काठमाडौँ ।बागमती र त्यसका सहायक नदी किनारबाट हटाइएका सुकुमबासीका लागि सरकारले त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा स्वास्थ्य शिविरमार्फत बहुआयामिक स्वास्थ्य सेवा उपलब्ध गराइरहेको जनाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा विकास देवकोटाले सकेसम्म धेरै नागरिकलाई समेटेर स्वास्थ्य उपचार सेवा प्रदान गर्ने प्रयास भइरहेको बताउनुभयो । उहाँका अनुसार शिविरमा बालरोग, स्त्रीरोग, दन्त उपचार तथा मनोसामाजिक परामर्श सेवा सञ्चालन गरिएको छ ।
रङ्गशालामा आफ्नो विवरण टिपाउन आउनेहरूले त्यहाँ सञ्चालित स्वास्थ्य सहायता एवं उपचार कक्षमार्फत स्वास्थ्य सेवा उपलब्ध गराइरहेको हो ।
दशरथ रङ्गशालास्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको नेतृत्वमा बहिरङ्ग (ओपिडी) सेवा सञ्चालन भइरहेको छ । अस्पतालका निर्देशकसहित पाँच जना स्वास्थ्यकर्मीको टोली खटिनु भएको छ ।
यस्तै, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबाट एक चिकित्सक र एक नर्स, पाटन मानसिक अस्पतालबाट चिकित्सक र नर्स गरी चार जना तथा कान्ति बाल अस्पतालबाट बालरोग विशेषज्ञसहित नर्स खटिनुभएको छ ।
पाटन मानसिक अस्पतालका डा वासुदेव कार्कीले मनोसामाजिक परामर्श लिन आउनेलाई परामर्शसँगै आवश्यक औषधि उपलब्ध गराउने काम भइरहेको जानकारी दिनुभयो ।
कान्ति बाल अस्पतालका डा जगरनाथ साहले बालबालिकासम्बन्धी स्वास्थ्य समस्याको उपचारका लागि आफूहरूसँगै नर्स टोली परिचालित रहेको जानकारी दिनुभयो ।
स्वास्थ्य मन्त्रालयका अनुसार औषधि तथा आवश्यक स्वास्थ्य सामग्री औषधि व्यवस्थापन महाशाखा र स्वास्थ्य सेवा विभागसँग लोजिस्टिक समन्वय भइरहेको छ । कीर्तिपुर क्षेत्रमा वीर अस्पतालले नेतृत्व लिएर सेवा सञ्चालन गरिरहेको छ ।
उहाँले विस्थापित नागरिकलाई बसोबास गुमाउँदा मनोसामाजिक तनाव हुन सक्ने, केहीमा पुराना रोग वा सङ्क्रमण देखिन सक्ने भएकाले प्रारम्भिक पहिचान र उपचारका लागि स्वास्थ्य शिविर महत्वपूर्ण भएको बताउनुभयो । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया