सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका व्यवसायी दीपक भट्टर सुलभ अग्रवाल जोडिएका आठवटा इन्स्योरेन्स कम्पनी छानबिनमा परेका छन्। नेपाल धितोपत्र बोर्डले व्यवसायी भट्ट र अग्रवालले गरेको धितोपत्र कारोबारमा गम्भीर अनियमितता भएको निष्कर्ष निकाल्दै ती कम्पनीमाथि थप छानबिन थालेको हो।
ती इन्स्योन्स कम्पनीले प्राथमिक सेयर (आइपिओ) जारी गर्नुअघि नै संस्थापक सेयर जारी गरेर लगानी जुटाउन अनौपचारिक रूपमा प्रि–आइपिओ ल्याउँदा अनियमितता गरेको आशंकामा छानबिन थालिएको हो। प्रि–आइपिओका नाममा रकम उठाउँदा बदमासी गरेको आशंका विभागको छ। विभागले अनुसन्धानका लागि ती कम्पनीको वित्तीय विवरणसमेत माग गरेको छ। धितोपत्र बोर्डले बेलाबेलामा यस्तो कारोबार नगर्न सूचना जारी गर्दै आएको भए पनि त्यसलाई बेवास्ता गरेर प्रि–आइपीको नाममा रकम उठाउने चलन छ। अहिले पनि कतिपय सन्दर्भमा कतिपय कम्पनीले प्रि–आइपिओका नाममा रकम उठाउने क्रम रोकिएको छैन।
यसरी रकम उठाउँदा सबैले अंकित मूल्यमा सेयर पाउँदैनन्। विभिन्न तहबाट यस्तो सेयर अंकित मूल्यभन्दा बढीमा बिक्री गरिन्छ। यसरी आउने रकम कम्पनीको खातामा नभई बिक्रीकर्ताकै खातामा जम्मा हुने भएकाले ती कम्पनीलाई छानबिनको दायरामा राखिएको हो। छानबिनका लागि ती कम्पनीको संस्थापक सेयर किन्नेको विवरण बुझाउन विभागले सूचना जारी गरिसकेको छ।
विभागले नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स, लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स, प्रोटेक्टिभ इन्स्योरेन्स कम्पनी, स्टार माइक्रो इन्स्योरेन्स कम्पनी, ट्रस्ट माइक्रो इन्स्योरेन्स कम्पनी र हिमालयन रि–इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर खरिद गर्नेको विवरण मागेको छ।
यो विषयमा धितोपत्र बोर्डले प्रारम्भिक जाँचबुझ प्रतिवेदन तयार पारी सरकारलाई बुझाइसकेको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) द्वारा गठित अनुसन्धान बोर्डका कार्यकारी निर्देशक रुपेश केसीले भट्टको कारोबारबारे प्रारम्भिक प्रतिवेदन तयार पारेका थिए। बोर्डका अर्का कर्मचारी दीपेश ताम्राकारले अग्रवाल र उनका छोरा कृषव अग्रवालको कारोबारबारे छानबिन गरेका थिए। केसी र ताम्राकारले छानबिन प्रतिवेदन बोर्डलाई बुझाइसकेको र त्यही आधारमा विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान गरिरहेका छन्।
विभागको पत्राचारपछि नेपाल धितोपत्र बोर्डले उनीहरुको कारोबारबारे अनुसन्धान गरेको थियो । भट्टले धितोपत्र ऐनविपरीत कृत्रिम कारोबार गरी बजार प्रभावित पारेको बोर्डको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनमा भट्टले वास्तविक लेनदेनबिना नै उधारोमा सेयर कारोबार गरी कृत्रिम रूपमा मूल्य वृद्धि गराएको ठहर गरिएको छ। भट्टले आफू र आफ्नो परिवारको स्वामित्व रहेका हिमालयन रि–इन्स्योरेन्स, गार्डियन माइक्रो लाइफ र नेपाल माइक्रो इन्स्योरेन्सजस्ता कम्पनीबिच आपसमा सेयर खरिद–बिक्री गरी मूल्यमा उतारचढाव ल्याएको भन्दै उनलाई प्रतिवेदनमा मुख्य आरोपित बनाइएको छ।
प्रतिवेदनमा शुभी अग्रवाल, ऋषिराज मोर र राजबहादुर शाहलाई पनि मतियारका रूपमा राखिएको छ। यसैकारण उनीहरु अहिले फरार छन्। व्यवसायी शेखर गोल्छा र रोहित गुप्तामाथि पनि यो कसुरमा सहयोग गरेको आरोप छ। यसै आधारमा विभागले अनुसन्धानका लागि गोल्छालाई पक्राउ गरेको थियो। उनी अदालतको आदेशमा धरौटीमा छुटेका छन्। धितोपत्र बोर्डले धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ९४, ९५ र ९६ बमोजिमको कसुर भएको देखिएकाले थप अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाउन सिफारिस गरेकाले सोहीअनुसार भैरहेको छ।
बोर्डबाट भएको अनुसन्धानका क्रममा धितोपत्र दलाल व्यवसायी भृकुटी स्टक ब्रोकिङ कम्पनीले भट्टलाई २५ प्रतिशत अग्रिम भुक्तानीबिनै सेयर बिक्री गरेको खुलेको थियो तर कारोबार गर्दा नबिल डिबेन्चर (एलबिएलडी–०८५), एनआइएमबी डिबेन्चर २०९० (एनआइएमबिडी–९०), नेपाल एसबिआई बैंक डिबेन्चर–२०८३ (एसबिआइडी–८३), एसबिएलडी डिबेन्चर–२०८९ (एसबिएलडी–८९) र नेपाल रिइन्स्योरेन्स कम्पनी (एनआरआइसी) खरिद गर्दा रकम भुक्तानी गरेको देखिँदैन। धितोपत्र कारोबार सञ्चालन नियमावली–२०७५ को विनियम ८ बमोजिम अग्रिम करबापत (कम्तीमा २५ प्रतिशत) रकम बुझाउनुपर्ने व्यवस्था छ तर भट्टले सेयर खरिद गर्ने क्रममा सो व्यवस्था उल्लंघन गरेको बोर्डको अनुसन्धान प्रतिवेदनले औंल्याएको छ।
धितोपत्र दलाल व्यवसायी भृकुटी स्टक ब्रोकिङ कम्पनीले कारोबार भएको दिनबाहेक दुई कार्य दिनभित्र खरिदकर्ता ग्राहकबाट रकम लिने र बिक्री कर्तालाई दिनुपर्नेमा सो गरेको नपाइएको पनि प्रतिवेदनमा उल्लेख छ। नियमावली र विनियमावलीको व्यवस्था मिचेर भट्ट र धिपोपत्र कारोबार गर्ने उक्त दलाल कम्पनी मिलेर एनआरआइसीको सेयर मूल्य बढाउने नियत राखेको देखिएको प्रतिवेदनमा भनिएको छ।
भट्टले भृकुटी स्टक ब्रोकिङ कम्पनीमार्फत २०८२ साउन ५ देखि चैत १ गतेसम्म विभिन्न मितिमा ३ अर्ब ८० करोड ५३ लाख रुपैयाँ बढीको सेयर खरिद तथा ९३ करोड ५ लाख ९२ हजार रुपैयाँ बढीको सेयर बिक्री गरेको प्रतिवेदनमा उल्लेख छ। उक्त अवधिमा भृकुटी स्टक ब्रोकिङ कम्पनीले भट्टबाट कुनै पनि रकम लिएको नदेखिएको उल्लेख छ।
भट्टले सेयर खरिदबापतको २ अर्ब ८९ करोड २० लाख ४८ हजार रुपैयाँभन्दा बढी रकम धिपोपत्र दलाल कम्पनी भृकुटीलाई तिर्न बाँकी छ। रकम लेनदेन नगरी सेयर कारोबार गरेका भट्ट र धितोपत्र दलाल कम्पनी भृकुटीबिचको साँठगाँठमा नेपाल रि–इस्न्स्योरेन्स कम्पनीको सेयर मूल्य बढाएको बोर्डको अनुसन्धानले देखाएको छ। २०८२ साउन ५ गते दिउँसो १२ बजेर ५६ मिनेटमा प्रतिकित्ता १४६१ रुपैयाँ रहेको उक्त कम्पनीको मूल्य ३ बजेर ५९ मिनेट जाँदा बढाएर १६८६ रुपैयाँ १० पैसा पु¥याइएको छानबिनका क्रममा भेटिएको थियो।
भट्ट र धितोपत्र दलाल कम्पनीबिचको मिलेमतोमा लगानीकर्ता तथा समग्र धितोपत्रको दोस्रो बजार प्रणालीलाई झुक्याइ सेयर बढाएर धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ९६ को उपदफा १ र ९८ बमोजिम कसुर गरेको ठहर अनुसन्धान प्रतिवेदनको छ। यसमा मुख्य रुपमा भट्ट र धितोपत्र दलाल कम्पनी भृकुटी स्टक ब्रोकिङको संलग्नता देखिएको भए पनि हिमालयन रि–इन्स्योरेन्स कम्पनी, हिमालयन क्यापसर्व लिमिटेड, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड, हिमालय सेक्युरिटिज बैंकर लिमिटेड, एचएलआई लार्ज क्याप फण्ड, रोहित गुप्ता र गोल्छाको पनि रकम प्रयोग भएको देखिएको छ।
यस्तै शुभश्री अग्रवाल, हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड, ऋषिराज मोर र राजबहादुर शाहसमेत अस्वाभाविक रुपमा नेपाल रिइन्स्योरेन्स कम्पनी (एनआरआइसी) को सेयर मूल्य बढाउने चलखेलमा संलग्न भएको खुलेको छ। सर्वसाधारणले लगानी गरेको (पब्लिक) कम्पनीको रकम अवैध रुपमा अपचलन गरी व्यक्तिका नाममा सेयर किनेर भट्ट र उनका साझेदार व्यक्ति तथा कम्पनीले गम्भीर आर्थिक अपराध गरेका प्रतिवेदनको ठहर छ।
नेपाल धितोपत्र बोर्डको अनुसन्धान प्रतिवेदनअनुसार हिमालय सेक्युरिटिज बैंकर लिमिटेडको सेयरधनी लगतबमोजिम उक्त संस्थामा हिमालयन रिइन्स्योरेन्स लिमिटेडको ७५ प्रतिशत, भट्टको ७ प्रतिशत, गोल्छाको २.५ प्रतिशत सेयर स्वामित्व छ। त्यस्तै हिमालयन इन्भेस्टमेन्ट बैंकर लिमिटेडको सेयरधनी लगतबमोजिम उक्त संस्थामा भट्टकी पत्नी आयुष्मा नेपालको ८.२५ प्रतिशत सेयर स्वामित्व छ। हिमालयन इन्भेस्टमेन्ट बैंकर लिमिटेडले एचएलआई लार्ज क्याप फण्ड नामक सामूहिक लगानी कोष योजना सञ्चालन गरेको छ।
हिमालयन रि–इन्स्योरेन्स कम्पनी लिमिटेडले बोर्डमा पेस गरेको संस्थापक सेयरधनीको सेयर लगतबमोजिम उक्त संस्थामा भट्ट एकल सञ्चालक रहेको इन्फिनिटी होल्डिङस् प्रालि (हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडको बोर्डबाट स्वीकृत विवरणपत्रको दफा ग.५.क को बुँदा नं. २ बमोजिम) को ४.५ प्रतिशत, गोल्छा सञ्चालक रहेको हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिको २.० प्रतिशत सेयर स्वामित्व छ। नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले बोर्डमा पेस गरेको संस्थापक सेयरधनी सेयर लगतबमोजिम उक्त संस्थामा भट्टको १५ प्रतिशत सेयर स्वामित्व छ।
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बोर्डमा पेस गरेको संस्थापक सेयरधनीको सेयर लगतबमोजिम उक्त संस्थामा भट्टको १५ प्रतिशत सेयर स्वामित्व छ। क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बोर्डमा पेस गरेको संस्थापक सेयरधनीको सेयर लगतबमोजिम उक्त संस्थामा हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको १५ प्रतिशत सेयर स्वामित्व छ।
त्यस्तै प्रोटेक्टिभ माइक्रोे इन्स्योरेन्स कम्पनी लिमिटेडले बोर्डमा पेस गरेको संस्थापक सेयरधनीको सेयर लगतबमोजिम उक्त संस्थामा हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको २१.४३ प्रतिशत सयर स्वामित रहेको देखिन्छ। हिमालयन रि–इन्स्योरेन्स लिमिटेडमा गोल्छा २०८२ फागुन २५ सम्म अध्यक्ष रहेको र गुप्ता उक्त संस्थामा २०८० फागुन २० देखि हालसम्म सञ्चालक छन्। हिमालयन क्यापसर्व लिमिटेड नामक कम्पनी हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको सतप्रतिशत स्वामित्वमा स्थापित कम्पनी रहेको प्रतिवेदनमा उल्लेख छ। नागरिक दैनिक
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया