानमा यस्ता स्वास्थ्य संस्था बन्द गराउनुभएको थियो । तर तीमध्ये धेरै पुनः खुलेआम सञ्चालनमा आएको पाइएको छ ।

अनुगमनको मुख्य जिम्मेवारी पाएका स्थानीय तहले यसतर्फ पर्याप्त ध्यान नदिएको आरोप लाग्दै आएको छ । केही महिनाअघि मात्र लालबन्दी नगरपालिका–१ नवलपुरमा अवैध रूपमा सञ्चालित एक आयुर्वेद औषधालयमा उपचारका लागि ल्याइएकी किशोरीको मृत्यु भएको घटना सार्वजनिक भएको थियो ।

पछिल्लो समय नवलपुर क्षेत्र अवैध पोलिक्लिनिक र अस्पतालको ‘हब’ बनेको स्थानीयवासीको भनाइ छ । गत वर्ष स्वास्थ्य संस्थाको अनुगमनका क्रममा स्वास्थ्यकर्मीसँग हातपात भएपछि मुद्दा झेल्नुपरेको भन्दै लालबन्दी नगरपालिकाका जनप्रतिनिधिहरू अनुगमनमा हच्किएको पनि बताइएको छ ।

लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख मुमताज मिकरानीले गत वर्षको घटनापछि जनप्रतिनिधिहरू डराएकाले स्वास्थ्य संस्थाहरूको अनुगमन नियमित रूपमा हुन नसकेको स्वीकार गर्नुभएको छ । उहाँका अनुसार अवैध स्वास्थ्य संस्थालाई पटक–पटक पत्राचार गरी बन्द गर्न निर्देशन दिइए पनि अटेरी गर्ने प्रवृत्ति कायम छ । गोप.

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न एमालेको आग्रह
२०८३ बैसाख ११, शुक्रबार
देशप्रति इमानदार, आशा र विश्वासको दृष्टिकोण आवश्यक छ : अध्यक्ष दाहाल
२०८३ बैसाख ११, शुक्रबार
सर्लाहीको मलङ्गवामा ११ अवैध स्वास्थ्य संस्था सिल, सञ्चालक फरार
२०८३ बैसाख ११, शुक्रबार
धादिङ, नुवाकोट र रसुवाका बस अब नयाँ बसपार्कबाट मात्रै छुट्ने
२०८३ बैसाख ११, शुक्रबार
पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा
२०८३ बैसाख ११, शुक्रबार
लुम्बिनी प्रदेशमा चैते धानखेतीको क्षेत्रफल घट्दै
२०८३ बैसाख ११, शुक्रबार
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
२०८३ बैसाख ११, शुक्रबार