बैसाख २६, २०८३ शनिबार May 9, 2026

बर्डफ्लुले ५० लाखको क्षति: अनुसन्धान फार्मका सबै पन्छी नष्ट

पोखरा र नेपालगञ्जमा रहेका कार्यालयबाट आवश्यक पर्ने पन्छी तथा अण्डाहरू ल्याएर फेरि पुन सञ्चालन गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पर्सा । राष्ट्रिय पन्छी अनुसन्धान कार्यक्रमअन्तर्गत अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु देखिएपछि करिब रु ५० लाख बराबरको नोक्सानी भएको छ ।

गत चैत अन्तिम साता देखापरेको बर्डफ्लुको कारणले बाराको परवानीपुरस्थित राष्ट्रिय पन्छी अनुसन्धान कार्यक्रम अन्तर्गत पालिएका आधा दर्जन प्रजातिका पन्छी र सोको आहारसमेत नष्ट गर्नुपरेको हो ।

राष्ट्रिय पन्छी अनुसन्धान कार्यक्रम परवानीपुरका सूचना अधिकारी खमबहादुर प्रजाले चैतको अन्तिम साता यहाँ पाल्दै आएको पन्छीमा बर्डफ्लु पुष्टि भएपछि करिब रु ४५ देखि ५० लाखको नोक्सानी व्यहोर्नुपरेको बताउनुभयो । “टर्की जातको पन्छीमा बर्डफ्लु देखिएपछि एकपछि अर्को गर्दै फार्ममा पालिएका अन्य प्रजातिका पन्छीमा बर्डफ्लु देखिएपछि सबै नष्ट गर्नुपरेको हो”, उहाँले भन्नुभयो, “सम्पूर्ण प्रक्रिया पूरा गरेर यहाँ पाल्दै आएका पन्छीहरू, अण्डा र दानाहरूको समेत नष्ट गरेका छौँ ।”

बर्डफ्लुको कारणले करिब दुई हजार कुखुराको चल्ला, करिब १२ सयको हाराहारीमा गिरीराजलगायत कुखुराको प्रजाति, तित्रा ३३ वटा, सेतो/कालो टर्की ४७ वटा, बट्टाई करिब ४५० वटा नष्ट गरिएको कार्यालयले जनाएको छ । त्यस्तै एल वान दाना ८३५ किलोग्राम, एलटु दाना ४५५ किलोग्राम र एलथ्रि एक हजार ८३५ किलोग्राम दाना नष्ट गरिएको छ । सूचना अधिकारी प्रजाले बर्डफ्लु देखिएको फार्ममा अहिले चुना छर्किने, मल पुर्ने, आगोको तापले पोल्नेलगायतका निर्मलीकरणका काम भइरहेको बताउनुभयो ।

“कार्यालयले यसअघि कृषकहरूलाई उपलब्ध गराएको विभिन्न प्रजातिका पन्छी ल्याउने पनि प्रयास भइरहेको छ”, उहाँले भन्नुभयो, “राष्ट्रिय पन्छी अनुसन्धान कार्यक्रमअन्तर्गत पोखरा र नेपालगञ्जमा रहेका कार्यालयबाट आवश्यक पर्ने पन्छी तथा अण्डाहरू ल्याएर फेरि पुन सञ्चालन गर्ने आवश्यक तयारीमा जुटिसकेका छौँ ।” रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया